काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देशको विकास सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सम्भव नहुने बताएका छन्।
२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास भएको भनेका छन्।
मेयर साहले भौगोलिक भू–बनोटसँगै नेपालजस्तो विविधतायुक्त समाजलाई माथि उठाएर सबैको भूमिका हुने बताएका छन्। ‘राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो। त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो,' उनले लेखेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछिको आफ्नो विगतको अनुभव सुनाउँदै सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरिएको र त्यसपछि गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको बताएका छन्। ‘आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ,’ उनले लेखेका छन्।
काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिइएको भन्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जनताको सुविधाका लागि काम गर्न सकिने बताए।
पारदर्शी प्रणाली, संरचनागत सुधार र नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवाको सुरुवात महानगरबाट भएको भन्दै ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताए।
प्रकाशित: २ माघ २०८२ ०९:०२ शुक्रबार





