२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्गमा सधैँ सास्ती

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बिहुँ खण्डमा बनेको दह । तस्विरः संगम/नागरिक । 

‘यो बाटोमा गाडी चलाउन थालेको १०÷१२वर्ष भयो, बर्खा लागे हिलो र हिउँदा लागे धूलो हुन्छ । सधैँ यस्तैमा दुःखसँग गाडी चलाएका छौँ ।’ यो भनाई हो बागलुङ—बुर्तिबाङ गाडी चलाउने सवारी चालकलोकबहादुर थापाको । उनको यो पीडा बागलुङ—बुर्तिबाङ सडक खण्ड अन्तर्गत बिहुँ घोडाबाँधे खण्डले दिएको सास्तीले दिएको हो । बागलुङ—बुर्तिबाङ सडक खण्ड निर्माण सुरु भएको झण्डै ३० वर्षबाट उकालो लागे पनि बागलुङ बिहुँ खण्डमा सवारी साधन र यात्रुले खेप्नुपर्ने सास्ती कत्ति पनि कम भएको छैन ।

ठेकेदारको लापरबाहीका कारण यस क्षेत्रका नागरिकले दुःख व्यहोर्दै आएका हुन् । पहिले एसियाली विकास बैंक एडिबीको सहयोग अन्तर्गत निर्माण थालिएको उक्त सडक २०६५ सालपछि मध्यपहाडी लोकमार्गको अवधारणा सुरु भएपछि लोकमार्ग अन्तर्गत निर्माणका कार्यहरू अगाडि बढेका थिए । बागलुङ जिल्लाभित्र झण्डै १४० किलोमिटर सडकमध्ये अधिकांश सडक कालोपत्र भैसकेको छ । तर बागलुङको बिहुँ खण्डमा करिब १०किलोमिटर जति सडक कालोपत्र नहुँदा यात्रुले दुःख पाएका छन् ।

‘सडक छिटो निर्माण गर्नुप¥यो भनेर बिहुँमा आन्दोलनमा पनि भएको थियो, अहिलेसम्मपनि बाटो उस्तै छ,’सवारी चालक थापाले भने,‘ बिहुँ खण्डमा रहेको सडकमा साह्रै दुःख हुन्छ । गाडी फसेर हैरान बनाउँछ ।’ सडकमा भएको हिलोको दलदलले साना सवारी साधनमा यात्रा गर्नेलाई निकै कष्टपूर्ण बनाउने गरेको उनको भनाई छ । अन्त बाटो राम्रो भएर सरर यात्रा गर्न सकिने भएपनि बिहुँमा निकै दुःख हुने गरेको सवारी चालक खेम पुन बताउँछन् । ‘अन्तत सबै राम्रो भइसक्यो यही बिहुँमा धेरै दुःख छ,’उनले भने,‘यो बाटो कहिले बन्ने हो ? केही थाहा छैन ।’  

उक्त खण्डमा पहिलो चरणको ठेक्का लागेको सूर्य कन्ट्रक्सनले पटक पटकम्यादथपगर्दा पनि काम पूरा नगरेपछि दुई वर्ष अगाडि ठेक्का तोडेर नयाँ टेन्डर गरिएको थियो । अहिलेको नयाँ निर्माण कम्पनीले पनि जाँगरसँग काम नगरेको स्थानीयको गुनासो छ । ‘खाल्टाखुल्टी र हिलो उस्तै छ, बर्खा लाग्दा हिलो र हिउँद लागे धूलो व्यहोर्नु हामीले परेको छ,’स्थानीय कृष्णप्रसाद कँडेल भन्छन्,‘यो सडकको काम छिटो होस् भनेर पटक पटक आग्रह गरेका छौँ, तर काममा ढिलासुस्ती भइरहेको छ ।’

कँडेलकै नेतृत्वमा दुई वर्ष अगाडि स्थानीय नागरिकले सडक नै अवरुद्ध गरेर आन्दोलन गरेका थिए । त्यसैको दबाबमा काम नगर्ने निर्माण व्यवसायी ठेक्का रद्द गर्ने कार्य पनि भएको थियो । अहिले नयाँ आएको निर्माण व्यवसायीले पनि तीव्रताका साथ काम नगरेको उनको ठम्याई छ । ‘अहिले समस्या भएको भनेको मुख्य गरी त्यही १० किलोमिटर जति सडक हो, त्यति काम निर्माण व्यवसायीले चाहेको खण्डमा दुई तीन महिनामै अधिकांश काम सकेर पिचका लागि तयार गर्न सक्ने अवस्था छ,’उनले भने,‘तर अहिले पनि यो काम प्राथमिकतामा देखिएको जस्तो लाग्दैन । दुईचार जना मजदुरले काम गरेको जस्तो गर्छन् फेरी केही दिनमा हराउँछन् ।’

बागलुङ—बिहुँअन्तर्गत जम्मा २६ किलोमिटरमध्ये १६ किलोमिटर जतिको काम पूरा भैसकेको छ । उक्त २६ किलोमिटरलाई दुई खण्डमा ठेक्का लगाइएको छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडा बाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । माथिल्लो खण्डको काम सूर्य कन्ट्रनले अगाडि नबढाएपछि ठेक्का तोडेर गत वर्ष मात्रै अर्को ठेक्का लगाइएको छ ।

तल्लो खण्डमा कालोपत्रका लागि तयार गरिएको केही भाग वर्षाका कारण अगाडि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर कल्पना मिश्रले बताइन् । ‘माथिल्लो खण्डको त गत वर्ष मात्रै ठेक्का लागेको हो, त्यसको काम गर्ने समय अझै बाँकी छ, तल्लो खण्डको म्याद सकिएको हो । काम गरिरहेको बेलामा वर्षा सुरुभएपछि केहीकालोपत्रगर्न तयार गरेको पनि हुन सकेन ।’ माथिल्लो खण्डमा पाँचौ पटक म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको थियो । तल्लो खण्डको पनि पाँचौ पटक म्याद थप भएको छ ।  

पुराना ठेक्का तोडिएपछि माथिल्लो खण्डको १३ किलोमिटर पूरा गर्ने जिम्मा दुई वर्ष भित्र पूरा गर्ने गरी २०८१ असार २१ गते तामाङ/रजिलभगवती जेभीसँग २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले एक वर्ष पूरा हुँदासम्म जम्मा १५ प्रतिशत भौतिक प्रगति गरेको इन्जिनियर मिश्रले बताइन् । तल्लो खण्डमा ८० प्रतिशत भौतिक प्रगति भएको छ । तल्लो खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत/सिद्धिसाइसँग दुई वर्षमा पूरा गर्ने गरी ४३ करोड ६५ लाखमा सम्झौता भएपनि अहिलेसम्म पूरा भएको छैन ।

अहिलेसम्म निर्माण कम्पनीले ३४ करोड बढी भुक्तानी लिइसकेको बताइएको छ । तल्लो खण्डको स्थानीय प्रतिनिधि राजु गौतमले बर्खाले काम रोकिएको र पानी रोकिदा बित्तिकै काम अगाडि बढ्ने बताए । ‘तल्लो खण्डको अब धेरै काम बाँकी छैन, केही त कालोपत्रेका लागि तयार भैसकेको थियो,’उनी भन्छन्,‘यसपालि वर्षा चाँडैबाट भयो त्यसले पनि काम पूरा गर्न दिएन । वर्षा रोकिएपछि काम अगाडि बढ्छ ।’ यो खण्डको पनि म्याद थपिएर आएको उनले जानकारी गराए ।

‘म्याद थपिएको छ, हामी काम सक्छौँ,’उनले भने । काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले सार्वजनिक खरिद ऐन नै निर्माण व्यवसायीको पक्षमा हुँदा समस्या भइरहेको बताए । ‘निर्माण व्यवसायीले जति बदमासी गरे पनि म्याद थपिने खालको सार्वजनिक खरिद ऐनले सुविधा दिएको छ,’उनी भन्छन्,‘हामीले यो सडक छिटो सक्नका लागि सहजीकरण गर्ने प्रयास गरेकै छौँ । तर निर्माण व्यवसायीले अटेर गर्ने काम भइरहेको छ ।’  

पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्लापार गर्दै सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमाजोड्छ । लोकमार्गले छुने जिल्लामध्ये सबैभन्दालामो दुरी मालढुङ्गादेखि पातीहाल्नेसम्म झण्डै १४० किलोमिटर बागलुङमा पर्छ ।  

प्रकाशित: ५ भाद्र २०८२ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App