प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जलवायु न्यायदेखि चाडपर्वका मुखमा खाद्य वस्तुको सहज आपूर्तिका लागि बजार नियमनसम्मका माग गरेका छन्। सांसदहरुले किसान र मजदुरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सडक मर्मत गरी नियमित आवतजावतको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसद बलावती शर्माले बागलुङमा बाढीबाट भएको जनधनको क्षति र आवतजावतमा भएको अवरोधबारे जानकारी गराउँदै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर आवश्यक राहतको काम गर्न आग्रह गरिन्। सांसद वसुमाया तामाङले भोटेकोशी बाढीबाट प्रभावित पर्यटन मजदुरका समस्या समाधानका लागि तत्काल पर्यटन कोषको रकम राहतमा खर्च गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद बिना गुरुङले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले राखेको विषय प्रशंसनीय भएको उल्लेख गर्दै अब नेपालले जलवायु न्यायका लागि दया होइन न्याय चाहिएको विषय उठाउन आवश्यक रहेको बताइन्। सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एण्ड स्टिल उद्योगका मजदुरले नौ महिनादेखि करोडौँ रुपैयाँ पारिश्रमिक नपाएको अवगत गराउँदै समाधानका लागि यथाशीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद भरत गिरीले यात्राका क्रममा प्रमुख राजमार्गमा सवारी चालकले मनपरी होटलमा रोक्ने गरेको उल्लेख गर्दै होटलको खाना र मूल्यमा प्रभावकारी अनुगमन गर्न माग गरे।
सांसद भरतप्रसाद पराजुलीले मेलम्ची विपद्का विस्थापितका लागि घोषणा गरिएको राहत र क्षतिपूर्ति हालसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको अवगत गराउँदै तत्काल सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराए। साथै उनले भोटोकोशीमा बगेका गाडीमा सम्बन्धित बैंकले किस्ता तिर्न ताकेता गरेको उल्लेख गर्दै केही समय पर्खिनका लागि व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
सांसद भीमकुमारी बुढामगरले दाङको देउखुरीमा स्वर्गद्वारी गुठीको जग्गाका मोहीका समस्याबारे अवगत गराउँदै सम्बन्धित कानुन बनाएर व्यवस्थित गर्न माग गरिन्।
सांसद भूमिका श्रेष्ठले महिला मन्त्रालयको नाम परिवर्तन भए पनि अल्पसङ्ख्यक लैङ्गिक समुदायको थप अधिकारका लागि विनियोजित बजेट कम भएको उल्लेख गर्दै रकमान्तरमार्फत थप बजेट व्यवस्था गर्न माग गरिन्।
सांसद मञ्जु भुसालले रु ३५ अर्बमा बनेको गौतम बुद्ध विमानस्थलमा गत चैतदेखि हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्दै अब कहिलेदेखि सुरु हुन्छ भनी सरकारसँग प्रश्न गरिन्। सांसद मदनकृष्ण श्रेष्ठले भोटोकोशी बाढीबाट पाठ सिक्नुपर्ने बताउँदै व्यवस्थित सहर बसाउन योजना बनाउनुपर्ने बताए।
सांसद मधुकुमार चौलागाईंले भोटेकोशी बाढीबाट काभ्रेका धेरै युवा बेपत्ता भएको उल्लेख गर्दै पछिल्लो समयमा मनाङमा हिमपहिरोमा बेपत्ता नागरिकको अवस्थाबारे सरकारसँग जानकारी माग गरे। सांसद मनिष खनालले नवलपुरअन्तर्गत पर्ने हुलाकी सडकको निर्माण कार्यमा भइरहेको ढिलाइबारे जानकारी गराउँदै तत्काल सम्पन्न गराउन माग गरे।
सांसद मनिष झाले धेरै नदी क्षेत्रमा बालुवा र काठको व्यवस्थापन हुन नसक्दा तल्लो तटीय क्षेत्रमा बगेर जाने बालुवा र काठका कारण खेत तथा बस्ती जोखिममा परेको बताए। उनले समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सांसद महेन्द्रबहादुर शाहीले कर्णालीका नागरिक सडक अवरोधको पीडामा रहेको जानकारी गराउँदै चाडपर्वका बेला सहज रूपमा घर जान पाउने वातावरण बनाउन माग गरे। सांसद माधवबहादुर थापाले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा किसानका विषय उठाएको बताउँदै नेपालमा अझै पनि किसानले रासायनिक मल सहज रूपमा नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसद मिङ्मा ग्याल्बु शेर्पाले जलवायु परिवर्तनका कारण मुलुकले पछिल्लो समय धेरै जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै केही दिनअघि हिम्लुङ हिमालमा बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको बताए। उनले थप साधन स्रोतका लागि आग्रह गरे। सांसद मोहनलाल आचार्यले कपिलवस्तुका जनतामा स्वास्थ्य र शिक्षा पहुँचको कमी रहेको उल्लेख गर्दै जिल्लामा कृषि क्याम्पस र मेडिकल कलेज स्थापनाको माग गरे।
सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेर बन्द रहेकाले उपचारमा कठिनाइ भएको उल्लेख गर्दै तत्काल नियमित र मर्मत गर्न सरकारसँग माग गरे। सांसद यज्ञमणि न्यौपानेले कालोधन नियन्त्रणका लागि नोटबन्दी गर्न माग गरे। सांसद युवराज दुलालले पनि कालोधन नियन्त्रणका लागि नोटबन्दी गर्न माग गरे। साथै उनले त्यसमा किन ढिलाइ भएको भन्दै सरकारसँग प्रश्न गरे।
सांसद रजनी श्रेष्ठले सरकारले कोशी प्रदेशको इटहरीमा सीप र रोजगारीका लागि रोजगार मेला आयोजना गरेकामा धन्यवाद दिँदै सातै प्रदेशमा मेला आयोजना गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद रत्नाकुमारी थापाले महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले उठाएका विषयको प्रशंसा गरिन्। उक्त सम्बोधनले राष्ट्रिय गौरव बढाएको उल्लेख गर्दै उनले विषयलाई तार्किक निष्कर्षमा पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिइन्।
सांसद रञ्जु न्यौपानेले २०७२ सालको भूकम्पमा परी क्षतिग्रस्त मिन भवन क्याम्पसको हालसम्म पुनर्निर्माण गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद रमेशकुमार मल्लले सरकारले पहिलो वर्ष सुशासन र सेवा प्रवाहको नारा दिएको भए पनि हाल मुलुकमा किसानले मल नपाएको र अत्यावश्यक खाद्य वस्तुको आपूर्ति सहज नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद रमेशकुमार सापकोटाले आर्थिक अभावका कारण कुनै पनि नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग गरे। सांसद रमेश प्रसाईंले धनगढी, झापालगायत सहरमा आन्तरिक उडानको मूल्य मनपरी हुने गरेको उल्लेख गर्दै यसमा नियमन गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए।
सांसद रविन्द्र पटेलले रौतहटको बाबा वैदुनाथ सुगर चिनी मिलले हजारौँ किसानको बक्यौता नतिरेको जानकारी गराउँदै तत्काल बक्यौता रकम प्रदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे। सांसद राजन गौतमले कालीगण्डकी नदी क्षेत्रमा आएको बाढीपहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको भौतिक क्षतिले यातायात अवरोध भएको बताउँदै आवश्यक वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिए।
सांसद राजीव खत्रीले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई झ्यालबाट बाहिर फ्याँक्न दिएको धम्कीप्रति दुःख व्यक्त गर्दै लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिए। सांसद राजेशकुमार चौधरीले तराईमा एक शिक्षकका लागि ५० विद्यार्थी तोकेको मापदण्ड भए पनि रौतहटलगायत कतिपय जिल्लामा त्यस्तो अनुपात ८० सम्म पुगेकाले यसलाई व्यवस्थित बनाउन माग गरे।
सांसद राधिका रम्तेलले मजदुरका समस्या अवगत गराउँदै सामाजिक सुरक्षालगायत व्यवस्था गर्न तथा श्रमको मूल्य बढाउन र व्यवस्थित बनाउनुपर्ने बताइन्। सांसद रामाकान्तप्रसाद चौरासियाले मधेस प्रदेशको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र उपकरणको कमी भएको बताउँदै आवश्यक पूर्तिका लागि पहल गर्न सङ्घीय र प्रादेशिक सरकारको ध्यानाकर्षण गराए।
सांसद रिगङ्ला यादवले पूर्वी नवलपरासीमा नेपाल गण्डक पश्चिम नहर पुनर्निर्माणको पर्खाइमा रहेको बताउँदै यसका शाखा र उपशाखाको मर्मत गरी व्यवस्थित बनाउन माग गरे। सांसद रिमा विश्वकर्माले सदनमा विभिन्न महत्वपूर्ण विधेयक तीव्र गतिमा अघि बढाइएको भन्दै कानुनको गुणस्तरका लागि निर्माणमा आवश्यक समय लाग्नेतर्फ ध्यानाकर्षण गराइन्।
सांसद रुकेश रञ्जितले भक्तपुरका सडकमा निकासको समस्या हुँदा वर्षायाममा सडक अवरोध हुने गरेको बताउँदै निकासको आवश्यक व्यवस्था मिलाउन माग गरे। सांसद रुविना आचार्यले मोरङका कतिपय स्थानमा वर्षामा बाटो, खोला र खेत छुट्याउन नसकिने अवस्था रहेको बताउँदै आगामी योजनामा त्यस्तो अवस्था नहुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।
प्रकाशित: १४ आश्विन २०८३ १६:३५ बुधबार





