असोज १८ गते रातिको विनाशकारी बाढी-पहिरोबाट ठूलो मानवीय क्षति बेहोरेको इलाममा बिस्तारै जनजीवन सहज बन्दैछ। तर दसैंमा आउ-जाउ गर्ने यात्रुलाई मेची राजमार्ग नखुल्दा भने समस्या भएको छ। राजमार्ग बन्दले उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको छ।
झापाको सीमा जोरकलशबाट इलाम नगरपालिकाको राजदुवालीसम्म गाडी चल्न थालेको छ। राजदुवालीभन्दा केही माथिबाट इलाम बजारतिर पनि गाडी चलिरहेको छ। दसैंमा आफन्तकहाँ आएका पाहुना र अन्य यात्रु राजमार्गमा खचाखच भएपछि फिक्कलतिरबाट राजदुवालीसम्म आउ-जाउ गर्न सूर्योदय नगरपालिकाले निःशुल्क रूपमा बस सञ्चालन गरिदिएको छ।
इलाम नगरपालिकाले पनि राजदुवालीछेउसम्मका लागि निःशुल्क रूपमा सवारी साधन व्यवस्था गरेको छ। केही व्यवसायी र समाजसेवीले पनि निःशुल्क रूपमा सवारी साधन सञ्चालन गरेका छन्। यो बिचमा चाहिँ करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ। एउटै सवारी साधनले गर्ने यात्रामा धेरै वटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यतासमेत भएपछि यात्रु समस्यामा छन्। उनीहरूलाई सुरक्षाकर्मीले राजदुवाली पुलछेउमा सहायता कक्ष नै राखेर सहयोग गरिरहेका छन्।
राजदुवालीको डेढ किलोमिटर मेची राजमार्ग खुलाउन केही साता लाग्ने देखिएको छ। बिहीबार यहाँ सडक खुलाउने काम सुरु हुनेछ तर यो खण्डमा काम गर्दै हेर्दै गर्नुपर्ने अवस्था रहेकाले कति समयमा खुल्छ भन्ने यकिन नभएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए। ‘यहाँ ठूलो पहिरो बगिरहेको छ, काम गर्दै जाँदा कति भत्किन्छ, कति अडिन्छ हेर्दै काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले यहाँको अवरोध यति समयमा खुल्छ भन्न कठिन छ।’

पोहोर असोजमा पहिरो झरेको ठाउँमा यसपालि थपिएकाले बाटो निकाल्न मुस्किल भएको डिभिजनले जनाएको छ। ‘अहिले हामीले मुख्य ध्यान नै राजमार्ग खुलाउनमै दिएका छौं,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘तर, राजदुवालीको पहिरो हटाउन सजिलो छैन। अहिले मेसिन लगाइहाल्दा थप क्षति हुने सम्भावना छ।’ राजदुवाली पुलको वारि र पारि नै बाढीले केही क्षति गरे पनि अहिले नै पुल नबिग्रिएको डिभिजनले जनाएको छ। बुधबार यहाँ पुलविज्ञ नरेश केसरी आएर निरीक्षण गरेका छन्। उनले तत्काललाई पुलमा ठूलो समस्या नभएकाले त्यसैलाई सञ्चालन गर्न सकिने सुझाव दिएको भट्टराईले जानकारी दिए।
राजदुवालीभन्दा करिब डेढ किलोमिटरमाथिदेखि पुवाखोलासम्म गाडी चल्न थालेको छ। अब पुवाखोलादेखि मिलगोलाइसम्मको १ देखि डेढ किलोमिटर खुलाउन बाँकी छ। तर, राजमार्ग नै बगेर गएकाले यहाँ बाटो निकाल्न निकै जटिल भएको उनले बताए। ‘बिहीबारदेखि ठूलो मेसिनले काम गर्ने तयारीमा छौं, भोलि साँझसम्ममा साना गाडी पास गराउने लक्ष्य छ।’
मिलगोलाइमा राजमार्ग नै बगेर गएकाले माथिपट्टिबाट बाटो निकाल्न घर रहेकाले समस्या छ। ‘सडक निकाल्ने ठाउँमा घर छ, घरमा मान्छे त बस्दैनन् तर यो घर के गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘यो घर नहटाइ तत्काललाई ठूला गाडी पास गराउने बाटो नै निस्किँदैन।’ बुधबार साँझसम्म काम गरे पनि मिलगोलाइतिरबाट काम गरेको जेसिबी बिग्रिएको छ। त्यताबाट बिहीबार ठूलो मेसिनले काम गर्ने उनले बताए।
अर्को ठूलो मेसिन साँझ पुवाखोला लगिएको छ। यो मेसिनले बञ्चरे गोलाईमा बाटो खुलाउने छ। तर, यहाँ लेदो बगिरहेकाले बाटो निकाल्न समय लाग्नेछ। यहाँ चट्टान पनि रहेको तर ठूलो मेसिनको ब्रेकर सन्दकपुर गाउँपालिकामा रहेकाले चट्टान फोर्न समस्या हुने भएको उनको भनाइ छ। ‘कुनै न कुनै उपाय लगाएर भए पनि बिहीबार साँझ यहाँबाट साना गाडी पास गराउने हाम्रो लक्ष्य छ,’ उनले भने।
मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न र उपभोग्य सामग्री ढुवानीमा पनि समस्या हुने देखिएको छ। मेची राजमार्ग झापा-इलाम-पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो। यसबाहेक यो क्षेत्रको निर्माणाधीन केचना-कञ्चनजंघा मार्ग पनि अवरुद्ध छ। यहाँको पुवाखोलामा केही महिनाअघि मात्र उद्घाटन गरिएको बेली ब्रिज बाढीले बगाएको छ भने माइखोलामा रहेको बेलासे पक्की पुल बिचैमा भाँचिएको छ। वैकल्पिक मार्गकै रूपमा रहेको गोदकको सिमल गोलाईदेखि तिल्केनी सडकको जोगमाई खोलामा पनि केही महिनाअघि जडान गरिएको बेली ब्रिज बाढीले बगाएको छ। ग्रामीण सडक र त्यहाँ आधा दर्जनभन्दा बढी पुल बगाउँदा स्थानीयलाई एउटा गाउँबाट अर्को गाउँ पुग्न तथा सदरमुकामसम्म आउ-जाउ गर्न समस्या छ।
जिल्लामा बाढीपहिरोबाट भएको मानवीय क्षतिको विवरण आए पनि अन्य भौतिक क्षतिको कुनै विवरण संकलन भइसकेको छैन। करिब ७० घरपरिवार विस्थापित भएको अनुमान रहे पनि पशुचौपाया र अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिडिओ सुनिता नेपालले जनप्रतिनिधि र प्रहरीले विभिन्न माध्यमबाट विवरण संकलन गरिरहेको जानकारी दिइन्। ‘तत्काललाई विवरण संकलन नहुँदा राहत वितरण गर्न पनि केही असजिलो भइरहेको छ,’ उनले भनिन्, ‘हामी छिटोभन्दा छिटो काम गर्ने प्रयत्न गरिरहेका छौं।’
जिल्ला विपद् व्यवस्थापन समिति बैठकले कसैले राहत वितरण गर्न चाहे जिल्ला प्रशासनको अनुमति र सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ। ‘राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन प्रयास गरेका छौं,’ उनले भनिन्, ‘राहत वितरण गर्न चाहनेले गर्न सक्छन् तर समन्वय र पारदर्शी चाहिँ होस् भन्ने हो।’

घटनामा मृत्यु भएका व्यक्तिको पोस्टमार्टम गर्न अस्पताल ल्याउन असहज भएकाले घटनास्थलको फोटो, भिडियो र स्थानीयको रोहबरमा संकलित प्रमाणका आधारमा प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्न सहज बनाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले राजमार्गसहितका ग्रामीण सडक सबै क्षतिग्रस्त भएकाले शव जिल्लामा ल्याउन सम्भव नभएको तर प्रहरीको प्रत्यक्ष निरीक्षणमा प्रक्रिया अघि बढाएको बताए।
१८ गतेदेखि नै अवरुद्ध बिजुली क्रमशः चालु हुँदैछ। सदरमुकाम इलाम बजारमा मंगलबार साँझ बिजुली बलेको छ भने जिल्लाका गाउँहरूमा पनि क्रमशः बलेको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्र प्रमुख बिजलीप्रसाद यादवले बताए। ‘दिउँसो र राति नै बिजुली मर्मतको काम गरिरहेका छौं,’ उनले भने, ‘धेरै ठाउँमा बलिसक्यो, अब बाँकी ठाउँ भोलि साँझसम्ममा बलिसक्छ भन्ने आशा छ। कामको रफ्तार त्यही छ।’
जिल्लाका सडक क्षतिग्रस्त भएर बिरामी अस्पताल लैजान पनि समस्या छ। बुधबार पनि नेपाली सेनाको हेलिकप्टरले माइजोगमाई गाउँपालिका वडा ६ को प्याङबाट गर्भवती महिला र निमोनियाका सिकिस्त एक बिरामीलाई उद्धार गरी झापाको अस्पताल लगेको नेपाली सेनाको रणशार्दूल गणका गणपति प्रह्लाद घलेले जानकारी दिए।
३९ जनाको मृत्यु हुने गरी भएको विपद्का मृतकको पोस्टमार्टम सहज बनाउनेदेखि पीडितलाई राहत वितरणका कार्यक्रम थालिएका छन्। तीनै तहका सरकार र सामाजिक संघ-संस्थासमेत पीडितको उद्धार र राहतमा खटिएका छन्। तर, कतिपय पीडितले भने राहत र उद्धार ज्यादै ढिलो भइरहेको भन्दै गुनासो पोखिरहेका छन्। विपद्बाट १९ गते साँझसम्म ३७ जनाको मृत्यु, १ बेपत्ता र ८ घाइतेको तथ्यांक आएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार साँझसम्ममा मृतकको संख्या बढेर ३९ पुगेको छ। इलाम नगरपालिका वडा ६ का महेन्द्र लिम्बू बेपत्ता छन्। घटनामा २६ घाइते छन्। घाइतेमध्ये १७ जना उपचारपछि घर फर्किएका छन्। बाँकी घाइतेको उपचार भइरहेको छ।
सन्दकपुर गाउँपालिका ५, जमुनाका प्रवेश गुरुङको शव इङ्ला खोलामा भेटिएको छ। इलाम नगरपालिका १०, गोदकको माइखोलाबाट बेपत्ता गर्जुमान तामाङको शव झापाको कन्काईमा फेला परेको थियो। बेपत्ताको खोजी भइरहेको स्थानीयले बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लाको माङ्सेबुङ गाउँपालिकामा हेलिकप्टरमा आएर राहत वितरण गरे। उनले चामल, तेल, नुन, कम्बल, त्रिपाललगायत उपभोग्य सामग्री पीडितलाई प्रदान गरेका छन्। स्थानीय प्रशासनले पनि राहत सामग्री वितरण गरेको छ भने केही युवाले सामूहिक रूपमा स्वतस्फूर्त रूपमा पनि राहत वितरण गरेका छन्।
प्रकाशित: २२ आश्विन २०८२ ०७:३० बुधबार





