अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
नुवाकोटको रातमाटेमा बुधबार आयोजित शिलान्यास कार्यक्रममा नेपाल सरकार, अमेरिकी सरकार, एमसीसी, नेपाल विद्युत् प्राधिकरण, विकास साझेदार, निर्माण व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत संयुक्त राज्य अमेरिकाको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा विद्युत् प्रसारण तथा सडक स्तरोन्नति आयोजना सञ्चालन भइरहेको छ। विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।
शुभारम्भ गरिएको २९७ किलोमिटर प्रसारण लाइनमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन्।
आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रसारण प्रणाली सुदृढ हुने, प्रसारण अवरोध घट्ने तथा घरपरिवार र उद्योग व्यवसायका लागि विद्युत् आपूर्ति थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ। साथै क्षेत्रीय ऊर्जा व्यापारमा नेपालको सहभागिता विस्तार गर्न समेत यसले सहयोग पु¥याउने जनाइएको छ।
कार्यक्रममा अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र आर्थिक विकासका लागि प्रसारण पूर्वाधार सुदृढीकरण आवश्यक रहेको बताए।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले आयोजनाले नेपालको ऊर्जा भविष्यलाई मजबुत बनाउने र सीमापार विद्युत् व्यापारका सम्भावना विस्तार गर्ने बताए।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण प्रणालीको विस्तारले घरपरिवार, व्यवसाय र उद्योगका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत पुग्ने उल्लेख गरे। नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्माणाधीन पूर्वाधार राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार भएको बताए।
आयोजनाअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ।
त्यस्तै लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन आशिष–बोझ्लर संयुक्त उपक्रम, रातमाटे–न्यू दमौली लाइन एञ्जेलिक–स्किपर संयुक्त उपक्रम तथा न्यू दमौली–न्यू बुटवल लाइन वाइबा–सालसर संयुक्त उपक्रमले निर्माण गर्नेछन्।
निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज सबस्टेशनमध्ये पर्नेछन्। आयोजनाले दीर्घकालीन ऊर्जा माग व्यवस्थापन, विद्युत् प्रसारण क्षमता विस्तार तथा आर्थिक वृद्धिमा योगदान पु¥याउने विश्वास गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३ १७:२४ बुधबार





