चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहार उपहारस्वरुप प्रदान गरेका स्वास्थ्य सामाग्री पोखरा आएका छन्। लिञ्जीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र एम्बुलेन्स उपहारस्वरुप पोखरालाई दिएको थियो। साढे ३ वर्ष अघि ती सामान पोखराले पाएको हो।
२०७९ सालमा पोखराको जनप्रतिनिधि टोली भ्रमणमा जाँदा लिञ्जीले ती सामाग्री पोखरालाई उपहारस्वरुप दिएको थियो। अत्याधुनिक एम्बुलेन्ससहितका ती स्वास्थ्य सामाग्री कानुनी जटिलता र प्रशासनिक प्रक्रियाका कारण लामो समय सीमानाकामै रोकिएका थिए। तर, लामो प्रयासपछि ती उपकरण र सवारी पोखरा भित्र्याउन सकेको महानगरको भनाई छ।
२०७९ मा पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि धनराज आचार्य सहितको टोली चीन भ्रमणमा गएको थियो। ‘पोखराको पुरानो मितेरी सहर चीनको जिजाङ प्रान्तस्थित लिञ्जी सहरमा आयोजित एक समारोहमा सहभागी हुन गएको बेला मितेरी सहरले ती सामान दिएको थियो,’ उनले भनेका छन्, ‘नव निर्वाचित टोलीलाई स्वागत गर्दै मितेरी सहरले बिदाइका बेला अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, केही भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन इन्सिनेटरलगायत सामान दिएको हो। ती सामानको मुल्य करिब साढे ३ करोड रुपैयाँ पर्छ।’
आचार्यका अनुसार पोखरेली टिम पोखरा फर्केलगत्तै ती सामग्री रसुवा (केरुङ) नाकामा आइपुगेका थिए। ‘मितेरी सहरको उपहारको रुपमा ती सामान पाएका थियौ थियो। पोखराका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् र दुई सहरबीचको मितेरी सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने उद्देश्यले ती सामान दिएको थियो,’ उनले भने, ‘तर ती सामान बेलैमा पोखरा ल्याउन भने सकिएन।’
मितेरी सहरले उपहारको रुपमा स्वास्थ्य सामाग्री दिएको भएपनि कानुनी व्यवस्था र तोकिएको सीमाका कारण ती सामाग्री भन्सारबाट छुट्न नसकेको उनले बताए। ‘भन्सार छुटको सीमा जम्मा १६ लाख रुपैयाँ मात्र रहेछ, जबकि सामग्रीको मूल्य करोडौं रुपैयाँ बराबरको थियो,’ उनले भने, ‘भन्सार सीमा र मुल्यका कारण सामान भित्र्याउने प्रक्रिया नै रोकियो।’ ‘मूल्य उल्लेख नगरी पठाइएको भए सायद त्यति बेला नै सामान छुट्थ्यो कि वा अन्य जटिलता थपिन्थ्यो, त्यो भने भन्न सकिएन,’ उनले भने।
लगातार तीन वर्षभन्दा बढीको पहल, समन्वय र प्रयासपछि बल्ल सामान ल्याउन सकेको उनले बताए। गत वर्षको बजेटमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरी विषयवस्तुको जानकारी गराएपछि बल्ल भन्सार छुटको सीमा हटाइयो र सामान भित्र्याउने ढोका खुल्ने वातावरण बनेपछि सामान भित्रिएको उनले बताए। ‘ती सामग्रीसँग सम्बन्धित सम्पूर्ण कागजात महानगरको कार्यालयमा भएको आगलागीका क्रममा नष्ट भए। त्यसपछि पुनः प्रक्रिया सुरु गर्दै, बल्ल सामान भित्र्याउन सकियो। अहिले ती सामान पोखरा आएका छन,’ उनले भने।
पोखरामा ती सामाग्री भित्रिँदा मित्रताको सम्मान भएको पनि मेयर आचार्यले बताए। ‘यी सामग्री पोखरा महानगरपालिकाको परिसरमा आइपुग्दा यो केवल उपकरणको आगमन मात्र रहेन, मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति भएको छ,’ मेयर आचार्यले भने।
उपहारस्वरुप पाएको सामान नपाउँदा आफुलाई बेलाबेला समस्या पर्ने गरेको समेत उनले बताए। ‘उपहारस्वरुप दिएका सामानको बारेमा बेलाबेला मेरा समकक्षी मेयरले सोध्ने गरेका थिए , ‘एम्बुलेन्सको पर्फर्मेन्स कस्तो छ? भनेर सोध्दा मलाई निकै अप्ठ्यारो महसुस भएको थियो,’ उनले भने, ‘किनकी सामान नै पोखरा आएका थिएनन। तर, सामानबारे सोधनी हुँदा मलाई समस्या परेको थियो। मैले त्यो बेला विषयान्तर गर्नुपरेको थियो।’
प्रकाशित: ४ जेष्ठ २०८३ १४:४५ सोमबार





