१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मधेसका टोलटोलमा धराप!

खाल्डा र पोखरीमा डुबेर चार वर्षमा ६७४ जनाको मृत्यु

सडक निर्माणका लागि डोजरले माटो खन्दा बनेको खाल्डोमा डुबेर सर्लाहीमा दुई साताअघि एक बालकको मृत्यु भयो। असार २२ गते सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको खेल्ने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो। टोलटोलमा विभिन्न प्रयोजनका लागि खनिएका यस्ता खाल्डा वर्षाको पानीले भरिएर पोखरीजस्तै हुन्छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहान १० बजे घरबाट निस्केका सुशान्त खेल्दाखेल्दै पानीले भरिएको खाल्डामा परेका थिए। खोजतलासका क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्वको पानीले भरिएको खाल्डोमा उनको शव फेला परेको थियो।

धनुषाको कमला नगरपालिका–२ सराबेटोलमा निर्माणाधीन कृषि सडकका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय रामहरिबाबु साहका छोरा र भजिताको मृत्यु भयो। रामहरिबाबु साहका सात वर्षीय छोरा रितिक र भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितेशको पनि गत महिना खेल्ने क्रममा पानीसहितको खाल्डोमा डुबेर मृत्यु भएको हो। रितिक र रितेश मोबाइल हेरेर घरमै बसिरहेका थिए। बिजुली गएपछि वाइफाई चल्न छाड्यो। उनीहरू खेल्दै घर पछाडिको गल्लीको बाटोबाट निस्के। हजुरआमा कौशिलाले नातिहरू घरबाहिर गएको थाहा पाइनन्। केही समयपछि हजुरआमा नातिहरूलाई खोज्न निस्किन्। सोही क्रममा निर्माणाधीन सडक छेउको खाल्डोमा रितेशको शव तैरिरहेको एक महिलाले देखिन्। उनले जानकारी गराएपछि गाउँलेहरूले शव निकाले। त्यतिन्जेल रितिक भेटिएका थिएनन्। उनी पनि त्यही खाल्डोमा डुबेको हुन सक्ने अनुमानसहित खोज्दा उनको शव पनि त्यही खाल्डोमा फेला पर्‍यो।

गत वैशाखमा महोत्तरीको पोखरीमा डुबेर महोत्तरी र सप्तरीका दुई बालकको मृत्यु भयो। प्रहरीका अनुसार महोत्तरीको मनरा सिसवा नगरपालिका–१ मनरा ब्रह्मस्थानमा रहेको एक पोखरीमा डुबेर दुवैको ज्यान गएको हो। मृत्यु हुनेमा मनरा ब्रह्मस्थानका विकेश सिंहका१० वर्षीय शुभमकुमार र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका नौ वर्षीय आयुषकुमार सिंह हुन्। पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दुवैलाई मनरास्थित नगर अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको हो।

नहरमा डुबेर पनि मधेसमा मानिसले ज्यान गुमाउने गरेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित नहरमा डुबेर सोमबार १८ वर्षीय एक युवकको मृत्यु भयो। मृत्यु हुनेमा सोही नगरपालिकाको मुगौलिया टोल निवासी सेख नौसाद रहेको प्रहरीले जनाएको छ।  

मधेस प्रदेशमा जथाभाबी खनिएका पोखरी र खाल्डाखुल्डीले ज्यान लिएका यी प्रतिनिधि घटना हुन्। यहाँ जथाभाबी खनिएका खाल्डाखुल्डीले बर्सेनि सयौंको ज्यान लिने गरेको छ। यस्ता मृत्युको जवाफदेहिता कानुनतः न कसैले लिने गरेको छ न त यसको न्यूनीकरणका लागि हालसम्म कुनै प्रयास नै भएका छन्। गर्मी छल्न बनाइने यस्ता असुरक्षित आहाल–पोखरीमा पौडी खेल्न जाँदा बालबालिका डुब्दा तिनको ज्यानै जाने गरेको छ।

विगत चार वर्षमा मधेस प्रदेशका विभिन्न पोखरी र खाल्डाखुल्डीमा डुबेर ६ सय ७४ जनाको ज्यान गएको छ। जसमा करिब चार सय बालबालिका छन्। आर्थिक २०७९/८० मा प्रदेशका आठै जिल्लामा एक सय पाँच जनाको पोखरी र खाल्डाखुल्डीमा डुबेर मृत्यु भएको थियो। जसमा ६५ जना बालबालिका, नौ जना महिला र ३१ पुरुष थिए।

आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६ जनाले पोखरी र खाल्डाखुल्डीमा डुबेर ज्यान गुमाए। जसमध्ये बालबालिका एक सय नौ, महिला २१ र पुरुष ७३ जना थिए। २०८०/८१ मा एक सय ७५ र २०८१/८२ मा एक सय ८८ जनाले पोखरी र खाल्डाखुल्डीमा डुबेर ज्यान गुमाएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी बालबालिका नै रहेको र उनीहरू जनचेतनाको अभाव र लापरबाहीका कारण पनि पानीजन्य विपद्को सिकार हुने गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

गाउँघरमा जथाभाबी पोखरी खनेर छाड्ने, माटो वा ग्राभेल खनेको खाल्डो पनि नपुरी त्यत्तिकै छाड्ने प्रवृत्ति निकै बढी छ। यस्तो अवस्थामा ती खाल्डोहरूमा वर्षायाममा पानी जमेर सानो पोखरी नै बन्ने गर्छ। बालबालिकाका लागि त्यहाँ पानीको सतह निकै बढी हुन्छ र यदि उनीहरू पोखरीमा पसे वा झरिहाले भने ज्यान नै गुमाउने अवस्थामा पुग्छन्।

अभिभावकमा पानीजन्य विपद्का विषयमा जनचेतनाको अभाव र बालबालिकामाथि निगरानीको अभावले पनि यस्ता दुर्घटना निम्तिने गरेको पाइएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी बताउँछन्।

बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट बच्न तथा जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाएको छ तर पानीजन्य विपद्कै कारण डुबेर हुने मृत्युलाई सरकारले प्राथमिकतामा राखेको छैन। विभिन्न खालका मानवद्वारा सिर्जित अप्राकृतिक क्रियाकलापका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरे तापनि यसलाई रोक्न तीनै तहको सरकार गम्भीर हुन नसकेको सिरहाका बुद्धिजीवी अशोक साह बताउँछन्। ‘डुबेर हुने मृत्युको विषयलाई तीनै तहको सरकारले गम्भीरतासाथ लिएको छैन,’ मधेस प्रदेशसभा सदस्य रामआशिष यादव भन्छन्, ‘जल नै जीवन हो भन्ने मान्यता सर्वविदितै छ। तर हामी मानवद्वारा नै गरिने केही प्रकृति विपरीतका क्रियाकलापले र जनचेतनाको अभावले जलजन्य जोखिम बढाइराखेको छ। मधेसमा पानीमा डुबेर मृत्यु हुनेमा अधिकांश विपन्न, गरिब र दलित समुदायका बालबालिका पर्छन्। यसको कारण उनीहरूमा भएको जनचेतनाको कमी हो। यस्तो विपद् व्यवस्थापनका लागि डुबानको मुद्दालाई हेरेर यसको न्यूनीकरणका लागि उचित नीति बनाउनु तीनै तहको सरकारको प्राथमिकताको विषय हुनुपर्छ।’

विश्व स्वास्थ्य संगठनले डुबेर हुने मृत्यु रोकथामका लागि १२ वटा कानुनी प्रावधानलाई सिफारिस गरेको छ। तर नेपालमा हालसम्म पानीमा डुबेर मृत्यु हुनेका लागि कुनै कानुन, कार्यनीति वा रणनीति बनाइएको छैन। नियतवश यदि कसैले खाल्डो खनेर कसैलाई जोखिममा पारी मारेकोे प्रमाणित भयो भने त्यसमा कानुनी सजायको व्यवस्था छ। तर अनजानमा खनेको खाल्डो वा पोखरीमा डुबेर कसैको मृत्यु भयो भने त्यस्तोमा सजाय वा अन्य कुनै किसिमको क्षतिपूर्तिको व्यवस्था कानुनी रूपमा छैन। यस्ता मृत्युलाई रोकथाम गर्न नेपालले विपद् सूचना प्रणालीअन्तर्गत डुबेर मृत्यु हुनेबारे सूचना दिने प्रणाली मात्रै बनाउन सकेको छ।

प्रकाशित: १० श्रावण २०८२ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App