दुर्गामूर्ति विसर्जनका बेला दुई समुदायबिच भएको झडपमा संलग्नमाथि कारबाही गर्नुपर्ने आवाज यतिबेला उठेको छ। सोमबार घाइतेसहितका स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्नासमेत दिएका छन्।
उनीहरूले नेपालगन्जमा प्रदर्शनसमेत गरेका थिए। यससँगै सामाजिक सञ्जालमा पनि नेपालगन्जको आपसी सद्भाव बिथोल्न खोज्नेको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। यतिबेला कुनै पनि बहानामा उनीहरूलाई छुटकारा दिने हो भने भोलि पुनः यस्तै प्रकृतिका घटना दोहोरिन सक्ने सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ।
सामान्य नागरिकदेखि समाजका अगुवासम्मले कारबाहीको माग गरिरहेका छन्। विगतमा पनि यस्तै किसिमका घटना हुँदा उनीहरूलाई कारबाही नगरिनुको परिणामले घटना दोहोरिएको यहाँका वासिन्दाको भनाइ छ। हिन्दु र मुस्लिम समुदायका व्यक्तिबाटै जो–जो संलग्न छन् उनीहरूलाई कारबाही गर्नुपर्ने बताइरहेका छन्।
दुर्गामूर्ति विसर्जनका क्रममा दुई समुदायबिच भएको झडपपछि स्थानीय तह र सामाजिक श्रेणीका व्यक्तिहरूबाट दोषीहरू पहिचान गरी कडाइका साथ कारबाही गर्ने माग उठ्न थालेको छ। सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो र भनाइ फैलिएको र त्यसले आपसी सद्भावमा गम्भीर असर पुर्याउन सक्ने भन्दै विभिन्न तहका नागरिकले चाँडोभन्दा चाँडो कानुनी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।
लोकप्रियतामाथि न्याय हाबी हुन नसक्दा घटनामा संलग्न व्यक्तिहरूले छुटकारा पाइरहेको नागरिक समाजका अगुवा नरेन्द्रजंग पिटरले जनाए। कानुन र न्यायमा कसैको आस्था र परिचय, दाह्री र टुप्पीको हिसाब नहुने भन्दै उनले भने, ‘जबसम्म दोषीलाई सजाय दिइँदैन तबसम्म यस्ता घटना नेपालगन्जले बेहोरिरहन्छ। ’ समाजमा अस्तित्व कायम गर्न नसक्ने व्यक्तिले धार्मिक व्यवसाय गरिरहेकाले पनि नेपालगन्जको आपसी सद्भावमाथि प्रहार भइरहेको उनको भनाइ छ।
‘ती धार्मिक मान्छे होइनन्; मात्र धार्मिक व्यवसायी हुन्’, उनले भने, ‘अन्यत्र कुनै पनि सामाजिक कार्य र व्यवसायमा आफ्नो अस्तित्व कायम गर्न नसकेपछि उनीहरूले धर्मलाई व्यवसाय बनाए। ’ आफू केन्द्रमा आउनलाई समाज भाँड्ने किसिमको गतिविधि उनीहरूले सञ्चालन गर्ने गरेको उनको भनाइ छ। उनीहरूले यी र यस्तै उत्तेजनामा परिचय खोज्ने गरेको उनी बताउँछन्। यस्ता किसिमका व्यक्तिका लागि सरकार निर्मम भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘सरकारले लोकप्रियता हेरेर कसैलाई खुसी पार्ने मनोविज्ञानबाट अघि बढ्नु हुँदैन। मतदाता रिझाउन लाग्नु हुँदैन। निर्मम भएर कारबाही गर्नुपर्छ। ’ हिन्दु वा मुस्लिम जो दोषी भए पनि कारबाही गर्नुपर्ने अर्जुन साहुले बताए।
‘दोषीमाथि कारबाही होस्’, उनले भने, ‘चाहे उनी हिन्दु हुन् वा मुस्लिम। धर्म हेरेर होइन, अपराध हेरेर कारबाही होस्। ’ यो घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने अर्का एक जहाँगीर सैयदले बताए। उनले भने, ‘दोषीहरूलाई कडा कारबाही हुनुपर्छ। यसले मात्रै शान्ति र एकताको सन्देश दिन्छ।’
दुर्गा विसर्जनका क्रममा भएको घटनाको गम्भीर छानबिन गरिनुपर्ने नेपालगन्ज उपमहानगरपालिका नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष तथा १५ नम्बर वडास्तरीय युवा क्लब सञ्जालका अध्यक्ष आनन्दकुमार बर्माले बताए। ‘दोषीलाई कडा कारबाही होस् किनभने कानुन सबैको लागि बराबर हो।’ यस्ता घटनालाई नजरअन्दाज गरिरहँदा भविष्यमा अझ ठूलो समस्या निम्त्याउन सक्ने भन्दै उनले शान्ति, सद्भाव र कानुनको शासन कायम गर्नुपर्ने बताए।
बाँके प्रहरीले दुर्गामूर्ति विसर्जनका क्रममा भएको झडप घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पारेको छ। दुर्गामूर्ति विसर्जनका क्रममा दुई समुदायबिच झडप भएको घटनाले नेपालगन्जको सामाजिक सद्भावमा असर पुर्याएपछि प्रहरीले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीका अनुसार हालसम्म आठ/नौजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको छ। उनले भने, ‘घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको छ। कानुनबमोजिम आवश्यक कारबाही गरिने छ।’ उनका अनुसार हालसम्म कसैलाई औपचारिक रूपमा पक्राउ गरिएको छैन, तर संलग्नलाई चाँडै कानुनी दायरामा ल्याइने तयारी भइरहेको छ।
प्रहरीले घटनाबारे थप प्रमाण संकलनका लागि स्थानीय स्तरमा तथ्य अनुसन्धान, भिडियो फुटेज संकलन र प्रत्यक्षदर्शी बयान संकलन गर्ने कार्य अघि बढाएको छ। यसरी संकलित प्रमाण र विवरणका आधारमा घटनामा संलग्नको निश्चित पहिचान हुने प्रहरीको विश्वास छ।
धार्मिक पर्वमा हुने जुलुस, विसर्जन वा अन्य गतिविधिमा संवेदनशीलता उच्च हुने भएकाले प्रहरीले स्थानीय समुदायलाई संयमित रहन आग्रह गरेको छ। डिएसपी पातलीका अनुसार समाजमा शान्ति र सुरक्षा कायम राख्न सबै पक्षको सहकार्य जरुरी छ। उनले धार्मिक सद्भावमा आँच पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने दोहोर्याए।
प्रकाशित: २१ आश्विन २०८२ ०८:५५ मंगलबार





