३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

'विपद् व्यवस्थापनमा प्रहरी र राजनीतिक दलको समन्वय महत्त्वपूर्ण'

सशस्त्र प्रहरी बल नेपालले  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको हो।

अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिएका थिए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख माननीय डा.राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपद् सम्बन्धी सचेतना कार्यक्रमहरूलाई विशेष जोड दिनुपर्ने तथा क्षति न्यूनीकरण कसरी गर्ने भन्ने कुरामा पूर्व तयारी जरुरी रहेको बताए। उनले सशस्त्र प्रहरी बल नेपालले विद्यालय स्तरमा सञ्चालन गरेको सचेतनामूलक तालिम प्रभावकारी रहेको समेत बताए।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च शाहसले आम जनतामा सशस्त्र प्रहरी बलको उच्च मूल्याङ्कन रहेको बताउँदै विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक पार्टीहरूको संयुक्त प्रयासमा जोड दिए। 

सोही क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् जोखिमलाई प्राथमिकतामा राखेर विपद्मा लगानी र नीतिगत कार्य प्रभावकारी बनाउन जरुरी रहेको बताउँदै समुदायलाई समेत सचेत तथा सहभागी गराउँदा विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गरे।

उनले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद्बाट हुने धनजनको क्षति कम गर्न राजनैतिक दलको भूमिका समेत समुदाय स्तरमा महत्त्वपूर्ण हुने चर्चा गरे।

कार्यक्रममा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समेत समन्वय गरेर विपद् व्यवस्थापन कार्य गरिरहेको बताउँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।

यसै गरी नेपाल कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् न्यूनीकरणको लागि समुदाय स्तरमा दिइने स्वयंसेवक तालिम प्रभावकारी हुने, स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्न जरुरी रहेको तथा प्रत्येक वडामा कम्तीमा १ सय जना जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताए। उनले विपद् व्यवस्थापनको सूचना आदान प्रदान गरी सहकार्य र समन्वयका साथ कार्य गर्न आवश्यक रहेको र यसका लागि आफ्नो पार्टीबाट विपद् व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने समेत बताए।  

नेकपा एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्व सूचना महत्त्वपूर्ण हुने भएकोले पूर्व जानकारी दिन सकेमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताए। पूर्व सूचनामा केन्द्रित हुन जरुरी रहेको बताउनुहुँदै उहाँले विपद्पछि उद्धार कार्यमा पहिलो उद्धारक स्थानीय व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने हुँदा स्थानीय स्तरमा स्वयंसेवक उत्पादनको लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागत योग्य रहेको तथा विपद्मा सशस्त्र प्रहरी बल नेपाल पुगेपछि जनताले सुरक्षित महशुस गर्ने गरेको साथै जनतालाई जागृत र सचेत गराउन राजनैतिक दलको भूमिका पनि महत्त्वपूर्ण हुने कुरामा जोड दिए। 

प्रकाशित: १६ श्रावण २०८२ १७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App