काठमाडौं उपत्यका प्रहरी कार्यालयले लागुऔषध दुरुपयोगरहित घर बनाउने उद्देश्यले लागुऔषधविरुद्ध अभियान चलाएको छ।
घरघरमा सचेतना फैलाउन यो अभियान चलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामांगले जानकारी दिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा सञ्चालित लागुऔषधविरुद्धको अभियानअन्तर्गत नागार्जुन नगरपालिकाको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको सहकार्यमा आज नागार्जुनमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।
यो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामांग र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीबिच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारी भएको छ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामांगले लागुऔषध नियन्त्रण र न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागुऔषधरहित समाज बनाउन प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायले आपसी समन्वय, सहकार्य र दायित्वबोध गरी अगाडि बढ्नुपर्ने बताए।
उपत्यका प्रहरीले तीन जिल्लामा लागुऔषधविरुद्ध खोजी अभियान र सचेतनामूलक अभियान जारी राखेको छ। कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले यो कार्यक्रमले लागुऔषध नियन्त्रण र न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष प्रताप दानीले अभियानमा सबैको सहकार्य जरुरी रहेको बताए। रासस
प्रकाशित: १४ श्रावण २०८२ २१:५९ बुधबार





