जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वन मार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ। सामुदायिक वनले सामाजिक उत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र आत्मनिर्भरता एकैसाथ अगाडि बढिरहेका छन्।
सामुदायिक वनले केवल हरियाली मात्रै होइन, आर्थिक सबलीकरण, पूर्वाधार निर्माण, रोजगारी सृजना र सामाजिक सेवाका विविध योजना पनि गाउँसम्म पु¥याउँदै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशव खड्काले बताए।
नगरपालिकाका विभिन्न सामुदायिक वन सडक निर्माणदेखि विद्यालय, सिँचाइ कुलो, विजुलीको व्यवस्था, घाटगद्दी, अर्गानिक मल उत्पादन जस्ता काममा जुटिरहेका छन्। सामुदायिक वनले विकास निर्माणका क्षेत्रमै नभई रोजगारी सिर्जना समेतमा ठूलो योगदान दिएका छन्।
शितगङ्गा नगरपालिकाअन्तर्गतका सामुदायिक वनहरूले आफ्नै आम्दानीबाट सडक, सिँचाइ, विद्यालय भवन, विजुली, मल उत्पादन, घाट गद्दी, तटबन्ध जस्ता आधारभूत पूर्वाधार निर्माण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए।
यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले छ करोड ३९ लाख ५० हजार ७३९ रूपैयाँ आम्दानी गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार काठ दाउरा बिक्रीबाट सामुदायिक वनले छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी भएको छ। वनको आम्दानीको रकम ७५ प्रतिशत वनमा आबद्व समूहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने प्रावधान छ।
मजुरेडाँडा सामुदायिक वन (शितगङ्गा-१२ पत्थरकोट) ले स्थानीय सरकारसँग सहकार्य गरी २५ लाख रूपैयाँको लागतमा सडक कालोपत्रे गरेको छ। सामुदायिक वनबाट १५ लाख र नगरपालिकाबाट १० लाख गरी २५ लाख रूपैयाँमा सडक कालोपत्रे गरेको सामुदायिक वनका अध्यक्ष प्रदिप विसीले बताए।
उनी भन्छन्, “वन संरक्षणले मात्र होइन, आर्थिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वले समुदायलाई आत्मनिर्भर बनाउँछ।“
त्यस्तै धिरेखोला सामुदायिक वन (शितगङ्गा–१३)ले गाउँमा विजुलीदेखि सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण साथै आधुनिक कृषि प्रवर्द्धनका लागि विभिन्न उपकरण वितरण गरेको छ।
अध्यक्ष नारायण पौडेल भन्छन्, “सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तार लगायतका कार्य भएका छन्।’
सडक निर्माण तथा मर्मत गर्ने कार्यमा झन्डै २० लाख रूपैयाँ खर्च भएको छ। गोरुसिङ्गे सन्धिखर्क सडकको डोहोटेबाट भङ्गाला गाउँमा जान सहज भएको छ। भङ्गाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन्।
झन्डै ६० लाखको लगानीमा भङ्गाला सिँचाइ योजना पूरा भएपछि ५५ बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइले अन्नबाली मात्र हैन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको छ।
कपिलवस्तु जिल्लाबाट १८ लाख रूपैयाँ खर्च गरेर गाउँमा बिजुली बत्ति पनि बालिएको छ। गाउँ अहिले झिलिमिली भएको छ। गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि १२ लाख रूपैयाँको लागतमा पाँचकोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको छ। खानेपानी मर्मतमा वार्षिक ३० हजार रूपैयाँ खर्च हुन्छ। गाउँमा भगवती मन्दिर सात लाखको लागतमा निर्माण गरिएको छ।
उपभोक्ताको आयआर्जन बढाउन तरकारी खेती गर्ने, गाई/भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन गर्ने कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको छ। भैँसीपालनका लागि ७० हजार रूपैयाँ ऋण लिएका कृषक वसन्तप्रसाद भुसालले भने, ‘‘भैँसीपालन गरेर दूध बेचेर आम्दानी गरिरहेको छु।”
कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्न चाप कटहर वितरण गरेको छ। बिउका लागि बोका पनि वितरण गरेको छ। रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका युवाहरू गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन्।
शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ। यस पहलले गाउँमा अर्गानिक खेतीको विस्तारसँगै डढेलो नियन्त्रण र रोजगारी सिर्जनाको वैकल्पिक बाटो खोलिदिएको शितगङ्गा–१४ का वडाध्यक्ष दामोदर न्यौपानेले बताए।
डिभिजन वन कार्यालयको सहकार्यमा उक्त मल उत्पादन कार्यक्रमले अन्य सामुदायिक वनलाई पनि आकर्षण गरेको छ। अर्गानिक मलले स्थानीय कृषिमा नयाँ आशा पलाएको छ। आफ्नो मात्र हैन नजिकैका अन्य चार सामुदायिक वनसमेतको पातपतिङ्गर जम्मा गरी प्राङ्गारिक मल उत्पादनमा गरिएपछि जङ्गलमा डढेलो नियन्त्रण भएको छ।
डोहोटे सामुदायिक वन उपभोक्ता समूह (शितगङ्गा–१२)ले विद्यालयमा शिक्षकको तलब व्यवस्था, शौचालय निर्माण, सडक निर्माण तथा आयआर्जन वृद्धि गर्न सदस्यलाई बाख्रा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ।
समूहका अध्यक्ष रेशमराज बन्जाडेले भने, “हामीले विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठ प्रयोग गरे सामुदायिक वनको काठ बिक्री समस्याको समाधान हुन्छ।”
उनका अनुसार रोजगार सिर्जना भएपछि वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले गाउँमै स्थायी रूपमा बसेर काम गर्न थालेका छन्। बुद्ध सामुदायिक बन शितगङ्गा–१४ ले स्थानीयलाई रोजगारी दिएको छ। सामुदायिक वन सिँचाइ कुलो, सडक निर्माण, खोलाको कटान नियन्त्रण, पहिरो रोकथाम र घाटगड्डी व्यवस्थापनमा सक्रिय छ।
गैडे सामुदायिक वन (शितगङ्गा–११) घाटगड्डी व्यवस्थापन, तटबन्ध निर्माण लगायतका कार्यमा संलग्न छ। यसले बाढी नियन्त्रण, जमिन कटान जोगाउने, स्थानीय संरचना जोगाउनेजस्ता अनुकरणीय काम गरेको वडाध्यक्ष नवराज भुसालको भनाइ छ।
घौवा महिला सामुदायिक वन समूह शितगङ्गाले समूहको आयबाट विभिन्न गरिबी न्यूनीकरणअन्तर्गत हातेट्याक्टर र पानी तान्ने पम्प वितरण गरेको छ। समूहका १५ जना विपन्नलाई ७० प्रतिशत समूहको अनुदानमा हातेट्याक्टर वितरण तथा चार जनालाई पानी तान्ने पम्प वितरण गरिएको हो। हातेट्याक्टर र पानी तान्ने पम्प पाएपछि स्थानीयहरु पनि खुशी भएका छन्।
अर्घाखाँचीका सामुदायिक वनहरूले देखाएको प्रयास केवल वन संरक्षणमा सीमित छैन, यो सम्पूर्ण गाउँको सामाजिक रूपान्तरणको अभियान हो। सामुदायिक वनहरूको आम्दानीबाट गाउँको पूर्वाधार निर्माण, कृषि यान्त्रीकरण, शिक्षामा लगानी, रोजगारी सिर्जना र वातावरण संरक्षणजस्ता काम सम्भव भएका छन्। सामुदायिक वन मात्र वन संरक्षणको यन्त्र नभई ग्रामीण विकासको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ भन्ने तथ्य यहाँका सामुदायिक वनहरुले पुष्टि गरेका छन्।
प्रकाशित: १२ भाद्र २०८२ १४:०६ बिहीबार





