१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपालीमा आशाको दियो बाल्न सफल दुई अनुहार

१० दिनको उद्धारमा जीवित भेटिनु खुसीको कुरा, आशा रहेसम्म उद्धार तीव्र पारौँ

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि बाढीमा फसेकाहरूको खोज तथा उद्धारप्रति आशा पुनः जागेको छ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका आयोजनाका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई शुक्रबार जीवितै उद्धार गरिएको हो। सुरुङभित्र १० दिनसम्म रहेर पनि उनीहरू जीवितै भेटिनुले उद्धारका लागि अझै समय र सम्भावना बाँकी रहेको सन्देश दिएको छ।

उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। तर, सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका कायमै छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले उनीहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।

दुई जनाको जीवित उद्धारसँगै बाढीपछि बेपत्ता भएका हजारौँ नागरिकको खोजीमा सरकारमाथि थप दबाब पनि परेको छ। शुक्रबार अपराह्नसम्म बाढी तथा पहिरोमा परी फेला परेका शवको संख्या एक हजार २९५ पुगेको छ भने चार हजार ८९८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१, नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएर नवलपरासी पश्चिममा बुझाइएका १८ गरी एक हजार २९३ शव फेला परेका छन्। उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या एक हजार २९५ पुगेको हो।

शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डीएनए नमूना सङ्कलन गरिएको छ। हालसम्म एक हजार ३० वटा शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

यसबीच उद्धारको गति र प्राथमिकतामाथि राजनीतिक तहबाट प्रश्न उठ्दै आएको छ। त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई उद्धार कार्यमा थप सक्रियता देखाउन आग्रह गरेका छन्।

शाहीले सुरुङभित्र मानिस जीवितै रहेको पुष्टि भएको भन्दै उद्धारमा राजनीति नगर्न र राज्यसँग भएका सबै स्रोत–साधन परिचालन गरेर एक–एक जीवन बचाउन पूर्ण शक्ति लगाउन सरकारलाई आग्रह गरेका छन्। ‘आशा रहेसम्म उद्धार रोक्नु हुँदैन’ भन्ने उनको आग्रहले विपद्को समयमा उद्धारलाई राजनीतिक विवादभन्दा माथि राख्नुपर्ने सन्देश दिएको छ।

नेकपा एमालेका सांसद ऐन महरले पनि दुई जनाको जीवित उद्धारले आशा जगाएको बताएका छन्। उनले अझै पाँचवटा सुरुङमा उद्धारको काम सुरु नभएको दाबी गर्दै सबै सुरुङमा एकसाथ उद्धार अभियान अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

उता उद्धारस्थलमै बसेर अभियानमा सक्रिय रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले दुई जनाको जीवित उद्धारलाई मानवीय हिसाबले आंशिक सफलता भए पनि इन्जिनियरिङ दृष्टिले ठूलो उपलब्धि भएको बताएका छन्।

ढकालका अनुसार उद्धार अभियानमा फिल्डमा रहेका सबै पक्षबीच सहयोग र सहकार्य भइरहेको छ। तर, सञ्चारमाध्यममा फैलिएका नकारात्मक सूचनाले उद्धार कार्यमा केही हदसम्म बाधा पुगेको उनको भनाइ छ। केही वरिष्ठ राजनीतिक नेतृत्वसमेत मिडियामा आएका नकारात्मक सूचनाको प्रभावमा परेको अवस्था देखिएको उनले बताएका छन्।

ढकालले उद्धारमा अझै २४ घण्टा ढिलाइ भएको भए अवस्था असफलतातर्फ जान सक्ने अवस्था रहेको उल्लेख गर्दै अन्तिम समयमा ‘भगवानले साथ दिएको’ प्रतिक्रिया दिएका छन्। फिल्डमा रातदिन खटिने उद्धारकर्मीको आलोचना वा मजाक नगर्न आग्रह गर्दै उनले देश निर्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन्।

सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङले पनि दुई जनाको १० दिनपछि जीवितै उद्धार हुनुलाई ‘आशाको किरण’ का रूपमा व्याख्या गरेका छन्। उनले कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।

गृहमन्त्री गुरुङले उद्धार अभियानमा सांसद सागर ढकाल र श्रीराम न्यौपानेको निरन्तर प्रयासको पनि उच्च कदर गरेका छन्। उनका अनुसार उद्धार टोलीहरू अझै सबै सुरुङमा निरन्तर परिचालित छन्।

१० दिनसम्म सुरुङभित्र जीवित रहन सकिने अवस्था रहेको पुष्टि भइसकेपछि अन्य सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाउन सरकारसँग उपलब्ध सबै प्रविधि, जनशक्ति र स्रोत–साधन परिचालन गर्न अब ढिलाइ हुनुहुँदैन ।

भोटेकोशी बाढीले सिर्जना गरेको विपद्को मानवीय क्षति अत्यन्त ठूलो छ। हजारौँ नागरिक बेपत्ता छन्, एक हजारभन्दा बढी शव फेला परिसकेका छन् र हजारौँ परिवार विस्थापित भएका छन्। यस्तो अवस्थामा दुई जनाको जीवित उद्धार केवल एउटा उद्धार घटना होइन, निराशाबीच बाँकी जीवन बचाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो।

त्यसैले अहिले सरकारको प्राथमिकता उद्धारको गति अझ बढाउनु हो। राजनीतिक आरोप–प्रत्यारोप, सूचनाको विवाद वा स्रोतको सीमितताको बहानाभन्दा माथि उठेर सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेकाहरूको जीवन बचाउन राज्यको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने देखिन्छ।

सञ्जय शाह र कविर महर्जन १० दिनपछि सुरुङबाट जीवितै बाहिरिनु आफैँमा आशाको ठूलो सन्देश हो। उनीहरूको उद्धारले दिएको यही आशालाई अब बाँकी बेपत्ताको खोजीमा परिणाममा बदल्नु सरकार र उद्धार संयन्त्रको सबैभन्दा ठूलो परीक्षा बनेको छ।

प्रकाशित: १९ भाद्र २०८३ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App