२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मधेसमा चौरचन र तिजको सांस्कृतिक मेलमिलाप

मधेस प्रदेशलगायत मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइँदै छ। भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेदले गर्दा चौठी वा चौठ भएको हो।

लोकधारणा अनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्छ भनिन्छ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यता समेत रहेको छ।

चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाञ्चलको विशिष्ट पर्व हो। चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाज विशेषतः मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ। ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ। यही विश्वासले मैथिल समाज कुनै पनि शुभ कार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्त्व दिन्छ।  

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको पाइन्छ।  

चन्द्रमालाई मनको देउता पनि भनिन्छ। ऋग्वेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ। चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ। योगशास्त्र अनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त गर्छ।  

यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ। उनी ज्योतिषशास्त्रमा भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास पाइन्छ।  

मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ। यस्तो भाकल पाँचदेखि दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्छ।  

लहान नगरपालिका ४ की अम्बिका यादव झन्डै एक दशकदेखि यो व्रत बस्दै आएकी छन्। चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने उनी बताउँछिन्।  

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो। यहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन। यसमा कुनै तामझाम हुँदैन। यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ।  

व्रतालु यादवका अनुसार मानिस जन्म लिएपछि उनीहरूले सूर्य र चन्द्रमालाई मात्र हेर्‍यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ। चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा चन्द्रमाको पूजा गरी मनाइन्छ।  

तिजको रमझम 
सिरहा–लहान–३ स्थित शिव मन्दिरमा बिहानैदेखि तिजको कथा श्रवण गर्ने महिलाहरूको बाक्लो उपस्थिति थियो। तिज कथा श्रवण गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थितीले पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।  

तिज व्रत कथा श्रवण गर्न सहभागी लहान–४ की सुनिती यादव तिजको व्रत बस्न थालेको यो डेढ दशक भएको बताइन्। ०६४ मा वैवाहिक बन्धनमा बाँधिएको वर्षदेखि उनले तिजको व्रत बस्न थालेकी हुन्।  

‘यो पर्व त पहाडी समुदायको महिलाले मनाउने होइन र?’ भन्ने प्रश्नमा यादवको जवाफ थियो, ‘पहाडी समुदायको महिलाले मनाउने पर्व मधेसी महिलाले मनाउनुहुन्न र?’ यो पर्व हिन्दु धर्मावलम्बी महिलाले मनाउने पर्व हो उनले थपिन्, ‘भगवानले पहाडी–मधेसी छुट्टाउँदैनन्, अनि हामी किन विभेद गरूँ?’  

हिन्दु धर्मावलम्बी महिलाहरूले मंगलबार दुई वटा पर्व उत्साहपूर्वक मनाउँदै छन्, चौरचन (चौठी चाँद) र तिज। यी दुई पर्व नेपाली समाजका दुई समुदायले मनाउने सांस्कृतिक पर्व हो। पहाडी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व ‘तिज’ र मधेसी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व ‘चौरचन’। पहाडी समुदायका महिलाले पहिलादेखि मनाउँदै आएको तिज पछिल्लो समय मधेसी महिलाले पनि उत्तिकै श्रद्धा र उल्लासका साथ मनाउन थालेका छन्।  

मधेसी महिलाहरू तिज पर्वलाई उत्तिकै श्रद्धा र उल्लासका साथ मनाउँछन्, जसरी पहाडी महिलाहरूले मनाउँछन्। मधेसी महिलाहरू मंगलबार बिहान सूर्य उदाउनु अघि दर खाएर व्रतको सुरुवात गरेपछि २४ घण्टासम्म निर्जल र निराहार बस्छन्। यी व्रतालुहरू बुधबार बिहानमात्र अन्नपानी ग्रहण गर्ने बताउँछन्।  

तिजलाई महादेव–पार्वतीको कथासँग जोडेर हेर्दा पार्वतीले महादेव वर पाउन यो व्रत बसेको पाइन्छ। तिजको व्रत बसेपछि पार्वतीले शिवलाई वर (पति) को रूपमा प्राप्त गरेको कथामा उल्लेख भएको पाइन्छ। यहीँ कथालाई आत्मसात् गर्दै विवाहित महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अविवाहिता महिलाले मन पाएको र असल पति पाउनका लागि तिज व्रत बस्ने प्रचलन छ।  

पछिल्लो समय मधेसी महिलाहरू यो पर्वको महत्त्व बुझेर व्रत बस्न थालेपछि मधेसी र पहाडी महिलाबिच अन्तरङ्ग सम्बन्धलाई सांस्कृतिक रूपले अझ प्रगाढ बनाउने काम गरेको सांस्कृतिक जानकारहरू बताउँछन्।

प्रकाशित: १० भाद्र २०८२ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App