धनुषामा भारतबाट अवैध रूपमा सामान तस्करी गर्ने समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ।
तस्करीको सामान नियन्त्रणमा लिने क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो।
घटना जिल्लाको विदेह नगरपालिका–२, दुहबीस्थित आँप बगैंचामा बुधबार साँझ करिब सवा ८ बजे भएको हो। सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म महिनापुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोजेको थियो।
सोही क्रममा तस्कर र स्थानीय बासिन्दाहरूको समूह जम्मा भई सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि तनावको स्थिति सिर्जना भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआर राइफलबाट ४ राउन्ड हवाई फायर गरेको जनाएको छ।
झडपका क्रममा तस्करहरूले केही सामान लुकाउन सफल भएका छन्। प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल र केही किराना सामान बरामद गरेको छ।
बरामद गरिएका सामान तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २१ श्रावण २०८२ २२:१२ बुधबार





