५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

वर र वधू सिँगारेर मण्डपसँगै सजाएको

मुक्तक

१) मुक्तक

रगत पनि रातो हजुर सिन्दुर पनि रातो

रगतभन्दा सिन्दुरको नै नजिक रैछ नातो

आमा टाढा पत्नी नजिक पार्न बाध्य हुँदा

अभागी यो पुरुषको टाउकोमा जाँतो।

२) मुक्तक

दिसापिसाब लागेपछि ओछ्यानबाट उठ्छन् कोही,

अन्धकारै भागेपछि ओछ्यानबाट छुट्छन् कोही

सुताइको महत्त्व के राम्रोसँग बुझ्नेहरू

भोकतिर्खा धेर लागेपछि ओछ्यानबाट उठ्छन् कोही।

३) मुक्तक

पापी नाम्लोमाथि चढी मेरो गिदी छाम्यो

डोकाले झन् ढाडदेखि मुटुसम्म डाम्यो

हत्केलाका भाग्यरेखा ठेला फुट्दा हटे,

ऊर्जा यसै सिद्धिएर बूढो शरीर काम्यो।

४) मुक्तक

राम्रो लाग्छ विवाहमा पञ्चैबाजा बजाएको,

वर र वधू सिँगारेर मण्डपसँगै सजाएको,

समयको परिवर्तन यसमा पनि देखेँ थोरै

वधूभन्दा अझ धेरै वरचाहिं लजाएको।

५) मुक्तक

साइत गर्दा बिरालोले बाटो छेक्नु हुन्न किन,

जुत्ताचप्पल लगाएर मन्दिर टेक्नु हुन्न किन

सत्यता नै छ कि केही रूढिवादी परम्परा

डाक्टरले नि पुर्जाभित्र स्पष्ट लेख्नु हुन्न किन?

प्रकाशित: २ फाल्गुन २०८२ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App