कमलोपोखरी बस स्टपबाट सजिलै देखिन्छ कमलपोखरी। सुन्दर र आकर्षक देखिने यो पोखरी किनारमा फूलिरहेको ज्याकराण्डाको फूलले पोखरीको सौन्दर्य थपिएको छ। पोखरीमा फूलिरहेको ज्याकराण्डाको सौन्दर्यले टाढा नजिकका सबैलाई आकर्षित गरिरहेको छ। ज्याकराण्डा फूल फुलेपछि यो पोखरीमा घुम्न आउनेको ओइरलो लागेको छ।
बुधबार कमलपोखरीको मध्याह्न घाममा तस्बिर खिचिरहेकै बेलामा भेटिइन् ललितपुरकी राधिका सापकोटा र नारायणथानकी रविना कट्टेल। उनीहरू यो पोखरीमा फूल फुल्न थालेको वर्षदेखि नै हरेक वर्ष आउने गरेका छन्। यो वर्ष पनि ज्याकराण्डा फुलेपछि उनीहरू पोखरी घुम्न साथी बोलाएरै पुगेका हुन्। उनीहरूले विशेष गरी यही मौसम पारेर यो पोखरी पुग्ने गरेको बताए। राधा र प्रविना दुवै तस्बिर खिच्दै पोखरी नियाल्न मस्त थिए। 'साथीसंगै पोखरी घुम्दा छुट्टै मज्जाा,' राधाले भनिन्।

भक्तपुरकी युवती दिपिका शर्मा कमलपोखरीमा छुट्टै हाउभाउमा भेटिइन्। कपालमा फूलको सिङ्गार शरीरमा जापानिज पोशाक। उनी भिडियो र फोटो खिच्न तल्लिन थिइन्। पेशागत फोटोग्राफरबाट भिडियो खिचिरहेको स्थितिमा भेटिइन्। पोखरी किनारमा उनलाई देख्दा उनी कुनै चलचित्रको सुटिङ गरिरहेको भान हुन्थ्यो। तर उनको यो सबै व्यक्तिगत सोख थियो। सामाजिक सञ्जालभरि ढकमक्क फुलेको पोखरी देखेपछि उनी पनि समय निकालेरै पुगेकी हुन्।
जापानिज पोशाक भाडामा लिएर फोटो र भिडियो सुट गरेको शर्माले बताइन्। क्यामेरा र पोशाख दुवैको भाडा भने उनी तिरेर लिएको उनले सुनाइन्। पोखरीमा यतिखेर देखिएको दृष्य भिडियो बनाउनको लागि खास देखिएकाले यी सबै तयारी गरेको उनले सुनाइन्।
पोखरी यी युवायुवती बाहेक वृद्धवृद्धा र बालबालिका पनि घुम्नमा मस्त भेटिए। पार्कको किनारमा बसेर मोबाइल चलाइरहेका एक युवा विद्यार्थी भने एकछिन फुर्सदमा पार्कभित्र हेरेर रमाउने उद्देश्यले आएको बताए।
शुक्रबार कमलपोखरीमा पुस्तक पढ्दै बसेकी झापाकी युवती नकु लिम्वु कमलपोखरी आउनुको उद्देश्य भने भिन्नै थियो। उनी पनि एकछिन आरम गर्ने सोचले कमलपोखरी पुगेको बताइन्। उनले इन्साटाग्राममा कमलपोखरीको फोटो देखेपछि एकछिन घुम्न पुगेको बताइन्। उनी दुई घण्टादेखि पोखरीको एक छेउमा अंग्रेजी पुस्तक पढ्दै गरेको भेटिएकी हुन्। पहिलो दिनको बसाइँमै कमलपोखरी निकै आनन्दमय लागेको उनले सुनाइन्। 'पोखरीमा पानी पनि सफा शान्त देखिन्छ, पारि फूल फुलिरहेको छ,' उनले भनिन्।

सामाजिक सञ्जालमा पोखरी र फूलको भिडियो देखेपछि काठमाडौ काँडाघारीवाट कमलपाखेरी पुगेका हुन् रमिला र राधिका खड्गाका दिदीबहिनी। उनीहरू दुवै आपसमा तस्बिर खिचिरहेको बेलामा भेटिए। उनले भने, 'सबैले भिडियो र फोटो हालेको देखेपछि आउन मन लाग्यो।'
काठमाडौं नक्सालकी उर्मिला श्रेष्ठले भने आफ्नी साथीलाई भेट्न कोमलपोखरी बोलाएकी हुन्। शितल र आनन्दमय ठाउँमा बसेर भेट्दा छुट्टै आनन्द आउने भएकोले कमलपोखरी नै छनौट गरेको उनले बताइन्। शुक्रबार पोखरी वरिपरि पेशागत क्यामेराबाट तस्बिर र भिडियो खिचाउने युवायुवती भेटिए। फोटो खिचे वापत ग्राफरले २० रुपैयाँ लिने गरेको बताए।
वैशाख महिना सुरु भएदेखि यता दैनिक घुम्न आउनेको भीड लागेको पोखरी हेरचाह तथा सुरक्षामा खटिएका कर्मचारीले जानकारी दिए। 'वैशाखदेखि जेठको दोस्रो सातासम्म धेरै आउँछन्। पोखरी सफाइ तथा सुरक्षाको लागि वडाले नगर प्रहरी र सफाइ कर्मचारी खटाएको छ। बिदाको दिन हजारौं जना घुम्न आउने गरेको सुरक्षार्थ खटिएका छन्।

काठमाडौं महानगर वडा नम्बर एकभित्र रहेको यो पोखरी २०७४ सालभन्दा पहिला यो रूपमा थिएन। तत्काल्नी मेयर बिद्या सुन्दर शाक्यको कार्यकालमा पुनर्निर्माण कार्य भएको थियो भने २०८०/०८१ मा पोखरीको थप सुधार गरिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए। उनका अनुसार पोखरीको दक्षिण मोहडामा बसेको प्रहरी प्रभागलाई अन्य भागमा जग्गा दिएर सारी यो प्रहरी फराकिलो बनेको हो। 'दक्षिण पट्टिको भाग विस्तार गरेपछि पोखरी झन फराकिलो बनेको हो,' उनले भने।





प्रकाशित: २ जेष्ठ २०८३ १०:२५ शनिबार





