जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी कामले तीव्रता पाएको छ।
गत साउन अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गर्दै ढिलासुस्ती गरे निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो।
सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका अनुसार अपाङ्गमैत्री तथा लिफ्ट सुविधासहित बन्न लागेको अत्याधुनिक अस्पताल भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको छ।
भवनको भुइँतला र पहिलो तलाको भित्री संरचना निर्माण सम्पन्न भइसकेको छ भने हाल दोस्रो र तेस्रो तलामा काम भइरहेको छ। आयोजनाका इञ्जिनियर विशाल श्रेष्ठका अनुसार असोज तेस्रो साताभित्र चौथो तलाको ढलान सम्पन्न गर्ने तयारी छ।
‘पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ। चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ,’ इञ्जिनियर श्रेष्ठले भने, ‘थपिएको समयसीमाभित्रै काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जनशक्ति परिचालन गरेको छ र कार्यालयबाट पनि निरन्तर ताकेता भइरहेको छ।’
सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नेपाल सरकारले २०७८ असार २४ गते ‘श्यामसुन्दर गोर्खा, वाईआर जेभी’ सँग भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।
कुल २६ करोड ४८ लाख २७ हजार ४०४ रुपैयाँको लागतमा बन्ने उक्त भवन प्रारम्भिक सम्झौताअनुसार २०८१ असार २३ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।
तोकिएको मितिमा काम नसकिएपछि आयोजनाले म्याद थप गरी आगामी पुस मसान्तसम्मको अन्तिम समयसीमा तोकेको हो। निर्माण व्यवसायीले सोही थपिएको अवधिभित्र काम सम्पन्न गरी भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: १३ आश्विन २०८३ २१:४७ मंगलबार




-600x400.jpg)
