१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

कानुन समितिमा बाँस्कोटा र कर्णबिच चर्काचर्की, एमाले सांसद बैठक छोडेर हिँडिन्

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बुधबार सभापति समीक्षा बाँस्कोटा र नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णबीच चर्काचर्की भएको छ। 

बैठकमा बोल्ने समय र समितिको सञ्चालनको विषयलाई लिएर विवाद भएको हो। बैठकका क्रममा सांसद कर्णले सभापतिले आफूलाई बोल्ने समय नदिएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले सभापतिले बैठक सञ्चालन गर्ने तरिकामाथि प्रश्न उठाउँदै छलफलका क्रममा आफ्नो नाम लिएर टिप्पणी नगर्न आग्रह गरिन्। 

‘तपाईंले समय दिनै पर्दैन, अब किन चाहियो ? जब तपाईंले तरिकाले चलाउनै सक्नुहुन्न भने किन चाहियो,’ कर्णले भनेकी थिइन् । उनले आफू प्रतिपक्षमा रहे पनि समितिमा हावी हुन नभई आफ्नो कुरा राख्न आएको बताइन्। 

कर्णले सभापतिले सांसदहरूलाई बोल्न नदिएको आरोप लगाउँदै समितिमा हुने छलफल व्यक्तिगत विवादतर्फ जान नहुने बताएकी थिइन्। उनले जेनजी आन्दोलन, कैदीबन्दी लगायतका विषयमा आफ्नो नाम लिएर टिप्पणी नगर्न पनि आग्रह गरिन्। 

त्यसपछि सभापति बाँस्कोटाले बैठकमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगर्न सांसदहरूलाई आग्रह गरेकी थिइन्। उनले बैठकमा मिडिया उपस्थित हुने भएकाले सांसदहरूबीचको विवाद बाहिर नकारात्मक रूपमा जाने भन्दै संयमित हुन आग्रह गरिन्। 

बैठकमा सभापति बाँस्कोटाले सांसदहरूलाई पटक–पटक समय दिइरहेको भन्दै आफ्नो पालो नआउँदै नबोल्न आग्रह गरेकी थिइन्। उनले भनिन्, ‘माननीयज्यू, एकछिन सुन्नुस्। मैले समय दिएको छैन।’ 

यसैबीच, बैठकमा सहभागी नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले बैठक बहिष्कार गरेर बाहिरिएकी छन्। बुधबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल भइरहेको थियो। 

सांसद सिद्धिकीले सभापतिले बैठकलाई नियन्त्रणमा राख्न नसकेको र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गर्दा पनि सभापतिले रोक्न नसकेको भन्दै असहमति जनाएर बैठकबाट बाहिरिएको बताएकी छन्।  

‘केही सजाय राखेर छुटाउने कि त्यत्तिकै छोड्ने ? अपराध त अपराध हो, यसले भविष्यमा पनि समस्या पार्छ,’ सिद्धिकीले बैठकमा आफ्नो प्रश्न रहेको बताइन्।  

प्रकाशित: १४ आश्विन २०८३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App