गत वर्ष प्रदेश प्रहरी कार्यालय विराटनगरले भन्सार छली र चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हात पार्दै राजस्व पनि प्रशंसनीय परिमाणमा सङ्कलन गरेको दाबी गरेको छ।
कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को प्रगति विवरणअनुसार प्रदेश प्रहरीले सो वर्ष अवैध तरिकाले नेपाल ल्याइँदै गरेको २० करोड ४२ लाखभन्दा बढी मूल्यको भन्सार छली र चोरी तस्करीका सामान नियन्त्रणमा लिएर राजस्व सङ्कलन भएको हो। विशेषगरी नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै हुने चोरी तस्करीका घटना नियन्त्रण गर्दा यस्ता आपराधिक गतिविधि भएको पाइएको छ।
खुला सीमा क्षेत्र र आसपासका नाकाहरूमा शान्ति सुरक्षा कायम गर्न नियमित र कडाइका साथ प्रहरी चेकजाँचको क्रममा भन्सार छली र चोरी तस्करीका सामान बरामद हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले मात्र एक वर्षमा ७ करोड ३ लाखभन्दा बढी मूल्यको भन्सार छलीका सामग्री बरामद गरी राजस्व सङ्कलन गरेको छ।
त्यस्तै, मोरङ प्रहरीले ५ करोड ५६ लाखभन्दा बढीको चोरी तस्करीका सामान बरामद गरेको छ भने सुनसरीले ४ करोड २३ लाखभन्दा बढीको नियन्त्रणमा लिएको छ। ताप्लेजुङ प्रहरीले १ करोड ४ लाख, उदयपुरले ९६ लाख, इलामले ७० लाखको अवैध आयातित सामग्री नियन्त्रण गरेका छन्।
चोरी तस्करी र भन्सार छलीका सामग्री बरामद भएसँगै त्यसको मूल्य बराबर राजस्व प्राप्त हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ। प्रदेशका अन्य विभिन्न जिल्लाहरूबाट पनि सामान्य परिमाणका भन्सार छली, चोरी तस्करी र अवैध सामग्री आयात हुने घटनाको तथ्याङ्क प्रहरीसँग छ। खुला सीमानामा हुने यस्ता आपराधिक घटना न्यूनीकरण र नियन्त्रण गर्न कडाइका साथ प्रहरी टोली परिचालन गर्दा अवैध गतिविधि कम हुनुका साथै राज्यलाई राजस्व प्राप्त हुने गरेको छ।
प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले गत वर्ष २० करोड ४२ लाखभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेर त्यति नै परिमाणको राजस्व सङ्कलन भएको बताए। उनका अनुसार अवैध ओसारपसारमा तस्कर समूहले प्रयोग गर्ने ८९ वटा विभिन्न सवारी साधन पनि नियन्त्रणमा परेका छन्।
त्यसैगरी, तस्करी र अवैध गतिविधिमा संलग्न ८५ जना व्यक्ति प्रहरी नियन्त्रणमा परेर कानुनी कारबाहीको भागीदार भएको डिआइजी कार्कीले बताए। चोरी तस्करी नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सूचना प्रविधिको अधिकतम प्रयोग गरी चेकजाँचमा कडाइ र निगरानी बढाएको छ।
गत वर्षको यो सफलताबाट उत्साहित प्रदेश प्रहरीले चालु वर्ष पनि उत्साहका साथ चोरी तस्करी नियन्त्रणको कामलाई निरन्तरता दिने अठोटसहित कार्ययोजना बनाएर अघि बढेको डिआइजी कार्कीले विश्वास दिलाएका छन्।
प्रकाशित: १२ श्रावण २०८२ १८:१८ सोमबार





