चितवन राष्ट्रिय निकुञ्जमा ८३ वटा वन्यजन्तु मरेका छन्। प्राकृतिक, विपत, विद्युतीय करेन्ट र तार जालीमा परेर गत आर्थिक वर्ष २०८१/२०८२ मा दुलर्भ एक सिंगे गैँडा, हात्ती, बाघ, चित्तल लगायतका ८३ वटा वन्यजन्तु मरेका हुन्।
निकुञ्जका अनुसार प्राकृतिक कारण सबैभन्दा बढी ४५ वटा वन्यजन्तु मरेका छन्। त्यस्तै कुकुरको आक्रमणबाट १७, एक आपसमा जुधेर चार, दलदलमा परेर तीन, तार जाली, सडक दुर्घटना, र बाढीले बगाएर समान दुई/दुई, विद्युतीय करेन्ट र कारण नखुलेको समान एक/एक र अन्य कारणले छ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। यसपटक चोरी शिकारीले कुनै पनि वन्यजन्तु मारेका छैनन्।
एक वर्षको अवधिमा सबैभन्दा बढी ३१ वटा चित्तल मरेका छन्। कुकुरको आक्रमणबाट १६, प्राकृतिक कारण १२, सडक दुर्घटनाबाट दुई र तार जालीमा परी एक वटा चित्तल मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।
दुलर्भ एक सिंगे गैँडा मरेको तथ्यांक पनि डरलाग्दो छ। एकै वर्षको अवधिमा २८ वटा गैँडा मरेका छन्। प्राकृतिक कारण १८, जुधेर र दलदलमा परी समान तीन/तीन, बाढीले बगाएर दुई, विद्युतीय करेन्ट र अन्य कारण समान एक/एक वटा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिए। मर्नेमा एघार वटा पोथी, दश वटा भाले र लिंग छुट्टिन नसकेका सात वटा गैँडा रहेका छन्।
चितवनमा मात्रै एक वर्षको अवधिमा सात वटा हात्ती मरेका छन्। निजी र जंगली समान तीन/तीन र एक वटा सरकारी हात्ती मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। प्राकृतिक कारण पाँच र कारण नखुलेका दुई हात्ती मरेका छन्। मकुना हात्तीलाई निकुञ्जले कारण नखुलेकोमा उल्लेख गरेको छ। गत माघ महिनामा निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोली लागेर मृत्यु भएको थियो।
यस्तै जरायो तीन, बाघ, घडियाल गोही र नीलगाई समान दुई/दुई, चरीबाघ, रतुवा, अजिंगर, स्याल र भालु समान एक/एक वटा मरेका छन्।
यस्तै गत आर्थिक वर्ष एक सय ३५ वटा वन्यजन्तुको उद्धार गरिएको छ। यो अवधिमा अजिंगर सबैभन्दा धेरै ६१ वटाको उद्धार गरिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।
सर्प ३७, मगर गोही ११, चित्तल ७, गैँडा ४, कछुवा ३, बाघ, घडियाल गोही, रतुवा र गिद्ध समान दुई/दुई, गाहोरो र नील बिरालो समान एक/एक वटाको उद्धार गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए।
प्रकाशित: ७ श्रावण २०८२ १८:२७ बुधबार





