९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

३ करोड ७१ लाखको स्रोत नखुलेपछि नापीका सर्भेक्षकविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सुमिन्द्रा देवी साहलाई समेत प्रतिवादी बनाएको छ।

सुडीले २०४६ वैशाख १६ गते तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदबाट सरकारी सेवा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा वैध आयको तुलनामा अस्वाभाविक रूपमा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा सुडी र उनको एकाघर परिवारले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, शेयर, कृषि, बीमा, कर्जा तथा सुन बिक्रीलगायत विभिन्न शीर्षकबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आम्दानी गरेको पाइएको छ।

तर, सोही अवधिमा उनीहरूले घरजग्गा तथा शेयर खरिद, सवारी साधन, अध्ययन खर्च, बीमा प्रिमियम भुक्तानी, बैंक मौज्दात र ऋण लगानीसहित कुल ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको देखिएको छ।

कुल आम्दानीबाट खर्च र लगानी घटाउँदा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि अख्तियारले सो रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।

सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरिएको उक्त सम्पत्ति श्रीमती सुमिन्द्रा देवी साहको नाममा समेत खरिद तथा लगानी गरिएको पाइएको छ।

यसैगरी, सुडीले वास्तविक सम्पत्तिको विवरण नलुकाई झुट्टा विवरण पेस गरेको समेत पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

अख्तियारले सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय, स्रोत नखुलेको सम्पत्ति जफत तथा झुट्टा विवरण पेस गरेबापत थप सजायको मागदाबी लिएको छ।

साथै, स्रोत नखुलेको सम्पत्तिबाट श्रीमती सुमिन्द्रा देवीको नाममा राखिएका सम्पत्तिहरू समेत प्रचलित कानुनबमोजिम जफत गर्न माग गरिएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App