दुई पक्षीय युवा समूहबिच सुनसरी देवानगञ्ज वडा नं. २ मा मंगलबार राति भएको झडपमा दुई जना घाइते भएका छन्।
आइतबार भएको विवादले उग्र रुप लिएर देवानगञ्जको वडा नं. ३ कप्तानगञ्जमा हिंसात्मक घटनापछि उत्पन्न परिस्थितीलाई साम्य पार्न प्रयास भइरहेका बेला दोस्रोपटक मंगलबार दुई पक्षीय आक्रण भएको हो।
सो क्रममा देवानगञ्ज वडा नं २ का ४८ वर्षे रिजमान अन्सारी र ४७ वर्षे आलम अन्सारी घाइते भएका हुन्।
घाइतेमध्ये रिजवानको खुट्टा भाचिएको छ भने टाउँकोमा चोट लागेको छ। आलमको टाउँकोमा चोट लागेको र शरीरका विभिन्न भागमा लाठी लागेर चोटपटक लागेको मुस्लिम अगुवा रफुल अन्सारीले बताए।
उनका अनुसार घाइते दुवैको प्राइम अस्पताल विराटनगरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले घाइते भएको जानकारी प्राप्त भएपनि विस्तृत विवरण आइ नसकेको बताए।
आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
सो घटनामा कम्तीमा २१ जना घाइते थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ। घटनापछि स्थिती दिनदिनै थप तनाबग्रस्त बन्दै गएको छ।
*हेडलाईन सच्याइएको - सम्पादक ।
प्रकाशित: १३ श्रावण २०८३ १३:०८ बुधबार





