अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माण नै नगरी कागजपत्र मिलाएर २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू, इन्जिनियर, लेखापाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेमा भवन निर्माणको रकम हिनामिना भएको उजुरीमाथि अनुसन्धान गर्दा अख्तियारले उक्त भ्रष्टाचारको तथ्य फेला पारेको हो।
उनीहरूमाथि नभएको कामलाई भएको भनी झुट्टा प्राविधिक मूल्याङ्कन र बिल भरपाई बनाएर सरकारी रकम निकासा गरी भ्रष्टाचार गरेको आरोप छ।
अख्तियारका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा उक्त विद्यालयमा चारकोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ र २५ प्रतिशत जनश्रमदानसहित कुल ३० लाख रुपैयाँको लागतमा सम्झौता भएको थियो।
तर, अख्तियारको स्थलगत अनुसन्धान तथा प्राविधिक प्रतिवेदनले फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँ बराबरको मात्र काम भएको देखाएको छ।
काम अत्यन्तै न्यून भए पनि मिलेमतोमा झुट्टा र गलत प्रगति विवरण तयार पारी पटक-पटक गरी जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ नै निकासा गराइएको थियो।
‘भवन निर्माणको काम नै नभएको अवस्थामा समेत राष्ट्रसेवक तथा संलग्न अन्य व्यक्तिहरूको आपसी मिलेमतोमा आफूहरूलाई लाभ र नेपाल सरकार तथा विद्यालयलाई गैरकानूनी हानी पुर्याउने बदनियतले झुट्टा कागजात पेस गरी/गराई भुक्तानी दिएको/दिलाएको तथ्य स्थापित भएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू डा. गणेश प्रसाद भट्टराई (१० लाख बिगो), केशव प्रसाद दाहाल (१४ लाख बिगो) र ज्ञानमणि नेपाल (१४ लाख बिगो) विरुद्ध मुद्दा दायर गरेको छ।
त्यसैगरी, जिल्ला शिक्षा कार्यालयकै तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य (१० लाख बिगो), लेखापाल सुरेश कुमार श्रेष्ठ (२४ लाख बिगो) र सब-इन्जिनियर शिवराज राई (२४ लाख बिगो) विरुद्ध पनि आरोपपत्र दायर भएको छ।
सब-इन्जिनियर राईलाई गलत कार्यसम्पन्न प्रतिवेदन बनाएकोमा थप कारबाहीको माग गरिएको छ।
यता, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल (८ लाख बिगो) र शेष कुमार पौड्याल (८ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) तथा तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्र प्रसाद दाहाल (८ लाख बिगो), ऋषिराम पोखरेल (८ लाख बिगो) र नयन कुमार राई (५ लाख १२० रुपैयाँ हिनामिना) लाई पनि प्रतिवादी बनाइएको छ।
विद्यालयकी तत्कालीन लेखापाल सीता कार्की (१६ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) र भवन निर्माणको जिम्मेवारी पाएका अर्जुन तामाङ (१६ लाख बिगो) लाई पनि मतियारको कसुरमा मुद्दा दायर गरिएको छ।
अख्तियारले सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ।
प्रकाशित: १५ भाद्र २०८२ १७:०५ आइतबार





