५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

विराटनगरमा सिटी सफारी चलाकलाई ‘सुरक्षित चालक’ को पोसाक

सडकमा जथाभावी गुड्ने सिटी सफारीका कारण बढ्दो दुर्घटना र ट्राफिक जामलाई व्यवस्थित गर्न कोशी प्रदेशको राजधानी विराटनगरबाट ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको छ।

अभियान अन्तर्गत सोमबार सवारी चालक अनुमतिपत्र प्राप्त ५ सय जना सफारी चालकलाई ‘सुरक्षित चालक’ अंकित पोसाक वितरण गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारीलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले यो अभियान थालेको हो।

अभियानको सुरुवात गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले यसलाई क्रमशः प्रदेशभर विस्तार गरिने जानकारी दिए।

अब विराटनगरमा गुड्ने सिटी सफारी चालकहरू ‘सुरक्षित चालक’ को स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। वितरण गरिएको ज्याकेटको पछाडि स्पष्ट देखिने गरी ‘कोड नम्बर’ राखिएको छ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार अब यात्रुले चालकको नाम वा सफारी नम्बर सम्झिरहनु पर्ने छैन। चालकले लगाएको ज्याकेटको नम्बर टिपोट गरेर सोही आधारमा ट्राफिक प्रहरीलाई गुनासो, उजुरी वा सुझाव दिन सकिनेछ।

‘नेपालमै पहिलोपटक हामीले कम्प्युटर प्रणालीमार्फत सिटी सफारी चालकको डिजिटल अभिलेख तयार पारेका छौं,’ इन्स्पेक्टर न्यौपानेले भने, ‘दर्ता हुनुअघि चालकले अनिवार्य रूपमा ट्राफिक नियम र सुरक्षित सवारी सञ्चालनसम्बन्धी अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था समेत गरिएको छ।’

कार्यक्रममा डिआइजी घिमिरेले पोसाक वितरण गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं जिम्मेवार र अनुशासित हुनुपर्नेमा जोड दिए। उनले नियमअनुसार लाइसेन्स लिएर सवारी सञ्चालन गर्ने चालक नै वास्तविक अर्थमा सुरक्षित चालक हुने बताए।

‘जसरी प्रहरीलाई बर्दीले अनुशासनको स्मरण गराउँछ, त्यसैगरी सुरक्षित चालकको ज्याकेटले चालकलाई नियमभित्र राख्ने, मर्यादा र जिम्मेवारीको बोध गराउने छ,’ डिआइजी घिमिरेले भने।

उनले पोसाक प्राप्त गर्ने चालकहरूलाई अमर्यादित र गैरकानुनी गतिविधिमा संलग्न नहुन समेत आग्रह गरे।

विराटनगर भारतीय सीमा नजिक भएकाले भारतीय नागरिकहरूले अवैध रूपमा सिटी सफारी सञ्चालन गर्ने समस्या लामो समयदेखि थियो । यो अभियानमा सफारी दर्ताका लागि नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएकाले अब त्यस्तो समस्या अन्त्य हुने ट्राफिक प्रहरीको विश्वास छ।

अधिकांश सफारी चालक कम पढेलेखेका वा निरक्षर हुने भएकाले लिखित परीक्षा पास गर्न नसक्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले ट्रायल मात्र दिएर लाइसेन्स प्राप्त गर्न सकिने व्यवस्था गरेपछि लाइसेन्स लिनेको सङ्ख्या बढेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले सडक प्रयोगकर्ताप्रति समान व्यवहार गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले चालकहरूलाई ज्याकेट हस्तान्तरण गरेका थिए।

प्रकाशित: २६ माघ २०८२ २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App