प्रदेश प्रहरी कार्यालयका नामबाट नाका खुलाउन गरिएको आदेशले मधेस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू त्रसित भएका छन्। फागुन २१ को निर्वाचन सकिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयका नामबाट तस्करी हुने नाका सहज बनाइदिन आग्रह गरिएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू त्रसित बनेका हुन्। मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट घुमुवाका नाममा यस्तो आतंक फैलिएपछि प्रहरीको दैनिक ड्युटीसमेत प्रभावित हुन थालेको छ।
विगतमा नेपाल प्रहरीले घुमुवा परिचालन गर्दा विवाद आएको थियो। त्यही विवादका कारण घुमुवा परिचालन गर्न नपाउने कार्यविधिसमेत बनेको थियो। तर मधेस प्रदेशमा प्रमुख रहेका डिआइजी गोविन्द थपलियाले नै घुमुवा परिचालन गरिरहेको तथ्य बाहिरिएको छ। थपलियाले घुमुवा परिचालन नगरेको बताए पनि सादा पोसाकमा खटाइएको भने स्वीकार गरेका छन्। ‘घुमुवा छैनन्, तस्करी नियन्त्रणका लागि सादा पोसाकमा केही प्रहरी खटाइएको छ,’ उनले भने।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम पछिल्लो समय घुमुवा प्रहरीको असामान्य सक्रियता, तस्करी सेटिङ र रकम असुलीको आरोपका कारण बदनाम हुँदै गएको पाइएको छ। यो बदनामीमा डिआइजी थपलिया मौन बस्ने गरेका छन्। उनले सीमा क्षेत्रका चौकी इन्चार्जहरूलाई आफैं बोलाउने र कारबाहीको धम्कीसमेत दिने गरेका छन्। प्रहरी संगठनभित्रकै स्रोतले दिएको जानकारीअनुसार डिआइजी थपलियाका निकट मानिएका वरिष्ठ सई गोपाल थापा मगरमाथि घुमुवा प्रणालीमार्फत आठ जिल्लामा असुली नेटवर्क सञ्चालन गरेको आरोप लागेको छ। उनी सबै जिल्लामा जाने र त्यहाँ तस्करीका मुख्य नाकालाई सहजीकरण गरिदिन आग्रह गर्दै हिँड्ने गरेको भनी डिआइजी कार्यालयमा उजुरी पर्दा समेत थपलिया मौन बस्ने गरेको स्रोतको भनाइ छ। ‘तस्करी नियन्त्रण होइन, कसरी तस्करी गराउने भन्नेमा सोच्ने काम हुने गरेको मात्र भेटिन्छ,’ सप्तरीका एक प्रहरी अधिकारीले भने, ‘अस्ति हामीलाई पनि नाका सहजीकरण गरिदिनुपर्यो भनिएको थियो।’
स्रोतका अनुसार वरिष्ठ सई थापा मगरको दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ। तर उनले मधेस प्रदेश प्रहरी कार्यालयमा काजमा बसेर धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा सादा पोसाकका प्रहरी परिचालन गरेर तस्कर, व्यापारी तथा अवैध कारोबार गनेहरूसँग मासिक रकम असुल्ने संरचना तयार पारेको बताइन्छ। सिरहादेखि वीरगन्जसम्मका सीमावर्ती नाकाबाट प्रहरीको सेटिङमै निर्बाध रूपमा तस्करी भइरहेको र त्यसको ‘कमान्ड’ आफूलाई डिआइजीको घुमुवा भन्ने प्रहरीको एउटा टिमले गरिरहेको छ। डिआइजीको घुमुवा आतंकले युनिट कमान्डरहरू आतंकित छन्। जिल्लाका एसपीलाई काम गर्न अप्ठेरो भएको गुनासो ती युनिट कमान्डरहरूले गरिरहेका छन्।
प्रहरी स्रोतका अनुसार जिल्लामा खटिएका डिआइजीका घुमुवाहरूलाई तोकिएको ‘दररेट’अनुसार रकम बुझाउनुपर्नेे अवस्था छ। रकम नबुझाउने प्रहरीलाई अन्यत्र सरुवा गराउने, गणमा थन्क्याइदिने वा विभागीय कारबाहीको धम्की दिने गरिन्छ। रकम बुझाउने प्रहरीलाई भने पुनः जिल्लामै राख्ने र कुरा मिलाउन नसक्नेलाई प्रदेशमा तानेर फेरि फरक जिल्लामा रमाना दिन थालिएको छ। यसले गर्दा जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश नेतृत्वबिच दुरी बढेको छ।
प्रहरीको घुमुवा सूचना संकलनका लागि मात्र भए पनि त्यसको दुरुपयोग गर्दै रकम संकलनका लागि परिचालन हुन लागेकोप्रति जिल्लाका एसपीहरूले गुनासो गरेका छन्। ‘प्रहरी प्रधान कार्यालयबाट तस्करी रोक्न निर्देशन आउँछ, यहाँ डिआइजीको घुमुवाका नाममा नाका खुलाउन आदेश आउँछ, हामीले कसलाई मान्ने?’ एक जिल्लाका एसपीले भने। सर्लाहीसँग जोडिएको सीमावर्ती भारतको सोनवर्सा र धनुषासँग जोडिएको जयनगरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले फागुन अन्तिम साता करिब १० टनभन्दा बढी तस्करीको चिनियाँ स्याउ नियन्त्रणमा लिएपछि डिआइजीको घुमुवाले तत्लो तहमा पुगेर गरेको सेटिङ जिल्लाका एसपीले थाहा पाएका थिए। त्यसलाई तत्काल रोकिएको थियो। सेटिङ रोकिनसाथ नाकामा सहजीकरण गर्न घुमुवामार्फत सन्देश गएको थियो। पर्सा, धनुषा र सप्तरी, महोत्तरीका एसपीले त्यो आदेश नमान्दा अहिले उनीहरूबिच असझदारी पैदा भएको छ।
सादा पोसाकमा कार्यरत प्रहरी कर्मचारीलाई ‘डिआइजीको आदेश’ भन्दै तान्ने, कुरा नमिले गणमा पठाइदिने र कुरा मिले तुरुन्तै फिर्ता गर्नेजस्ता गतिविधिले एसएसपी तहसमेत निरीह बनेका छन्। त्यसलाई लिएर प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखामा दर्जनौं उजुरीसमेत परेको छन्।
मधेस प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा परिचालन गरिएका वरिष्ठ प्रहरी नायब निरीक्षक थापा मगर एकपछि अर्को विवादमा मुछिएको समाचार सार्वजनिक भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले पुस १८ गते तानेको भए पनि पुनः फिर्ता गरिएको थियो। थापा मगरसँगै वरिष्ठ सई योगेन्द्र थापा, सर्लाहीको संग्रामपुर नाकामा कार्यरत वरिष्ठ सई रोशन अधिकारी पनि डिआइजीका विश्वासपात्र रहेको स्रोतको दाबी छ। सई जयलाल यादव पनि डिआइजीको घुमुवाका रूपमा खटिएका छन्। उनी जिल्ला प्रहरी कार्यालय सिरहामा काजमा खटिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनी जागिरे जीवनको सबैभन्दा धेरै समय करिब १६ वर्ष मधेस प्रदेशमा बिताएका कारण पनि उनको सबैसँग चिनजान रहेको बताइन्छ।
मधेस प्रदेश प्रहरी संगठनभित्र पछिल्लो समय देखिएको यस्तो विकृतिले घुमुवा प्रणाली, सिभिल परिचालन र अधिकार प्रयोगको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी गोविन्द थपलियाले आफूले कुनै घुमुवा परिचालन नगरेको दाबी गरेका छन्। उनले प्रदेशमा तस्करी नियन्त्रणमा आएको दाबी गरेका छन्। तस्करी नियन्त्रणका लागि प्रदेशबाटै सादा पोसाकमा प्रहरी परिचालन गरिएको भने उनले स्वीकार गरेका छन्। तस्करी नियन्त्रण गर्न मातहतलाई समेत कडा निर्देशन दिइएको उनको दाबी छ। ‘कोही घुमवा छैनन्, प्रमाणसहित आए उनीहरूलाई कारबाही गर्नेछु,’ डिआइजी थपलियाले भने।
प्रकाशित: १० चैत्र २०८२ ०८:०३ मंगलबार





