निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको ठहर गर्दै दुई सरकारी कर्मचारीविरुद्ध विभागीय कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगले प्राप्त उजुरीमाथि जाँचबुझ तथा स्पष्टीकरणपछि उक्त निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार वन तथा वातावरण मन्त्रालय अन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण तथा अपमानजनक अभिव्यक्ति दिएको पाइएपछि कारबाही सिफारिस गरिएको हो।
उक्त कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) उल्लङ्घन गरेको ठहर गर्दै आयोगले निजामती सेवा ऐन, २०४९ को दफा ४२ (१) तथा दफा ४४ बमोजिम विभागीय कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगले निर्वाचन अवधिमा सरकारी कर्मचारीले राजनीतिक तटस्थता कायम राख्नुपर्ने कानुनी दायित्व स्मरण गराउँदै सामाजिक सञ्जाल प्रयोगमा विशेष संयमता अपनाउन आग्रह गरेको छ।
यसैगरी, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका-५ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक दिपनारायण ठाकुर राजनीतिक गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही सिफारिस गरिएको छ।
आयोगका अनुसार उक्त कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) विपरीत हुने ठहर भएको छ। त्यसैले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगमा पठाउन निर्देशन दिइएको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले राजनीतिक गतिविधिमा संलग्न नहुनु आग्रह गर्दै आएको छ।
प्रकाशित: १५ फाल्गुन २०८२ १८:३६ शुक्रबार


-600x400.jpg)


