९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

नापी सर्भेक्षक दम्पतीविरुद्ध ३ करोड ७१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडी र निजकी श्रीमती सुमिन्त्रा देवी साह विरुद्ध अस्वाभाविक रूपमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सुडीले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन (रा.प.अनं. द्वितीय श्रेणी) पदमा अस्थायी नियुक्ति लिएको मिति २०४६ वैशाख १६ देखि २०८१ जेठ ३२ सम्मको अवधिमा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको पाइएको हो।

उनी पदमा रहँदासम्म ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय देखिदा सोही अवधिमा उनको खर्च र विभिन्न क्षेत्रमा गरिएको लगानी ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा देखिएको छ । जसअनुसार ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा गैरकानुनी देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले सुडीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर गरेको पुष्टि भएकाले रू ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी बिगो अनुसार कैद र जरिवानाको माग गरिएको छ।

साथै, वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) बमोजिम थप कैद र जरिवाना गरी सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।

यस्तै, सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा आर्जन गरिएको स्रोत नखुलेको सम्पत्ति श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत खरिद तथा लगानी गरिएको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र निजलाई प्रतिवादी कायम गरिएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App