नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। बिहान ८:३० बजे पार्टी कार्यालयमै केन्द्रीय कमिटीको आकस्मिक बैठब बस्नेछ।
क्यान्सरबाट पीडित श्रेष्ठ पछिल्लो समय उपचाररत थिए। नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय रहेका श्रेष्ठले स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका थिए। गतसाता मात्रै सभापति गगन थापाले एक सार्वजनिक कार्यक्रममा श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए।
श्रेष्ठले सरकारका विभिन्न महत्वपूर्ण जिम्मेवारीसमेत सम्हालेका थिए। उनी भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्री बनेका थिए। साथै, उनले उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए।
२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने क्रममा पनि श्रेष्ठले सक्रिय भूमिका खेलेका थिए। कांग्रेस राजनीतिमा लामो समय योगदान दिएका श्रेष्ठको निधनले पार्टी तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको कांग्रेस नेताहरूले बताएका छन्।
श्रेष्ठका तीन छोरा र छ छोरी छन्।
प्रकाशित: १२ श्रावण २०८३ १५:३४ मंगलबार


-600x400.jpg)


