चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पत्रकार सम्मेलन गर्दै भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गरेका छन्। उनले जेनजी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबिच प्रतिस्पर्धा चलिरहेको बताए।
उनले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरे। '२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौँ,' उनले भने।
उनका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमीक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो। 'गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,' उनले चेतावनी दिए।
त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे।
दाहालले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए। उनले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए। कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उनले जोड दिए।
प्रकाशित: ५ फाल्गुन २०८२ १९:११ मंगलबार


-600x400.jpg)


