कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान अधिकृत तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका छन्।
गोष्ठीमा जिल्लागत रूपमा अपराध अनुसन्धानका क्षेत्रमा भएका गतिविधि, उपलब्धि तथा चुनौतीबारे प्रहरी अधिकारीहरूले प्रस्तुतीकरण गरेका थिए। कर्णालीका अधिकांश जिल्ला दुर्गम पहाडी तथा हिमाली भूगोलमा पर्ने भएकाले अपराध अनुसन्धानमा भोग्नुपरेका व्यावहारिक कठिनाइ र चुनौतीबारे विशेष छलफल गरिएको थियो।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले गोष्ठीको औचित्य, नेपालमा विकसित हुँदै गएको अपराध अनुसन्धान प्रणाली तथा पछिल्लो समय अनुसन्धान क्षेत्रमा देखिएका प्रवृत्तिबारे प्रस्तुतीकरण गरेका थिए। विशेषगरी कर्णालीमा मदिरा सेवन तथा अन्य नशालु पदार्थ सेवनबाट उत्पन्न विवादले बढी अपराधका घटना घटेको देखिएको उनले बताए।
गोष्ठीलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र प्रविधिको प्रयोगले प्रहरी अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै लगे पनि केही घटनामा अनुसन्धान र कारबाहीका पक्षमा कमजोरी देखिने गरेको बताए। अनुसन्धान प्रक्रिया निष्पक्ष, तथ्यमा आधारित र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै उनले समाजमा कानुनी शासनप्रतिको विश्वास कायम राख्न प्रहरीको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गरे।
“कतिपय अवस्थामा घटनाको वास्तविकताभन्दा बाहिरी प्रभावले काम गर्न खोज्ने प्रवृत्ति देखिएको छ। समाज कहाँ पुग्ला भन्ने चिन्ता छ,” मुख्यमन्त्री कँडेलले भने, “न्याय र अनुसन्धानको क्षेत्र संवेदनशील भएकाले यसमा संलग्न सबैले थप जिम्मेवार बन्न आवश्यक छ।”
उनले प्रदेश सरकार प्रहरीबाट आवश्यक समन्वय र सहयोगको माग आएमा हरसम्भव सहयोग गर्न तयार रहेको पनि बताए।
अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले सामाजिक सञ्जालको दुरुपयोग, वित्तीय तथा अनलाइन ठगीजस्ता नयाँ प्रकृतिका अपराधले अनुसन्धान क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए। उनले अपराध अनुसन्धानलाई पूर्ण रूपमा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक बनाउन जिल्ला प्रहरी कार्यालय तथा मुद्दा अनुसन्धान गर्ने इकाइहरू अझ बढी संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता लक्ष्मीनारायण दाहाल, मुख्य न्यायाधिवक्ताको कार्यालयका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमाल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसी लगायतले पनि अपराध अनुसन्धानलाई प्रभावकारी, विश्वसनीय र कानुनसम्मत बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कर्णालीमा अपराध अनुसन्धानको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरिएको उक्त गोष्ठीले अनुसन्धान प्रणालीलाई अझ सुदृढ र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।
प्रकाशित: ११ असार २०८३ १५:४६ बिहीबार





