भारतको मध्य प्रदेशस्थित ग्वालियरमा एउटा कार यतिबेला अनौठो कारणले चर्चामा छ। कारको मोडेल, मूल्य वा गति होइन, कारभरि बनाइएका करिब तीन हजार ४०० लिपस्टिकका चुम्बनका निशानका कारण यो सामाजिक सञ्जालमा भाइरल भएको हो। तर यही कारका कारण मालिकले पाँच हजार ५०० भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको छ।
घटना ग्वालियरको थाटीपुर क्षेत्रको हो। रिपोर्टअनुसार कारका मालिक आदित्य सिकरवार हुन्। उनकी प्रेमिकाले सामाजिक सञ्जालमा चलेको ट्रेन्डबाट प्रभावित भएर कारलाई लिपस्टिकका चुम्बनका निशानले सजाउने योजना बनाएकी थिइन्। कारमा करिब तीन हजार ४०० निशान बनाउन साढे तीनदेखि चार घण्टा लागेको बताइएको छ।
कार सडकमा निस्किएपछि यसको अनौठो स्वरूपले मानिसको ध्यान तान्यो। तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि ट्राफिक प्रहरीले पनि यसबारे जानकारी पाएको थियो। भिडियोमा देखिएको नम्बर प्लेटका आधारमा प्रहरीले कार पहिचान गरी थाटीपुर क्षेत्रबाट फेला पारेको बताइएको छ।
ग्वालियर ट्राफिक प्रहरीका टीआई अभिषेक रघुवंशीका अनुसार कार मालिकलाई बोलाएर सोधपुछ गरिएको थियो। त्यसपछि कारमा रहेका लिपस्टिकका निशान हटाउन लगाइएको र मालिकले आफैं निशान पुछेको उनले बताए। कार पानीले समेत सफा गराइएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार कारमा लिपस्टिकका चुम्बनका निशान बनाउनु मात्रै अपराध हो भन्ने स्पष्ट कानुनी व्यवस्था छैन। मोटर भेहिकल्स ऐनको धारा ५२ ले सवारी साधनमा गरिने परिवर्तनलाई नियमन गर्छ। तर कारको बाहिरी भागमा लिपस्टिकका निशान बनाएको विषयलाई यही धाराअन्तर्गतको ‘परिवर्तन’ मान्न मिल्छ कि मिल्दैन भन्ने कुरा आधिकारिक चालानमा उल्लेख भएको प्रावधानबाट मात्र स्पष्ट हुन्छ।
त्यस्तै, धारा १९० असुरक्षित अवस्थामा सवारी चलाउने विषयसँग सम्बन्धित छ। केवल कारमा लिपस्टिकका निशान भएकै कारण यो धारा लागू हुन्छ भन्न मिल्दैन। तर कार सडकमा मानिसको ध्यान भंग हुने वा दुर्घटनाको जोखिम बढ्ने गरी चलाइएको भए धारा १८४ अन्तर्गत खतरनाक ड्राइभिङको प्रश्न उठ्न सक्छ।
यद्यपि, प्रहरीले पाँच हजार ५०० रुपैयाँको जरिवाना कुन-कुन धाराअन्तर्गत काटेको हो भन्ने स्पष्ट गरिएको छैन। त्यसैले उक्त जरिवाना धारा ५२, १९० वा १८४ मध्ये कुनै एउटै प्रावधानअन्तर्गत काटिएको हो भनेर निश्चित रूपमा भन्न सकिँदैन।
ग्वालियरको यो ‘किसिङ कार’ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। घटनाले सामाजिक सञ्जालको ट्रेन्ड पछ्याउँदा पनि सडक सुरक्षा र ट्राफिक नियमलाई बेवास्ता गर्न नहुने देखाएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १२:०१ मंगलबार

