वंश–रत्न मानववादी सम्मानको चौथो संस्करण ‘वंश–रत्न मानववादी सम्मान– २०८२’ यसपटक आमाघरकी प्रमुख संरक्षक दिलशोभा श्रेष्ठलाई प्रदान गरिने भएको छ। आमाघरले अनाथ, अलपत्र र परित्यक्त वृद्धा आमाहरूलाई आश्रय र सेवा दिँदै आएको छ। वंश–रत्न मेमोरियल ट्रस्टले यो सम्मान दुईदुई वर्षमा प्रदान गर्दै आएको छ।
ट्रस्टको कार्यसमिति बैठकले २०८२ को संस्करण वंश–रत्न मानववादी सम्मान श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो। ट्रस्टले सुरुका तीन संस्करण प्रत्येक वर्ष प्रदान गरेको र २०५० पछि दुईदुई वर्षमा सम्मान प्रदान गर्दै आएको छ। यो सम्मान यसअघि तीनजनालाई प्रदान गरिएको छ। सम्मान पाउनेमा २०७८ मा दार्शनिक व्यक्तित्व मोहनविक्रम सिंह, २०७९ मा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र २०८० मा वैज्ञानिक एवं मानववादी अभियन्ता भारतीय नागरिक प्रा.डा. नरेन्द्र नायक रहेका छन्।
वंश–रत्न मानववादी सम्मान बुबाआमाको सम्झनामा स्थापना गरिएको वंश–रत्न मेमोरियल ट्रस्टका संस्थापक एवं प्रमुख संरक्षक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले बताए। समग्र मानव जातिको समतामूलक विकास, उत्थान र अभियानलाई प्रश्रय दिने उद्देश्यले यो सम्मान स्थापना गरिएको उनको भनाइ छ।
उनका अनुसार कतिपयले आफ्नै बुबाआमालाई स्याहार, सम्मान र सुरक्षा दिन अनकनाइरहेको वर्तमान समयमा आमाघरले अनाथ आमाहरूलाई आश्रय दिँदै आएको छ। यस संस्थाले परिवारले हेलाँ गरेका, परित्याग गरी बाटाछेउ वा मन्दिरछेउमा छाडी अलपत्र परेका आमाहरूलाई ल्याएर माया र ममतापूर्वक संरक्षण, स्याहार तथा सेवा प्रदान गर्दै आएको छ।
यो वास्तवमै मानववादी कर्म हो भन्ने ठहर गरी ट्रस्टले आमाघरकी संस्थापक सञ्चालक दिलशोभा श्रेष्ठलाई सम्मान गर्न लागेको संरक्षक नेभाले बताए। ट्रस्टका अनुसार सम्मान भदौ ३० गते प्रदान गरिने छ।
प्रकाशित: २५ श्रावण २०८२ ०८:१४ आइतबार





