३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रौतहट र सर्लाहीमा लगातार वर्षा, सतर्क रहन सम्बन्धित पक्षको अपील

रौतहट र सर्लाहीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ। पूर्वैया हावासहित लगातार वर्षा भइरहेकाले सतर्क र सावधान रहन सम्बन्धित निकायले सबैलाई अपील गरेको छ।  

जिल्ला प्रशासन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल रौतहट, जिल्ला प्रशासन कार्यालय सर्लाही, नेपाल रेडक्रस सोसाइटी रौतहट लगायतका सरोकारवाला निकायले सार्वजनिक अपील जारी गर्दै सम्भव भएसम्म सतर्क रहन सर्वसाधारणलाई अपील गरेका हुन्।

नदी र खोलाहरूमा जल सतह अनाचक बढ्न सक्ने भएकाले खोला किनारका मानिसहरूलाई विशेष सावधानी अपनाउन, खोला वारपार नगर्न तथा खोला किनारमा अन्य मानिसलाई बिनाकाम र बिनासावधानी नजान अनुरोध गरिएको छ।  

जिल्ला प्रशासन कार्यालय रौतहटका अधिकृत राम नरेश साहले सबैलाई सतर्क रहन र आवश्यक परे मात्र घरबाट बाहिर निस्कन अनुरोध गरिएको बताएका छन्।  

नेपाल रेडक्रस सोसाइटी रौतहटका मन्त्री धर्मेन्द्रकुमार सिंहले कम्तीमा दुई दिन मौसम निकै खराब रहने र भारी वर्षात हुने चेतावनी दिइएकाले सबैलाई सतर्क रहन अपील गरिएको जानकारी दिएका छन्।  

रौतहट र सर्लाहीमा लगातार वर्षा भइरहँदा बिहान १० बजेसम्म अवस्था सामान्य रहेको छ। बकैया, बागमती जस्ता ठुला नदीहरूमा पनि जलस्तर सामान्य रहेको छ तर सबै ठुला तथा साना नदी र खोलाहरूको जलस्तर बढ्न थालेको छ।  

दुईदेखि तीन दिनसम्म लगातार वर्षा हुने र बाढी आउन सक्ने चेतावनीले धान किसान भने चिन्तित बनेका छन्। गत वर्ष यसै गरी बाढी आउँदा छिटो पाक्ने धान बालीमा निकै नोक्सान पुर्याएको थियो। बाढीले धान डुबानमा पार्ने र हावाले फलेको धानलाई पानीमा ढाल्ने चिन्ता किसानहरूमा रहेको छ।

प्रकाशित: १८ आश्विन २०८२ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App