दार्चुलाको अपिहिमाल गाउँपालिका १ भट्टार बस्ती नजिक ठूलो पहिरो खसेपछि चमेलिया नदीको आंशिक भाग थुनिएको छ। करिब आधा घण्टा नदी थुनिए पनि अहिले पानी विस्तारै बग्न थालेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।
अध्यक्ष बोहराका अनुसार पहिरो करिब दुई घण्टादेखि निरन्तर खसिरहेको छ। माथिल्लो डाँडाको ठूलो भाग खसेर पहिरो आएको र यसअघि पनि सो क्षेत्रमा पहिरो जाने गरेको उनले बताए।
‘ठूलो पहिरो आएर चमेलिया नदी करिब आधा घण्टा थुनिएको थियो। अहिले नदी बिस्तारै खुल्दै गएको छ,’ उनले भने, ‘तर जोखिम भने कायमै छ।’
नदी केही समय थुनिएका कारण पानीको बहाव बढ्न सक्ने भन्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
पहिरोबाट हालसम्म मानवीय क्षति भएको छैन। पहिरो नजिकको भट्टार बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको अध्यक्ष बोहराले बताए। स्थानीयका चौपायासमेत सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
भट्टार बस्तीमा करिब १०–१५ परिवारको बसोबास रहेको गाउँपालिकाले जनाएको छ। निरन्तर पहिरो खसिरहेको र चमेलिया नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिम रहेकाले स्थानीय तहले अवस्थाको निगरानी गरिरहेको छ।
प्रकाशित: १९ भाद्र २०८३ १६:१७ शुक्रबार



-600x400.jpg)
-600x400.jpg)