सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको डेढ महिना भयो। घरछेउमा भएको डिप बोरिङमा पानी आउन छाडेपछि उनको छटपटी बढेको हो।
चुरे सिरानको यो बस्तीका जनता पहिला पानीका लागि काकाकुल बनेका थिएनन्। हरेक बस्तीमा पानीको स्रोत इनार थियो। इनारमा प्रशस्त पानी पलाउँथ्यो। राम भन्छन्, ‘यस भेगमा चुरे र चुरे संरक्षित क्षेत्रमा दोहन बेलगाम बनेपछि पानीको सतह तलतल जान थालेको छ। इनारहरू त सुकी सके। पछिल्लो समय डिप बोरिङमा पनि पानी आउन छाडेकाे छ। यस भेगमा चुरे र संरक्षित क्षेत्रमा दोहनको गति यस्तै रहे खानेपानी संकट विकराल बन्ने निश्चित छ।’ यहाँका १५० घर प्यास मेट्न नकिकका गाउँटोल धाउन बाध्य छन्।
धनगढीमाई नगरपालिकाका स्थानीय खानेपानीको चर्को संकट निम्तिनुको मूल कारण अनियन्त्रित रूपमा चुरे र चुरे संरक्षित क्षेत्रको दोहनलाई ठान्छन्। बस्तीको दक्षिण, पूर्व र उत्तर तीनैतिर जथाभावी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी, अनियन्त्रित खोलानदी दोहन र चट्टान फोडेर ढुंगा उत्खननका कारण खानेपानी स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेको राम बताउँछन्।
इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, भोर्लेनी, खजनपुरियाटोल, खुट्टी, मड्यान, सर्रे लगायत टोलवासी पिरोलिएका छन्। महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन्। त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन्।
‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’ महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर पानीको आवश्यकता पूरा गरे पनि अहिले त्यो इनारसमेत सुक्न थालिसकेको छ।’
पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलियाकी शर्मिला यादवले भनिन्, ‘खानेपानी अभावले साह्रै दुःख भोग्नुपरेको छ। पानीको मूल सुकाउने गरी भइरहेको उत्खनन धन्दा बन्द गराइदिनुस्।’
महुलिया बस्तीमा ५५ घरधुरी यादव, २ घर महतो, २ घर राम र १ घर सोनार गरी ६० घरधुरीको बसोबास छ।
मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँज्न थालेको छ। चारनाथ खोला र कमला नदीको उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोलीका कमल महतोले बताए। ‘कल घन्टौं चलाउँदा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी तथा ढल निकास विभागले बनाइदिएको इनार छ तर दुई वर्ष भयो पानी आउन छाडेको छ।
वीरगन्ज महानगरपालिका–१२ मुरली पोखरी टोलका पंकज कुमार मिश्र आफ्नो जीवनकालमा वीरगन्जमा यसरी खानेपानीको हाहाकार भएको अनुभव पहिलो पटक गरेको बताउँछन्। ‘हुन त यो समस्या पहिला पनि देखिएको हो,’ उनले भने, ‘तर यस वर्ष अत्यधिक समस्या भयो।’
उनको परिवारका १२ जनाको दैनिकी पानी अभावमा कष्टकर बनेको छ। नुहाउन, खाना पकाउनसमेत पानीको अभाव छ। वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये २८ वटा वडाका चापकल लगायत पानीका स्रोत सुकेका छन्। जसबाट करिब अढाइ लाख जनता प्रभावित भएका छन्।
२०७८ सालको जनगणनाअनुसार वीरगन्ज महानगरपालिकाको जनसंख्या दुई लाख ७२ हजार छ। तर यहाँ करिब तीन लाख मानिस बसोबास गर्छन्। महानगरपालिकाका इन्जिनियर राकेश साहका अनुसार महानगरका घरघरमा चापाकल राखी मोटर लगाएर पानी तान्ने चलन छ। अहिले सुख्खायाममा चापाकलबाट पानी आउन छाडेपछि स्थानीय काकाकुल बन्नु स्वाभाविकै हो । अहिले ट्यांकरबाट पानी वितरण गरिँदैछ तर यो तत्कालीन प्यास मेट्न मात्र भएको उनले बताए। दीर्घकालीन समाधान त पाइपलाइनमार्फत पानी घरघर पु¥याउनु नै भएको उनले बताए।
वीरगन्ज बजारमा मात्र नभई ग्रामीण भेगमा पनि यो समस्या देखिएको छ। घरघरमा जोडिएका अधिकांश चापाकल सुकेका छन्। चापाकलमा सहजै पानी आउँछ भनेर खानेपानी संस्थानको धारा जडान नगरेका महानगरवासीको भिड अहिले खानेपानी संस्थान वीरगन्ज शाखामा देखिन्छ। सिरहा, धनुषा, पर्साको वीरगन्ज मात्र होइन, चुरेसँग जोडिएका मधेसका जिल्लामा शुद्ध पानीको समस्या छ। चुरे मूल भएका नदीहरूमा पानी सुकेपछि मधेसका दक्षिणी क्षेत्रका गाउँबस्तीमा पनि खानेपानीको समस्या देखिएको छ।
वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दालाई वर्षमा चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ । उनीहरू वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ।
खानेपानी मन्त्री प्रदीप यादव भन्छन्, ुवीरगन्जमा खानेपानीको समस्या सामाधानका लागि बोरिङ जडान कार्यलाई तीव्रता दिइएको छ। तर दीर्घकालीन सामाधानका लागि त पानीको मूल चुरेमै उपचार गर्नुपर्छ । चुरे र संरक्षित क्षेत्रमा भैरहेको अनियन्त्रित दोहन नियन्त्रण नभए मधेसमा पानी संकट बढ्ने खतरा छ।ु
वीरगन्जल गायतका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको अग्रसरतामा प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र वीरगन्जमा खानेपानी आपूर्तिका लागि पठाइएको छ।
मुख्यमन्त्री सिंहले खानेपानी समस्या समाधानका लागि सरकार सक्रिय भएको बताएका छन्। ५ हजार लिटर क्षमता रहेका ८ वटा वारुणयन्त्रले एक पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिरहेको उनले बताए। यी वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापनमा नेपाली सेनाले परिचालन गरिरहेको छ।
यसअघि प्रदेश सरकारले डिभिजन वन कार्यालयका तीन वटा ट्यांकर खानेपानी आपूर्तिका लागि प्रयोगमा ल्याइसकेको छ । यसैगरी खानेपानी समस्या रहेका क्षेत्रमा नेपाली सेनाले पनि ७ वटा ट्यांकर र एउटा वारुणयन्त्रमार्फत उपलब्ध गराइरहेको जनाइएको छ।
लालपुर्जा छ, जमिन छैन
मरुभूमि जस्तै बनेको मधेस प्रदेशको सप्तरी जिल्लाको दक्षिणवर्ती गाउँ दिघियाको अस्तित्व नाममा मात्र सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ चनहीको सीमानामा पुगेको छ। यसको कारण हो– बलान नदीले फेर्दै आएको धार। एकताका गिरहत (जमिनदार) को क्षेत्र भनेर कहलिन्थ्यो यो गाउँ। एक हजारभन्दा बढी घरपरिवार अटाएको यो गाउँमा किसानको घना बस्ती थियो। अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको यो गाउँ अहिले भने खाद्य संकटको मारमा छ। विगतमा धान र गहुँको बाला झुल्ने खेतका गरा मरुभूमिमा परिणत भएका छन् ।
गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइएको छ । स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो। यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघिया गाउँ थियो। यो नदीले हामीलाई रित्तो बनाइदियो।’
गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे मानिस। तर २०४६ सालताका बलान अचानक गाउँतर्फ सोझियो र बस्ती डुब्यो। त्यसपछि गाउँ त्यहाँबाट पूर्वतर्फ विस्थापित भयो तर नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो। गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन। कारण भए जत्ति जमिन यहीं थियो। डुबान र कटानबाट जोगिन बस्ती फेरि दुई किलोमिटर पूर्व चनहीतिर सारियो। बाढीका कारण एक दशकअघि त्यहाँबाट पनि यो गाउँ चनही गाउँको सीमामा सरेको छ। ‘बलानको डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन,’ उनले भने, ‘नेता र सरकार सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ।’
स्थानीय इन्द्रदेव यादव भन्छन्, ‘यो ठाउँसँग बाल्यकालको गहिरो सम्झना जोडिएको छ। आमाबुवा मिलेर खेती गर्नुहुन्थ्यो, राम्रो उब्जनी हुन्थ्यो । कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो । हेर्दाहेर्दै खेतसँगै परिवारको हरियाली पनि ओइलियो।’
गाउँको छेवैमा बग्ने बलान खोलाको पानीले दिघिया मात्र नभई चनही, मलहनियाको गरी करिब पाँच सय बिघा खेतमा सिँचाइ पुग्थ्यो। तर नदीले धार परिवर्तन गरेसँगै सबै बगर बन्यो। ‘जैदिन स खेतमे बलान (नदी) पैसल ओही दिन स हमसब लल भ गेली (जुन दिन खेतमा बलान नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो),’ किसान राजलाल यादवले भने, ‘हमसब किनहेरी किनहेरी घुस्कैत बैसैत आइब रहल छि (हामी किनार किनार सर्दै बस्दैछौं)।’
नदीले गाउँ च्याप्दै लगेको छ । गाउँ कच्ची बाँधको टेकोमा अडिएको छ । दुई दशक अघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो। ‘त्यतिबेला बढीमा २० फिट थियो,’ उनी सम्झन्छन, ‘अहिले त गाउँ नै निल्यो, कति चौडा भयो अन्दाज गर्नुस् ।’
बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। दस वर्षमा बलान नदीको पुरानो बहावको बिचमा पूर्वपट्टि अर्को धार बनाइदियो । यो गाउँको अर्को रोचक पक्ष छ । गाउँका कसैको पनि जग्गा अर्को गाउँमा थिएन । अर्को कुनै गाउँलेको जग्गा जमिन पनि यो गाउँमा थिएन। स्थानीय कुन्ता यादव भन्छन्, ‘यहाँ सबैजना आफैं सम्पन्न भएकाले कसैले जमिन बेचेनन्। अर्को गाउँका कोही आउन पाएनन् । तर अहिले सबै किसान एकसाथ बिल्लीबाठमा परेका छौं।’
सिरहा सखुवानन्कारकट्टी गाउँपालिका इटहर्वा टोलका बिहारी यादव एक दशकअघिसम्म जमिनदार थिए । गाउँभन्दा पूर्वमा उनको सात बिघाको एउटै कित्ता थियो । अहिले भने बिहारीको पहिचान फेरिएको छ । उनीसँग करिब १० बिघा जमिनको लालपुर्जा छ तर जमिन छैन । सात बिघाको कित्ता बलान नदीले निलेपछि उनको पहिचान फेरिन पुगेको हो ।
यही गाउँका हरि यादवको परिवार पनि जमिनदार थियो । सगोलमा उनको परिवारसँग करिब २२ बिघा जमिन थियो । अहिले भने उनको अवस्था पनि बिहारीकै जस्तो भएको छ । यसको कारण हो– बलान नदीको फेरिएको धार।
एकताका गिरहत (जमिनदार) का गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायत बस्तीको परिचय फेरिएको छ । बलान नदीले पश्चिमतर्फ मोडिएर खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान चिन्तित छन् । भगवानपुर, सखुवानन्कारकट्टी र तिलेबोना अन्न उत्पादनका हिसाबले उम्दा थिए । घना बस्ती रहेको यी गाउँका गिरहतका लागि वरदान मानिने बलानले पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको छ । विगतमा धान र गहुँको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ।
चुरे मूल भएको बलान नदी त्यसै विनाशकारी बनेको होइन । चुरेको अनियन्त्रित दोहनका कारण बलानले धार परिवर्तन गरेको यस क्षेत्रका जमिनदार बताउँछन्। चुरे मूल भएका नदीबाट हुने विनास नियन्त्रण गर्न चुरे दोहन नै रोक्नुपर्ने वन तथा जलाधार विज्ञहरुको भनाइ छ। जबसम्म चुरेमा दोहन रोकिँदैन तबसम्म तल्लो भूभागमा नदी नियन्त्रणका लागि जतिसुकै काम गरे पनि टिकाउ हुने देखिँदैन। चुरेको अनियन्त्रित दोहनका कारण बलान नदीले धार परिवर्तन गरेको चुरेविज्ञ डा. विजय सिंह दनुवार बताउँन्।
चुरे दोहनले थपिँदै संकट
चुरेबाट निस्केका खहरेको संख्या बढ्दै छ, जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ। चुरे विनास रोकेर संरक्षणलाई तीव्र नबनाएसम्म खतराबाट जोगिन कठिन हुने चुरेविज्ञ सिंहले बताए । ‘चुरे संरक्षणको मूल लक्ष्य भनेकै चुरे रहे, पानी रहे मात्र हामी रहने हो,’ सिंहले भने, ‘जबसम्म चुरेको संरक्षण हुन्न तबसम्म कृषि उत्पादनमा बढोत्तरी हुँदैन। कृषि उत्पादनमा वृद्धिवेगर मधेसको समृद्धि सम्भव छैन। मधेसमा भूमिगत पानीको सतह पनि बढ्दैन् ।’
पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १६४ वटा खोलाको मुहान हो । अन्य नदीको तुलनामा चुरेबाट बग्ने नदीखोला बढी विनासकारी हुन्छन् । चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ । हिमालय उत्पत्तिको क्रममा करिब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो चुरे । ‘चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरु त्यत्ति नै चञ्चल छन्,’ डा. सिंह भन्छन्, ‘त्यसमाथि निरन्तर भइरहेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन गर्दा बाढीपहिरोको जोखिम झन् बढाएको छ ।’
प्रत्येक वर्ष सप्तरीमा बबन्डर मच्चाउने खाँडो खोलाको मुहान पनि चुरे क्षेत्रमै पर्छ। सप्तरीमा २३ हजार ६०४ हेक्टर चुरे क्षेत्र छ । यो जिल्लामा बढी कटान गर्ने सुन्दरी र बलान खोला पनि चुरेबाटै निस्कन्छन् । बर्सेनि मरुभूमीकरण, डुबान र कटानको चपेटामा पर्दै आएका सप्तरीवासीका लागि बाढी आउनु होइन, नआउनुचाहिँ अनौठो विषय बन्ने गरेको छ।
सप्तरी, सिरहालगायत मधेसका जिल्ला बर्सेनि बाढीपहिरोको प्रकोपमा पर्नुको मुख्य कारण चुरेमा भैरहेको अनियन्त्रित दोहनलाई मानिएको छ। डा. सिंह भन्छन्, चुरेमा दोहन (वन पैदावारको अनियन्त्रित फँडानी तथा उत्खन्न) मात्र रोक्न सक्दा पनि तराई मधेसका खेत मरुभूमीकरण हुनबाट धेरै हदसम्म जोगिन सक्छ।
ओझेलमा मधेस समृद्धिको नीति
मधेसमा बढ्दो पानी संकट समाधान गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने चुरेविज्ञ डा. सिंहले बताए । ‘गर्मी सहनै नसक्नेगरी बढेको छ । पानीको अभाव पनि वर्षैपिच्छे बढ्दै छ । चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न नसकिए मधेसमा पानीका लागि मानिस अझ बढी आकुलव्याकुल हुनेछन्,’ उनले भने । पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
२०७१ साल असार २ गते सरकारले चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ भनेर घोषणा गरेको थियो । त्यही दिन सरकारले राष्टूपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनायो । चुरे भावर भनेको तराईका लागि पानीको भण्डार हो । यो भण्डार रित्तिँदै छ । ‘चुरे भावर मधेसका लागि पानीको प्राकृतिक भण्डार हो,’ चुरेविज्ञ सिंह भन्छन्, ‘उसै पनि मधेस मरुभूमीकरण भइरहेको छ । मधेसका कतिपय जिल्लामा सिँचाइ अभाव छ ।’ उनका अनुसार चुरे दोहन कायम रहे यसले वातावरणीय विनास त निश्चित छँदै छ, मधेसमा खाद्य मात्र होइन, खानेपानी संकट पनि निम्तिने प्रष्ट छ ।
मधेसका अधिकांश गाउँबस्ती अहिले काकाकुल बनेका छन् । इनारहरू सुक्न थालेका छन् । चापाकल (ट्युबवेल) बाट पनि पानी आउन छाडेको छ । ‘खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्,’ उनले भने, ‘यो संकटको कारक चुरे दोहन हो ।’ चुरे पहाड चुरे तथा मधेसमा बसोबास गर्ने ६१ प्रतिशत जनताका लागि जीवनरेखा हो । ‘बाहिरका मानिसले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वनजंगलले ढाकेको निर्जीव क्षेत्र जस्तो लाग्छ तर चुरे र मधेसमा बसोबास गर्ने बासिन्दाका लागि चुरे प्राण हो,’ सिंह भन्छन्, ‘जसले निरन्तर रूपमा जीवनदायिनी पानी दिन्छ । चुरेले अन्नबाली उत्पादन र बाँच्नका लागि आधार प्रदान गर्छ । यसका लािग चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ ।’पृष्ठ १ बाट
वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दालाई वर्षमा चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ । उनीहरू वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ ।
खानेपानी मन्त्री प्रदीप यादव भन्छन्, ुवीरगन्जमा खानेपानीको समस्या सामाधानका लागि बोरिङ जडान कार्यलाई तीव्रता दिइएको छ । तर दीर्घकालीन सामाधानका लागि त पानीको मूल चुरेमै उपचार गर्नुपर्छ । चुरे र संरक्षित क्षेत्रमा भैरहेको अनियन्त्रित दोहन नियन्त्रण नभए मधेसमा पानी संकट बढ्ने खतरा छ ।ु
वीरगन्जलगायतका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको अग्रसरतामा प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र वीरगन्जमा खानेपानी आपूर्तिका लागि पठाइएको छ । मुख्यमन्त्री सिंहले खानेपानी समस्या समाधानका लागि सरकार सक्रिय भएको बताएका छन् । ५ हजार लिटर क्षमता रहेका ८ वटा वारुणयन्त्रले एक पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिरहेको उनले बताए । यी वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापनमा नेपाली सेनाले परिचालन गरिरहेको छ ।
यसअघि प्रदेश सरकारले डिभिजन वन कार्यालयका तीन वटा ट्यांकर खानेपानी आपूर्तिका लागि प्रयोगमा ल्याइसकेको छ । यसैगरी खानेपानी समस्या रहेका क्षेत्रमा नेपाली सेनाले पनि ७ वटा ट्यांकर र एउटा वारुणयन्त्रमार्फत उपलब्ध गराइरहेको जनाइएको छ ।
लालपुर्जा छ, जमिन छैन
मरुभूमि जस्तै बनेको मधेस प्रदेशको सप्तरी जिल्लाको दक्षिणवर्ती गाउँ दिघियाको अस्तित्व नाममा मात्र सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ चनहीको सीमानामा पुगेको छ । यसको कारण हो– बलान नदीले फेर्दै आएको धार । एकताका गिरहत (जमिनदार) को क्षेत्र भनेर कहलिन्थ्यो यो गाउँ । एक हजारभन्दा बढी घरपरिवार अटाएको यो गाउँमा किसानको घना बस्ती थियो । अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको यो गाउँ अहिले भने खाद्य संकटको मारमा छ । विगतमा धान र गहुँको बाला झुल्ने खेतका गरा मरुभूमिमा परिणत भएका छन् ।
गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइएको छ । स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो । यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघिया गाउँ थियो । यो नदीले हामीलाई रित्तो बनाइदियो ।’ गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे मानिस । तर २०४६ सालताका बलान अचानक गाउँतर्फ सोझियो र बस्ती डुब्यो। त्यसपछि गाउँ त्यहाँबाट पूर्वतर्फ विस्थापित भयो । तर नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो। गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन । कारण भएजत्ति जमिन यहीं थियो । डुबान र कटानबाट जोगिन बस्ती फेरि दुई किलोमिटर पूर्व चनहीतिर सारियो । बाढीका कारण एक दशकअघि त्यहाँबाट पनि यो गाउँ चनही गाउँको सीमामा सरेको छ । ‘बलानको डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन,’ उनले भने, ‘नेता र सरकार सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ।’
स्थानीय इन्द्रदेव यादव भन्छन्, ‘यो ठाउँसँग बाल्यकालको गहिरो सम्झना जोडिएको छ। आमाबुवा मिलेर खेती गर्नुहुन्थ्यो, राम्रो उब्जनी हुन्थ्यो । कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो। हेर्दाहेर्दै खेतसँगै परिवारको हरियाली पनि ओइलियो।’
गाउँको छेवैमा बग्ने बलान खोलाको पानीले दिघिया मात्र नभई चनही, मलहनियाको गरी करिब पाँच सय बिघा खेतमा सिँचाइ पुग्थ्यो । तर नदीले धार परिवर्तन गरेसँगै सबै बगर बन्यो । ‘जैदिन स खेतमे बलान (नदी) पैसल ओही दिन स हमसब लल भ गेली (जुन दिन खेतमा बलान नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो),’ किसान राजलाल यादवले भने, ‘हमसब किनहेरी किनहेरी घुस्कैत बैसैत आइब रहल छि (हामी किनार किनार सर्दै बस्दैछौं)।’ नदीले गाउँ च्याप्दै लगेको छ। गाउँ कच्ची बाँधको टेकोमा अडिएको छ। दुई दशक अघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो। ‘त्यतिबेला बढीमा २० फिट थियो,’ उनी सम्झन्छन, ‘अहिले त गाउँ नै निल्यो, कति चौडा भयो अन्दाज गर्नुस्।’
बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। दस वर्षमा बलान नदीको पुरानो बहावको बिचमा पूर्वपट्टि अर्को धार बनाइदियो। यो गाउँको अर्को रोचक पक्ष छ। गाउँका कसैको पनि जग्गा अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि यो गाउँमा थिएन। स्थानीय कुन्ता यादव भन्छन्, ‘यहाँ सबैजना आफैं सम्पन्न भएकाले कसैले जमिन बेचेनन्। अर्को गाउँका कोही आउन पाएनन् तर अहिले सबै किसान एकसाथ बिल्लीबाठमा परेका छौं।’
सिरहा सखुवानन्कारकट्टी गाउँपालिका इटहर्वा टोलका बिहारी यादव एक दशकअघिसम्म जमिनदार थिए । गाउँभन्दा पूर्वमा उनको सात बिघाको एउटै कित्ता थियो । अहिले भने बिहारीको पहिचान फेरिएको छ । उनीसँग करिब १० बिघा जमिनको लालपुर्जा छ तर जमिन छैन । सात बिघाको कित्ता बलान नदीले निलेपछि उनको पहिचान फेरिन पुगेको हो ।
यही गाउँका हरि यादवको परिवार पनि जमिनदार थियो । सगोलमा उनको परिवारसँग करिब २२ बिघा जमिन थियो । अहिले भने उनको अवस्था पनि बिहारीकै जस्तो भएको छ । यसको कारण हो– बलान नदीको फेरिएको धार।
एकताका गिरहत (जमिनदार) का गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायत बस्तीको परिचय फेरिएको छ । बलान नदीले पश्चिमतर्फ मोडिएर खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान चिन्तित छन् । भगवानपुर, सखुवानन्कारकट्टी र तिलेबोना अन्न उत्पादनका हिसाबले उम्दा थिए । घना बस्ती रहेको यी गाउँका गिरहतका लागि वरदान मानिने बलानले पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको छ । विगतमा धान र गहुँको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ ।
चुरे मूल भएको बलान नदी त्यसै विनाशकारी बनेको होइन । चुरेको अनियन्त्रित दोहनका कारण बलानले धार परिवर्तन गरेको यस क्षेत्रका जमिनदार बताउँछन् । चुरे मूल भएका नदीबाट हुने विनास नियन्त्रण गर्न चुरे दोहन नै रोक्नुपर्ने वन तथा जलाधार विज्ञहरुको भनाइ छ । जबसम्म चुरेमा दोहन रोकिँदैन तबसम्म तल्लो भूभागमा नदी नियन्त्रणका लागि जतिसुकै काम गरे पनि टिकाउ हुने देखिँदैन । चुरेको अनियन्त्रित दोहनका कारण बलान नदीले धार परिवर्तन गरेको चुरेविज्ञ डा. विजय सिंह दनुवार बताउँन् ।
चुरे दोहनले थपिँदै संकट
चुरेबाट निस्केका खहरेको संख्या बढ्दै छ, जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ । चुरे विनास रोकेर संरक्षणलाई तीव्र नबनाएसम्म खतराबाट जोगिन कठिन हुने चुरेविज्ञ सिंहले बताए । ‘चुरे संरक्षणको मूल लक्ष्य भनेकै चुरे रहे, पानी रहे मात्र हामी रहने हो,’ सिंहले भने, ‘जबसम्म चुरेको संरक्षण हुन्न तबसम्म कृषि उत्पादनमा बढोत्तरी हुँदैन । कृषि उत्पादनमा वृद्धिवेगर मधेसको समृद्धि सम्भव छैन । मधेसमा भूमिगत पानीको सतह पनि बढ्दैन् ।’
पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १६४ वटा खोलाको मुहान हो । अन्य नदीको तुलनामा चुरेबाट बग्ने नदीखोला बढी विनासकारी हुन्छन् । चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ । हिमालय उत्पत्तिको क्रममा करिब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो चुरे । ‘चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरु त्यत्ति नै चञ्चल छन्,’ डा. सिंह भन्छन्, ‘त्यसमाथि निरन्तर भइरहेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन गर्दा बाढीपहिरोको जोखिम झन् बढाएको छ ।’
प्रत्येक वर्ष सप्तरीमा बबन्डर मच्चाउने खाँडो खोलाको मुहान पनि चुरे क्षेत्रमै पर्छ । सप्तरीमा २३ हजार ६०४ हेक्टर चुरे क्षेत्र छ । यो जिल्लामा बढी कटान गर्ने सुन्दरी र बलान खोला पनि चुरेबाटै निस्कन्छन् । बर्सेनि मरुभूमीकरण, डुबान र कटानको चपेटामा पर्दै आएका सप्तरीवासीका लागि बाढी आउनु होइन, नआउनुचाहिँ अनौठो विषय बन्ने गरेको छ । सप्तरी, सिरहालगायत मधेसका जिल्ला बर्सेनि बाढीपहिरोको प्रकोपमा पर्नुको मुख्य कारण चुरेमा भैरहेको अनियन्त्रित दोहनलाई मानिएको छ । डा. सिंह भन्छन्, चुरेमा दोहन (वन पैदावारको अनियन्त्रित फँडानी तथा उत्खन्न) मात्र रोक्न सक्दा पनि तराई मधेसका खेत मरुभूमीकरण हुनबाट धेरै हदसम्म जोगिन सक्छ ।
ओझेलमा मधेस समृद्धिको नीति
मधेसमा बढ्दो पानी संकट समाधान गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने चुरेविज्ञ डा. सिंहले बताए । ‘गर्मी सहनै नसक्नेगरी बढेको छ । पानीको अभाव पनि वर्षैपिच्छे बढ्दै छ । चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न नसकिए मधेसमा पानीका लागि मानिस अझ बढी आकुलव्याकुल हुनेछन्,’ उनले भने । पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
२०७१ साल असार २ गते सरकारले चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ भनेर घोषणा गरेको थियो । त्यही दिन सरकारले राष्टूपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनायो । चुरे भावर भनेको तराईका लागि पानीको भण्डार हो । यो भण्डार रित्तिँदै छ । ‘चुरे भावर मधेसका लागि पानीको प्राकृतिक भण्डार हो,’ चुरेविज्ञ सिंह भन्छन्, ‘उसै पनि मधेस मरुभूमीकरण भइरहेको छ । मधेसका कतिपय जिल्लामा सिँचाइ अभाव छ ।’ उनका अनुसार चुरे दोहन कायम रहे यसले वातावरणीय विनास त निश्चित छँदै छ, मधेसमा खाद्य मात्र होइन, खानेपानी संकट पनि निम्तिने प्रष्ट छ ।
मधेसका अधिकांश गाउँबस्ती अहिले काकाकुल बनेका छन् । इनारहरू सुक्न थालेका छन् । चापाकल (ट्युबवेल) बाट पनि पानी आउन छाडेको छ । ‘खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्,’ उनले भने, ‘यो संकटको कारक चुरे दोहन हो ।’ चुरे पहाड चुरे तथा मधेसमा बसोबास गर्ने ६१ प्रतिशत जनताका लागि जीवनरेखा हो । ‘बाहिरका मानिसले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वनजंगलले ढाकेको निर्जीव क्षेत्र जस्तो लाग्छ तर चुरे र मधेसमा बसोबास गर्ने बासिन्दाका लागि चुरे प्राण हो,’ सिंह भन्छन्, ‘जसले निरन्तर रूपमा जीवनदायिनी पानी दिन्छ । चुरेले अन्नबाली उत्पादन र बाँच्नका लागि आधार प्रदान गर्छ । यसका लािग चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ।’
प्रकाशित: २ श्रावण २०८२ १०:३६ शुक्रबार





