शहरी विकास तथा भवन निर्माण विभागले ठेकेदार कम्पनीको लापरबाही तथा विभिन्न कारणले लामो समयदेखि काम हुन नसकेका ४२ वटा रुग्ण योजनाको ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ ।
विभागका अनुसार अहिलेसम्म ३७ वटा योजनाको ठेक्का तोड्न विभागअन्तर्गत विभिन्न आठ आयोजना कार्यालयहरूले ‘किन ठेक्का नताड्ने ? भन्ने सार्वजनिक सूचना निकालिसकेका छन् भने अन्य योजनाको हकमा विभागले प्रक्रिया अघि बढाएको छ ।
विभागका अनुसार चितवन, कास्की, धादिङ, कैलाली, रामेछाप आयोजना कार्यालयले एक/एक पटक र रुपन्देही आयोजना कार्यालयले दुई पटक सार्वजनिक सूचना निकालिसकेको छ ।
नियम अनुसार रुग्न ठेक्का तोड्नका लागि सुरुमा ‘किन ठेक्का नतोड्ने’ भनी सार्वजनिक सूचना निकाल्नुपर्छ । त्यसको १५ दिनभित्र ठेकेदारले स्पष्टीकरण दिनुपर्ने व्यवस्था कानुनमा छ । त्यसपछि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ्छ ।
विभाग मातहतको मोरङ आयोजना कार्यालय, विशेष भवन आयोजना तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले भने सुविस्ताको आधारमा रग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाएका छन् । ठेकेदार कम्पनी र सरकार दुबै पक्षले आपसी समझदारीको आधारमा तोड्ने ठेक्कालाई सुविस्ताको आधारमा ठेक्का तोड्ने गरिन्छ ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइले सिंहदरबारस्थित रेडियो नेपालको भवनको ठेक्का सुविस्ताको आधारमा तोड्न लागेको हो । यसैगरी केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको हिरण्य वर्ण महाविहार ललितपुरको भवन, विशेष भवन आयोजनाले ठेक्का लगाएको मन्त्री क्वाटर कम्पाउन्डको ठेक्का पनि तोड्न प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको पुल्चोकस्थित पुरानो मन्त्री क्वाटरको तीन वटा ब्लक भवनको ठेक्का पनि तोड्नका लागि प्रक्रिया अघि बढाएको छ ।
यसैगरी केन्द्रीय कारागार सुन्धारको भवन, पूर्वी रुकुमको सभा हल, ठूला शहरी कोरिडोर पूर्वाधार विकास कार्यालय घोराही, लमही र तुलसीपुरको भवन, पोखरास्थित प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी भवन विभागले काभ्रेको बनेपास्थित पुन्यमाता कोरिडोरको भवनको पनि ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ ।
रुग्ण ठेक्का तोड्न विभागले प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले ठेक्का लिने तर लामो समयसम्म काम नगर्ने, लापरबाही गर्ने, काम नगरे पनि पटक–पटक म्याद थप गर्ने, बिना तयारी योजना राख्ने लगायतका प्रवित्ति अन्य हुने भनाइ विभागका कर्मचारीहरूको छ ।
‘विभिन्न कारणबाट लामो समयदेखि निर्माण हुन नसकेका रुग्ण आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेका छौं । यसबाट निर्माण व्यवसायीले काम लिने तर समयमा काम नगर्ने प्रवृत्ति अन्त्य हुने छ भन्ने सकारात्मक सन्देश दिन्छ’, भवन विभागका महानिर्देशक रविन्द्र बोहराले भने, ‘रुग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाउँदा काम गराउन आयोजनाका कर्मचारी साथीहरूलाई पनि समयमा समयमा काम गर्न सकिन्छ भन्ने ऊर्जा आउँछ र नागरिकमा पनि समयमा काम हुन्छ भन्ने विश्वास पलाउँछ ।’
यसअघि सडक विभागले दर्जनौं ठाउँमा रुग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ । भवन विभाग स्रोतका अनुसार शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनमा भवन विभागले रुग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ ।
विभागमा हालै मात्र नेतृत्व फेरिएको छ । विभागको महानिर्देशका केही दिनअघि पदभार ग्रहण गरेका महानिर्देशक बोहराले अब आफू रफ्तारले अघि बढ्ने बताए । विभागले अहिले देशभरी रहेका विभिन्न योजना कार्यालयहरूलाई रुग्न ठेक्काको विषयमा विवरण तयार गर्न तथा काम भइरहेका योजनाहरूको तत्काल काम पूरा गर्न निर्देशन गरेको छ।
प्रकाशित: १ मंसिर २०८२ २०:१६ सोमबार





-1200x560-600x400.jpg)