१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ललितपुरमा ‘म्यादी’ बन्नेको ओइरो: कोटा पुर्‍याउन राति ८ बजेसम्मै दौड र सिट-अप

तस्बिर: नागरिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ।

निर्वाचन सुरक्षाको खम्बा मानिने ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्ना प्रक्रिया पनि देशभर धमाधम चलिरहेको छ। देशैभरबाट उम्मेदवारहरूले उल्लेख्य रुपमा सहभागिता जनाइरहेका छन्।

यता, राजधानी नजिकैको ललितपुर लगायत केही जिल्लाहरूमा भने आवश्यक सङ्ख्यामा उम्मेदवार अपुग भएको पाइएको छ।

तोकिएको कोटामा आवेदन नपरेको र परेका आवेदनमा पनि धेरैजसो उम्मेदवारहरू शारीरिक तथा प्रारम्भिक स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएपछि नेपाल प्रहरीले पुनः दरखास्त आह्वान गरेको छ।

ललितपुर जिल्ला प्रहरी परिसर कार्यालयका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि करिब १ हजार ६ सय जना म्यादी प्रहरीको माग रहेको थियो।

तर, पहिलो चरणको छनोट प्रक्रियाबाट माग बमोजिमको सङ्ख्या पूर्ति हुन सकेन। आवश्यक जनशक्ति अपुग भएपछि जिल्ला प्रहरी परिसरले माघ १० र ११ गते (हिजो र आज) सम्मका लागि दरखास्त दिने म्याद थप गरेको थियो।

ललितपुर मात्र नभई बागलुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, र रामेछाप लगायतका विभिन्न जिल्लाहरूमा पनि आवश्यक सङ्ख्या भन्दा कम उम्मेदवार छनोट भएका कारण पुनः भर्ना प्रक्रिया अघि बढाइएको हो।

म्याद थप गरिएको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा म्यादी प्रहरी बन्न चाहनेहरूको बाक्लो घुइँचो लागेको थियो।

परिसर बाहिर र नजिकैको मैदानमा बिहानैदेखि युवादेखि प्रौढ उमेर समूहसम्मका सर्वसाधारणको उपस्थिति बाक्लो देखिन्थ्यो। मैदानमा छरिएर बसेका सयौं युवाहरूको अनुहारमा निर्वाचन प्रहरी बन्ने हुटहुटीसँगै बेरोजगारीको पीडा र आर्थिक बाध्यताको झल्को पनि स्पष्ट देखिन्थ्यो।

धेरैका लागि यो केवल रहर नभई जीविकोपार्जनको छोटो अवधिको आधार समेत बनेको छ।

जावलाखेलस्थित प्रहरी परिसरका एक अधिकारीका अनुसार म्याद थपिएका दुई दिनमा आवेदन दिनेको सङ्ख्या ह्वात्तै बढेको छ।

उनले भने, ‘हिजो र आज टन्नै सङ्ख्यामा निर्वाचन प्रहरीका लागि फारम भरेका छन्। कतिले आवेदन दिए भन्ने यकिन तथ्याङ्क अहिले नै भन्न सक्ने अवस्था छैन, तर आज (आइतबार) मात्रै ३ देखि ४ सयको हाराहारीमा फारम दर्ता भएका छन्।’

समयको चापका कारण प्रहरीलाई छनोट प्रक्रिया सम्पन्न गर्न भ्याइनभ्याइ परेको छ। ती अधिकारीका अनुसार, हिजो र आज आवेदन दिएका सबै उम्मेदवारहरूको शारीरिक तन्दुरुस्ती परीक्षा (दौड, पुस–अप, सिट–अप) र लिखित परीक्षा आजै सम्पन्न गर्ने तयारी गरिएको छ।

नागरिक न्युजसँग कुराकानी गर्दै उनले सुनाए, ‘भर्ना प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने भएकाले आज बेलुका ७–८ बजेसम्म लगाएर भए पनि शारीरिक तथा प्रारम्भिक परीक्षाहरू लिइन्छ।’

सरकारले देशभरको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ मात्रै करिब १ लाख ३४ हजार म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य राखेको छ। छनोट प्रक्रिया पूरा गरी उत्तीर्ण भएका म्यादी प्रहरीहरूलाई आगामी माघ १५ गतेदेखि तालिममा सहभागी गराइने कार्यतालिका तय गरिएको छ।

निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिबाट पारित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ।

यस योजना अन्तर्गत निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहित बनाउन कुल ३ लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। जसमा ७९ हजार ७२५ नेपाली सेना, ७५ हजार ७६५ नेपाल प्रहरी, ३४ हजार ५४३ सशस्त्र प्रहरी बल र १ हजार ९११ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू रहनेछन् भने बाँकी सङ्ख्या म्यादी प्रहरीले पूर्ति गर्नेछन्।

यसैबिच, निर्वाचन सुरक्षा बन्दोबस्तीलाई चुस्त बनाउन छिमेकी मित्रराष्ट्र भारत सरकारले ३७७ वटा सवारी साधन सहयोग स्वरूप नेपाललाई उपलब्ध गराउने भएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि निश्चित मापदण्डहरू तोकिएको छ। आवेदक नेपाली नागरिक हुनुपर्नेछ भने उमेरको हदमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

शैक्षिक योग्यताको हकमा सामान्य लेखपढ गर्न जान्ने भए पुग्नेछ। साथै, निज कुनै पनि राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने गरी कुनै फौजदारी अभियोग नलागेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त राखिएको छ।

शारीरिक मापदण्डतर्फ पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा ४ फिट उचाइ र ४२ केजी तौल तोकिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गर्भवती महिलाहरूलाई भने आवेदन दिन अयोग्य ठहर गरिएको छ।

छनोट भएका जनशक्तिले छोटो समयका लागि भए पनि राज्यको सुरक्षा संयन्त्रको महत्त्वपूर्ण अङ्गका रूपमा काम गर्ने अवसर पाउनेछन्।

प्रकाशित: ११ माघ २०८२ १७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App