आन्दोलनका कारण मंगलबार दिउँसो बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन भएपछि यात्रुहरूको भीड बढेको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले आज साँझदेखि विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेपछि विदेश जाने यात्रुहरूको संख्या बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।
पाण्डेले भने, ‘आन्दोलनका कारण मंगलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो। आजदेखि पुनः सञ्चालन गरिएपछि अहिले यात्रुहरूको भीड बढेको हो।’
विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्र विमानस्थलमा आउन आग्रह गरेको छ।
प्रकाशित: २५ भाद्र २०८२ २२:२२ बुधबार





