२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

सगरमाथाको भविष्यप्रति आरोही चिन्तित

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेन्जिङ शेर्पाका आँखा चिसिने गर्छन्।

स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हो कि भन्ने चिन्ता पनि उनलाई छ।

उनी भन्छन्, ‘पहिले आधार शिविरबाट पाँच मिनेट हिँड्दा हिउँको ढिक्का भेटिन्थ्यो तर अहिले डेढ घण्टा पनि हिउँ भेट्न गाह्रो छ, यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर मान्न सकिन्छ।’

आरोहणका लागि विश्वभरबाट आउने पर्वतारोहीले अहिले सगरमाथाको बदलिँदो स्वरूप प्रत्यक्ष रूपमा अनुभव गरिरहेको उनको भनाइ छ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल हिमाल होइन, साहस, चुनौती र प्राकृतिक सौन्दर्यको प्रतीक पनि हो,’ उनी भन्छन्, ‘त्यसकारण यसको संरक्षणमा जुट्नु सबैको सरोकारको विषय हो।’

पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदीहरू पग्लिने गति बढ्नु, हिउँ पर्ने समय र मात्रा परिवर्तन हुनु तथा वर्षाको ढाँचा बद्लिने क्रम तीव्र रूपमा देखिएको आरोहीहरूको भनाइ छ।

हिमालय क्षेत्रलाई जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशील क्षेत्रका रूपमा लिने गरिन्छ। हिउँले ढाकिएको मार्गमा अहिले धेरै स्थानमा नांगा चट्टान पार गर्नुपर्ने अवस्था आएको उनी सुनाउँछन्।

एक समय बाक्लो हिउँले ढाकिएका क्षेत्रमा अहिले चट्टान र बरफका पुराना तहहरू देखिन थालेपछि कतिपय पर्वतारोही आगामी दिनमा नेपालमा आउने सम्भावना कम हुने हो कि भन्ने चिन्तामा फुर्वा देखिन्छन्।

दोलखाको रोल्वालिङमा सन् १९८८ मा जन्मेका अनुभवी पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले १८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पाइला राखेका छन्।

१४ वर्षको उमेरमा भरियाको कामबाट हिमाल जान थालेका शेर्पाले सन् २००७ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए।

उनले यसअघि मनास्लु, आबादब्लमलगायत हिमालमा पाइला राखिसकेका छन्। सगरमाथा क्षेत्रमा हिउँको कमी हुनु दृश्य परिवर्तनको विषय मात्र होइन, यसले आरोहणको जोखिम, हिमाली पारिस्थितिक प्रणाली, जलस्रोत तथा स्थानीय समुदायको जीवनमा प्रभाव पार्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ।

यही कारणले पछिल्ला वर्षमा हिउँबिनाको सगरमाथा हुने हो कि भन्ने चिन्ता बढेको हो।

केही दशकअघिसम्म मौसम अपेक्षाकृत स्थिर रहँदै आएकामा अहिले भने मौसममा तीव्र उतारचढाव आउने गरेको छ। बिहान सामान्य देखिएको मौसम केही घण्टामै खराब हुने गर्छ।

शेर्पा भन्छन्, ‘सगरमाथाको मार्ग पहिलेभन्दा धेरै परिवर्तन भएको छ। विगतमा हिउँले ढाकिएका भागहरू अहिले खुला चट्टानमा परिणत हुँदै गएका छन्। यसले आरोहणलाई झन् कठिन र जोखिमपूर्ण बनाएको छ।’

विशेषगरी खुम्बु आइसफल क्षेत्रमा बरफको संरचना अस्थिर बन्दै गएकाले भविष्यमा आरोहणमा थप चुनौती थपिन सक्ने देखिन्छ। हिउँको कमीका कारण बरफ छिटो पग्लिने र चिरा तथा दरार थप खुल्ने समस्या देखिएको उनको भनाइ छ।

जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या छँदै छ, त्योभन्दा पनि फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको उनी बताउँछन्।

फुर्वा सगरमाथाको क्याम्प २ सम्म फोहर व्यवस्थापन केही हदसम्म प्रभावकारी देखिए पनि क्याम्प ३ र क्याम्प ४ मा अवस्था अझै चिन्ताजनक रहेको बताउँछन्।

‘क्याम्प ४ बाट फोहर तल झार्न निकै गाह्रो छ। आरोहीहरू आफ्नो ज्यान जोगाउनु कि फोहार बोक्नु भन्ने अवस्थामा पुग्छन्,’ उनी भन्छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले फोहर व्यवस्थापनका लागि प्रयास गरिरहेको भए पनि माथिल्लो क्षेत्रमा थुप्रिएका पुराना पाल, अक्सिजन सिलिन्डर र अन्य फोहर हटाउन अझै ठुलो चुनौती रहेको शेर्पा बताउँछन्।

गत मे २० मा एक चिनियाँ नागरिकलाई लिएर सगरमाथाको सफल आरोहण गरेर फर्केका शेर्पा हरेक वर्ष यो समस्या थपिँदै गएको बताउँछन्।

यसपटक सगरमाथामा विश्वका ५६ देशका चार सय ९५ आरोहीले अनुमति लिएका थिए भने एक हजारभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए। हिमालको प्राकृतिक सौन्दर्य र सुरक्षा कायम राख्न सरकार र सरोकारवाला निकायले समयमै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको उनको सुझाव छ।

यति मात्र होइन, दक्ष शेर्पाहरूको विदेश पलायन र आरोही कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धाले पनि भविष्यमा आरोहीहरूको संख्यामा प्रभाव पर्न सक्ने सम्भावनालाई नकार्न नसकिने उनी बताउँछन्।

अनुभवी र दक्ष शेर्पाहरू राम्रो अवसरको खोजीमा विदेश पलायन हुने क्रम बढेको छ। हाल संखुवासभाको मकालु, सोलुखुम्बु र दोलखाको रोल्वालिङ क्षेत्रका शेर्पा आरोहणमा सक्रिय भए पनि दक्ष जनशक्तिको अभाव खड्किएको उनको भनाइ छ।

विश्वमै साहसी पथप्रदर्शकको परिचय बनाएका नेपाली शेर्पाहरूले असाधारण क्षमताका साथ कठिन चुनौती बेहोर्दै आइरहेका छन्। पर्वतारोहणका सिलसिलामा ज्यानसमेत जान सक्ने जोखिमबारे जानकार हुँदाहुँदै पनि उनीहरूले विश्वका विभिन्न मुलुकका पर्वतारोहीले सपना पूरा गर्न नेतृत्वदायी भूमिका खेल्दै आइरहेका छन्।

हिमाल चढ्ने काम खतराजनक भए पनि कीर्तिमानी आरोहीलाई नेपालमा खासै सम्मान तथा सुविधा नहुँदा उनीहरूको विदेश पलायन हुने क्रम रोक्न सरकारले नै नीतिगत रूपमा निर्णय लिएर कीर्तिमानीहरूको सम्मानका लागि अग्रसरता लिनु जरुरी भएको पर्यटनमा कलम चलाउँदै आएका पत्रकार राजु सिलवाल बताउँछन्।

यस्तै, हिमाल आरोहण गराउने कम्पनीबिचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सेवाको गुणस्तर र सुरक्षामा प्रश्न उठेको छ। पहिले आरोहणका लागि ५० हजार डलरसम्म लाग्ने गरेकामा अहिले प्रतिस्पर्धाका कारण २०–२५ हजार डलरमै टोलीहरू लैजाने गरिएको उनी बताउँछन्।

यसले गर्दा अनुभवी शेर्पाको सट्टा कम अनुभवी व्यक्तिहरू परिचालन हुने जोखिम बढेको उनको भनाइ छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विभिन्न अनुसन्धान संस्थाले संकलन गरेका हिमनदीको अवस्था, हिउँको मात्रा तथा तापक्रम परिवर्तनसम्बन्धी तथ्यांकका आधारमा नेपाल सरकारले पनि अध्ययन र निगरानी बढाउनुपर्ने नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र लामा बताउँछन्।

यस्ता अध्ययनले भविष्यका जोखिम मूल्यांकन र नीतिगत योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

जलवायु परिवर्तनको प्रभाव कम गर्न विश्वव्यापी स्तरमा हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयाससँगै स्थानीय स्तरमा पनि हिमाली वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा दिगो पर्यटनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा लामाको जोड छ।

सगरमाथामा आरोहण गर्न आउने अधिकांश विदेशी पर्वतारोहीले हिउँको कमीलाई प्रत्यक्ष देखेको अनुभव सुनाउने गरेका छन्।

कतिपयले आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म पुग्ने क्रममा अपेक्षाभन्दा कम हिउँ देखिएको भन्दै कतिपय आरोहीहरूले आफूसँग चासो देखाएको फुर्वा बताउँछन्।

केही स्थानमा दशकअघिको तुलनामा उल्लेखनीय परिवर्तन देखिएको उनको आफ्नै अनुभव पनि छ। सगरमाथाको भूदृश्य नै बदलिँदै जाने गरी आएको परिवर्तनलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ।

सगरमाथा लगायत नेपालमा रहेका हिमालमा आउने परिवर्तनले पर्वतारोहीको आगमनमा कमी ल्याउने मात्र होइन, यसले आर्थिक पक्षलाई नराम्ररी प्रभावित गर्छ। नेपालको महत्वपूर्ण आयस्रोतका रुपमा रहेको हिमालमा पर्यटकमा आउने ह्रासले स्थानीयवासीको रोजीरोटीमा असर पार्नुका साथै मुलुककै अर्थतन्त्रमा समस्या आउन सक्छ।

यसै वर्ष नेपालले सगरमाथाबाट रोयल्टीबापत एक अर्ब आठ करोड १० लाख ७२५ समेत गरी कुल ३१ हिमालबाट एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ प्राप्त गरेको थियो। यस वर्ष ६ हजार ५०० मिटरभन्दा अग्ला हिमालको आरोहणका लागि ७९ देशका एक हजार १९५ आरोहीले अनुमति लिएका थिए।

परिवार नै सगरमाथा शिखरमा

छिरिङ नोर्बु शेर्पा र किमजुङ शेर्पाका छोरा फुर्वा तेन्जिङका ६ दाजुभाइ तथा दुई दिदीबहिनीले सगरमाथाको आरोहण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन्।

तेन्जिङका जेठो दाजु पेम्बा ग्याल्जेन शेर्पा, माहिलो दाजु फुर्वा थुन्डु शेर्पा, साइँलो दाजु पेम्बा दोर्जी शेर्पा, काइँलो दाजु निमा ग्याल्जेन शेर्पा, कान्छो भाई फुर्वा खिले शेर्पा, दिदी दावा दिकी शेर्पा र बहिनी निमा ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

एउटै सिजनमा उनीका परिवारका चार सदस्यले सगरमाथा आरोहण गरेर अर्को विश्व रेकर्डसमेत बनाएको छ। हिमाल आरोहणकै क्रममा उनीको माइलो दाजु फुर्वा थुन्डु शेर्पाको मृत्यु भयो।

सन् २००७ देखि अनवरत रूपमा हिमाल चढ्दै आउनुभएका फुर्वा तेन्जिङले सन् २००८ र सन् २०१७ मा वर्षको दुईपटक सगरमाथा आरोहण गरेको छ।

आरोहणसँगै फुर्वाले सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान पुर्‍याउँदै आएका छन्। गोरखा भूकम्पपछि उनकै नेतृत्वमा सञ्चालित ‘वी विल राइज फाउन्डेसन’ले नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान महत्र्वपूर्ण छ।

सन् २०१५ को भूकम्पपछि स्थापना भएको यस फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामार्फत स्थानीय पर्यटनलाई उजागर गर्दै आएको छ।

साथै, हङकङ र बेलायतमा ‘हाइक फर नेपाल’ जस्ता कार्यक्रम आयोजना गरी विश्वभर नेपालको पर्यटनको सन्देश फैलाएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ २१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App