२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुरुषोत्तम थापा ‘पुष्कर’लाई

नेपाल पत्रकार महासंघ दैलेख शाखाले यस वर्षको डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुरुषोत्तम थापा ‘पुष्कर’लाई प्रदान गरेको छ।

महासंघ दैलेख शाखाले पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार स्वर्गीय डेकेन्द्रराज थापाको २२औँ स्मृति दिवसका अवसरमा नारायण नगरपालिका–२, दैलेख निवासी पत्रकार पुरुषोत्तम थापालाई पुरस्कार प्रदान गरेको हो। पुरस्कारस्वरूप थापालाई नगद ५ हजार १ रुपैयाँ प्रदान गरिएको छ।

द्वन्द्वकालमा माओवादी कार्यकर्ताबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या घटनामा न्यायिक प्रक्रिया अघि बढाउन पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदरस्वरूप थापालाई सम्मान गरिएको महासंघ दैलेख शाखाले जनाएको छ। डेकेन्द्रराज थापाको शव उत्खननदेखि घटनाका दोषीमाथि कारबाहीका लागि दबाब सिर्जना गर्ने अभियानमा थापाको महत्वपूर्ण भूमिका रहेको शाखाको भनाइ छ।

उनको कार्यकालमा सञ्चालन भएको आन्दोलन तथा दबाबपछि प्रहरीले २०६९ माघमा पत्रकार डेकेन्द्रराज थापाको हत्या घटनाका अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो। द्वन्द्वकालका क्रममा माओवादी कार्यकर्ताले पत्रकार डेकेन्द्रराज थापाको अपहरण गरी हत्या गरेका थिए।

माओवादीको नियन्त्रणमा रहेका थापाको २०६१ साउन २७ गते नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। हत्या भएको करिब चार वर्षपछि उनको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो। पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आठ वर्षपछि प्रहरीले घटनामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गरेको थियो। घटनाको अनुसन्धान र न्यायिक प्रक्रियाका लागि पत्रकार तथा नागरिक तहबाट निरन्तर दबाब सिर्जना गरिएको थियो।

प्रकाशित: २८ श्रावण २०८३ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App