३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

नेपाल आउने विदेशीको विवरण सिधै राष्ट्रिय सूचना प्रणालीमा

व्यवस्थित बन्दै अध्यागमन विभाग

विदेश जाने र फर्कने दुवै प्रक्रियामा अध्यागमन विभाग जोडिन्छ। अध्यागमन विभागबाट हुने कामले त्यो देशको प्रशासनिक चुस्तता पनि झल्काउँछ। अध्यागमन विभागलाई मुलुकको ऐनाका रूपमा पनि हेरिन्छ। विभाग र मातहतका कार्यालयबाट प्रदान हुने सेवामा देशको छवि प्रतिविम्बत हुन्छ।

नेपाल भित्रिएलगत्तै विदेशी नागरिकले पहिलो पटक सरकारी अधिकारीलाई भेट्ने र सेवा लिने ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय हो, जुन विभाग मातहतको हो तर अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय भने अक्सर विवादमा मुछिने गरेको छ।

त्रिभुवन विमानस्थल भएर विदेश जाने नेपालीले पनि अध्यागमन कार्यालयबाट दुःख पाएको गुनासो गर्दै आएका छन्। कमजोरी हटाएर सेवा सहज, चुस्त र पारदर्शी बनाउन अध्यागमन विभागले बेलाबखत विभिन्न कार्यविधि र सुरक्षा मापदण्ड निर्माण, कार्यान्वयन, अनुगमन तथा प्रविधिगत प्रणालीको विकास गर्दै आएको छ। विभिन्न कार्यविधि र मापदण्डले अध्यागमन विभाग र मातहतका कार्यालयलाई थप जिम्मेवार बन्न प्रेरित गरेका छन्। साथै प्रणालीगत सुधारमा पनि सहज भएको देखिन्छ।

विभागले प्रणालीगत सुधारअन्तर्गत ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनमा ल्याएको छ। नेपाल प्रवेश गर्ने हरेक विदेशी नागरिकको नियमन, निगरानी, व्यवस्थापन, सहजीकरण र अभिलेखीकरण प्रभावकारी रुपले गर्न यो प्रणाली कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।

विभागका अनुसार राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको अन्तर्राष्ट्रिय बोर्डर (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय) मा हुने गलत गतिविधि रोक्न राज्यले विशेष साधन स्रोतसहितको सुरक्षा उपस्थिति राख्नुपर्ने भएका कारण यो प्रणाली कार्यान्वयनमा ल्याउनुपरेको हो।

नेपाल भित्रिएका विदेशी नागरिकको गतिविधि नियमन, निगरानी, व्यवस्थापन र सहजीकरण गर्न पहिलो पटक यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो। अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट यो प्रणाली लागु गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।

‘गृहमन्त्री ओमप्रकाश अर्यालले यो प्रणालीको उद्घाटन गर्नुभएको छ। यो प्रणालीमा संकलित विवरणलाई राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको सुरक्षा र अपराध अनुसन्धानमा प्रयोग गरिने छ’, तिवारीले भने।

तिवारीका अनुसार यो प्रणाली कार्यान्वयनसँगै विदेशी नागरिकले विभिन्न सेवा लिन सक्छन्। त्यसमार्फत उनीहरुको राष्ट्रियता, नाम, राहदानी र भिसासहितको विवरण अध्यागमनले विकास गरेको यो प्रणालीमा जोडिने छ। यसबाट भिसा कानुनअनुसार विदेशी नागरिक नेपालमा बसे/नबसेको विवरण सहजै पहिचान हुन्छ।

अध्यागमन विभागले होटल/लज, आन्तरिक वायु सेवा कम्पनी, हेलिकोप्टर कम्पनी, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात सेवा, पर्वतारोहण एजेन्सी, टुर्स एन्ड ट्राभल एजेन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, विदेशी मुद्रा सटही केन्द्र, टुरिस्ट गाइड, पर्यटक प्रहरी, पर्यटकसँग सम्बन्धित अन्य संस्थालगायतलाई यो प्रणालीमा जोडेको छ।

नेपाल आएका विदेशी नागरिकले जुनजुन संस्थाबाट सेवा लिन्छन्, ती संस्थाले तोकिएको ढाँचामा उनीहरूको विवरण भर्नुपर्ने। यसरी भरेको विवरण अध्यागमन विभागको केन्द्रीय अभिलेखमा पुग्छ। विभागले नेपाल भित्रिएदेखि फिर्ता नहुँदासम्म विदेशी नागरिकका गतिविधि निगरानी, नियमन, सहजीकरण र व्यवस्थापन गर्न यो प्रणालीको विकास गरेको महानिर्देशक तिवारीले बताए।

विभागको यो प्रणालीमा पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटल, ट्रेकिङ एजेन्सीलगायत संस्था जोडिएका छन्। दोस्रो चरणमा मार्च १ देखि यो प्रणालीमा आन्तरिक वायु सेवा कम्पनी, ट्राभल एजेन्सी, पर्यटक ओसारपसार गर्ने सार्वजनिक सवारीसाधन, विदेशी मुद्रा सटही केन्द्र लगायतलाई जोडिने विभागले जनाएको छ।

तेस्रो चरणमा अन्य होटल/लजलगायतलाई यो प्रणालीमा जोडिने छ। ‘यो प्रणालीले एकातिर विदेशी नागरिकलाई नेपालमा संदिग्ध गतिविधि गर्न पाइँदैन, त्यस्तो गतिविधि गरे सहजै उम्कन सकिँदैन भन्ने आभास दिलाउँछ भने अर्कोतिर उनीहरूलाई सुरक्षाको महसुस गराउँछ’, महानिर्देशक तिवारीले भने।

तिवारीका अनुसार नेपाल भित्रिएका सम्पूर्ण विदेशी नागरिकको गतिविधि निगरानी गर्न र उनीहरूलाई सुरक्षा प्रदान गर्न यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। ‘विदेशी नागरिकले नेपाल भित्रिएपछि कहाँ गएर के गर्छन्, कहाँ बस्छन् भन्ने विषयमा अहिलेसम्म व्यक्तिले निगरानी गर्नुपथ्यो तर अब प्रणालीबाटै निगरानी हुने व्यवस्था गरिएको छ। यसबाट गलत गर्नेलाई कानुनी दायरामा ल्याउन सजिलो हुनेछ’, उनले भने।

राष्ट्रिय सुरक्षाका दृष्टिले अन्तर्राष्ट्रिय सीमाबाट हुने आगमन र यसबाट पर्ने जोखिमलाई दृष्टिगत गरी नीति/कानुन र कार्ययोजना बनाएर अघि बढ्न थालिएको उनले बताए।

विदेशीको सुरक्षामा सजग छौं

रामचन्द्र तिवारी

अध्यागमन कानुनअनुसार असल मनसायका साथ विभिन्न प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकलाई सुरक्षा, उद्धार र सेवा सुविधा उपलब्ध गराउन अध्यागमन विभाग लागिपरेको छ। यसमा विभाग सजग छ। यहाँ आएका विदेशीले भिसाविपरीत वा प्रचलित कानुन, सामाजिक मूल्य, मान्यताविपरीत गतिविधि गरे तुरुन्तै पहिचान गरी कारबाही प्रक्रियामा ल्याउन विभागले काम गरिरहेको छ।

सन् २०२४ मा नेपालमा ११ लाख ४५ हजार ३११ विदेशी नागरिकले यात्रा गरेका थिए। त्यसबेला उनीहरुले नेपालमा के के गरे, कहाँकहाँ गए, कस्तो समस्या भोग भन्ने विवरण विभागसँग व्यवस्थित रुपमा आउने व्यवस्था थिएन। हामी अहिले यसलाई व्यवस्थित गर्न लागिपरेका छौं।

त्यस्तै पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रणको प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन सकेन। विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने भएकाले राज्यले स्टार्टअपलगायतका क्षेत्रमा सहयोग गर्न जरुरी छ। उनले अध्यागमन नीतिमा बारम्बार फेरबदल हुँदा लागत मात्र बढेको छ र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ ले लय गुमाएको छ।

सरकारले अध्यागमन नीतिमा सधैं बुँदा हरेफेर गरेको देखिन्छ। हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्नेमै अभ्यास गरेछौं र लागत बढाएको बढायै गरेछौं।

यस अवधिमा कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर विदेश जान लागेकामध्ये एक लाख ५० हजार बढीलाई रोकेछौं तर समयक्रममा तिनीहरू कोही पनि नेपालमा अडिएनछन्।

हाम्रो विमानस्थलको ढोका थुनेर मात्रै कोही अडिँदो रहेनछ। हामीले युवालाई स्टार्टअपलगायत क्षेत्रमा सहयोग नगरीकन विदेश जानबाट रोकेर मात्र हुँदैन।

(तिवारी अध्यागमन विभागका महानिर्देशक हुन्।)  

प्रकाशित: १९ पुस २०८२ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App