मंगलबार मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कास्कीका २५ वर्षीय युवा रनबहादुर थापा (नाम परिवर्तन) पुगेका थिए। चिकित्सकलाई समस्या देखाए। चिकित्कसले शल्यक्रिया गर्नुपर्ने बताए। शल्यक्रियाको पालो माग्दा जनरलतिर चैतमा र विस्तारित सेवामा पुससम्म पालो आउने चिकित्सकले बताए। आठ महिनापछि मात्र पालो आउने भनेपछि थापा अलमलमा परे। डाक्टरले लामो समय कुर्न नसके त्यसको विकल्प निजी अस्पताल रहेको जानकारी दिए।
पालो पाउन आठ महिना लाग्ने उनी एकजना बिरामी हैनन्। भास्कुलर विभागका अनुसार नशा फुलेको पालो पाउन सबैलाई आठ महिना लाग्छ। ‘हामीकहाँ बिरामीको चाप छ। पालो पाउन सबैलाई मुस्किल छ’, शल्यक्रियाको पालो तोकिरहेका डा. रजत प्रधानले बताए। विभागका अनुसार बिरामीको चापको अनुपातमा भास्कुलर (नशा) सर्जन कम भएकाले शल्यक्रिया गर्नुपर्ने कुनै पनि बिरामीले छिटो पालो आउँदैन।
अस्पताल निर्देशक रत्नमणि गजुरेलले भास्कुलरमा पनि सबैभन्दा बढी भेरिकोज भेनका बिरामी बढी आउँछन्। उनीहरूको स्थितिअनुसार मात्र पालो आउँछ नत्र ६ देखि ७ महिना लाग्छ। उनका अनुसार यो विभागमा जनशक्तिभन्दा बिरामीको चाप बढी भएकाले शल्यक्रियाको पालो पाउनै गाह्रो छ।
अन्य अस्पतालमा पनि उपचार हुने भए पनि यस अस्पतालको विशिष्टीकृत सेवाप्रतिको विश्वासका कारण बिरामीको चाप बढ्दो छ। ‘अन्यत्र सेवा भए पनि बिरामी हामीकहाँ नै आउँछन्’, निर्देशक गजुरेलले भने।
अस्पतालका भास्कुलर सर्जन तथा सहायक प्राध्यापक डा. कजन श्रेष्ठका अनुसार बिरामीको चापअनुसार जनशक्ति कम भएकाले बिरामीलाई समयमै सेवा दिन कठिन भएको हो। यो विभागमा सातामा औसत चार सय ५० जना बढी बिरामी सेवा लिन आउँछन्। आएकामध्ये ६० प्रतिशत शल्यक्रिया गर्ने खालका हुन्छन्। यो हिसाबले सातामै दुई सय ५० जना शल्यक्रिया गर्नुपर्ने खालका बिरामी हुन्छन्।
अस्पतालको जनशक्ति र शल्यक्रिया थिएटरको क्षमताले सातामा ६० जनाभन्दा बढीको शल्यक्रिया गर्न सम्भव छैन। ती ६० जना पनि विस्तारित सेवाअन्तर्गत थप समय दिएर मात्र शल्यक्रिया सम्भव भएको हो। यीमध्ये तुरुन्तै ज्यानको जोखिम भएका बिरामीले प्राथमिकता पाउँछन्। यो हिसाबले पनि पालो पाउन मुस्किल हुन्छ। शल्यक्रियाको पालो पाउने कम प्राथमिकतामा भेरिकोज भेनका बिरामी पर्छन्।
नेपालमा जनशक्ति कम रहेको र भएका पनि अवसरको खोजीमा विदेश जाने प्रवृत्तिले जनशक्तिको खडेरी नै छ। यहाँ सेवा दिइरहेका जनशक्तिमध्ये सातजना बेलायत, अमेरिकालगायतका देशमा गइसकेका छन् भने एकजना वरिष्ठ चिकित्सक डा. उत्तमकृष्ण श्रेष्ठले अवकाश लिएका छन्। नेपालमा जम्मा ११ जना नेपाल भास्कुलर सोसाइटीमा आबद्ध छ। यो तथ्यांकले पनि जनशक्ति नभएको पुष्टि हुने डा. श्रेष्ठ बताउँछन्।
यो विशिष्टीकृत सेवा भएको र यो विषयको छुट्टै अध्यापन नहुने भएकाले पनि जनशक्ति कम भएको डा. श्रेष्ठ बताउँछन्। उनका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थानमा यो विषय कार्डियोथोरासिक एन्ड भास्कुलरभित्रै अध्यापन हुने भएकाले पनि अध्ययन पनि झन्झटिलो बनेको छ। त्यसमा पनि जनरल सर्जरीमा एमडी गरेपछि थप तीन वर्ष यो विषय अध्ययन गर्न चिकित्सक चाहँदैनन्। ‘छिटो पढाइ सक्ने र छिटो कमाउने सोचका चिकित्सक छन्। थप तीन वर्ष पर्खेर अध्ययन गर्न चाहने पनि छैनन्’, उनले भने। यो वर्ष संस्थानले राखेको सिटमा पनि अध्ययनका लागि फाराम भर्न कोही नआएको उनले सुनाए।
नशाको सर्जरी गर्ने कार्य जोखिमयुक्त र सोअनुसार सेवासुुविधा नभएकाले पनि चिकित्सकहरूले देशमा बस्न नचाहेको उनको अनुभव छ। ‘शल्यक्रियाका क्रममा नशा फुटेर बिरामीको मृत्यु पनि हुन सक्छ। डाक्टरको सुरक्षा पनि छैन’, उनले भने।
यो विधाका चिकित्सकलाई टिकाइराख्न केन्द्रले प्रयास गरेको भए पनि असफल भएको निर्देशक गजुरेल बताउँछन्। ‘चिकित्सक टिकिराखून् भनेर स्थायी गर्ने, फेलोसिप अध्ययनका लागि पढ्न पठाउने गरिएको छ, तर टिक्दैनन्’, उनले भने।
यो विधाका चिकित्सक टिकाइराख्न यो विषयको मात्र अध्यापन हुनुपर्ने र समयसुहाउँदो सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: २८ श्रावण २०८३ ०९:३१ बिहीबार





-600x400.jpg)