सुनसरीको कोशी गाउँपालिका–१, लौकीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय सिटी सफारी चालक करिब ४४ वर्षीय विजय शाह रहेको प्रहरीले जनाएको छ।
भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा आज बिहान करिब १ बजे शाहमाथि गोली प्रहार भएको हो। सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा उनलाई गोली लागेको बताइएको छ।
यता स्थानीय बासिन्दाले सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। घटनापछि प्रहरी टोलीले घटनास्थलबाट ठूला हतियारका दुईवटा खोका बरामद गरेको छ। जसका कारण घटनाबारे थप आशंका उत्पन्न भएको प्रहरीको भनाइ छ।
प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। गोली कसले र किन चलायो भन्ने विषयमा यकिन तथ्य आउन बाँकी रहेको प्रहरीको भनाइ छ। 'अब अनुसन्धान जारी छ। स्थानीयले सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। ठूलाो हतियार भएका कारणले हाम्रो पनि आशंका छ,' प्रहरीले भनेको छ।
प्रकाशित: १७ पुस २०८२ ०९:३४ बिहीबार





