नेपाली सेनाले तीन किसिमले गस्ती सुरु गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली सेनाको टोलीले पैदल, मोटरसाइकल र गाडीमा गस्ती थालेको हो ।
फागुन २१ का लागि उम्मेदवारहरुले दलबलसहित घरदैलो अभियान थालेसँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती बढाएका छन् । तीनै सुरक्षा निकायले संयुक्त तथा एक्लाएक्लै गस्ती थालेपछि रौतहटमा चुनावको माहोल नयाँ किसिमले बनेको छ ।
सडकमा नेपाली सेनाको गस्ती देखा पर्न थालेपछि मतदाता तथा सर्वसाधारणमा पनि आत्मविश्वास बढेको छ ।
रौतहट सदरमुकाम गौरस्थित नारायणद दल गण पुरेनवाले रौतहटको चारवटै निर्वाचन क्षेत्रमा मेजर ९सेनानी० को कमाण्डमा एक एक गुल्म फौज परिचालन भएको छ । एक गुल्ममा ११० जना सैनिक रहने व्यवस्था रहेको जनाइएको छ ।
जनस्तरमा निर्वाचन गतिविधि बढेको र सुरक्षा चुनौती पनि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दिन–रात गस्ती सञ्चालन गर्न थालेको छ ।
सेनाले अति संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने, आवश्यक परे अन्य सुरक्षा निकायलाई सहयोग गर्ने, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षा मजबुत पार्ने कार्य गर्ने नेपाली सेनाले जनाएको छ । मतदान प्रक्रिया सम्पन्न भई अन्तिम मतपरिणाम घोषणा नभएसम्म सेना आफ्नो कार्यक्षेत्रमै रहने बताइएको छ ।
नेपाली सेनासँगै अन्य सुरक्षा निकायले नियमित गस्ती गर्न थालेसँगै सर्वसाधारणमा सुरक्षाको भावना बढेको छ । निर्वाचनको समयमा चोरी तथा झडपमा वृद्धि हुने अनुमान रहेको बेला नेपाली सेनासहितको गस्ती गाउँ गाउँमा हुन थालेपछि स्थानीय आवश्वस्त भएका हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको गस्ती टोली गाउँ गाउँसम्म पुगिरहेको देखिएको छ ।
प्रकाशित: ५ फाल्गुन २०८२ १९:१५ मंगलबार





