मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाम र आसपासका क्षेत्रमा बुधबार उल्लासका साथ होली पर्व मनाइँदै छ।
तराई-मधेसका अन्य जिल्लामा मंगलबार नै होली सकिए पनि जनकपुरमा भने परिक्रमाको भोलिपल्ट होली खेल्ने परम्पराअनुसार आज रङहरुको पर्व मनाइएको हो।
होलीको अवसरमा बिहानैदेखि जनकपुर उपमहानगरपालिकास्थित माछा बजार र मासु पसलहरूमा उपभोक्ताको बाक्लो भीड लागेको छ। पर्वमा मासुका विभिन्न परिकार पकाएर खाने चलन रहेकाले स्थानीय बासिन्दा बिहानैदेखि खसी, कुखुरा र माछा किन्न लामबद्ध भएका छन्।
जनकपुरको ‘गृह परिक्रमा’ सम्पन्न भएको भोलिपल्ट मात्र यहाँ होली खेल्ने परम्परा छ। १५ दिने मिथिला मध्यमा परिक्रमा मंगलबार जनकपुर आएर सम्पन्न भएपछि आज यहाँ होलीको रौनक छाएको हो।
रङ र अबिर दलेर आपसमा शुभकामना साटासाट गर्दै स्थानीयले पर्व मनाइरहेका छन्।
प्रकाशित: २० फाल्गुन २०८२ १६:५३ बुधबार





