गत असोज १८ को बाढी–पहिरोले ३९ जनाको मृत्यु भएको इलाममा बाढी–पहिरोको जोखिमबाट पुनः सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यालयले जोखिमपूर्ण मेची राजमार्गमा कात्तिक १३ गते साँझ ७ देखि १४ गते बिहान ६ बजेसम्म सवारीका साधन चलाउनसमेत रोक लगाएको छ ।
प्रशासनले सूचना जारी गरी असोज १८ को पहिरोका कारण धेरै स्थान पहिरोको जोखिममा रहेकाले सवारीका साधन चल्न रोक लगाएको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रपात ‘मोन्था’का कारण इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाको मौसम प्रभावित हुने यसअघि नै सूचना जारी गरी जनाएका थिए । यसै सूचनाका आधारमा गत असोजसमेतको घटनालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले बताए ।
असोज १८ को बाढी–पहिरो इलाममा मानवीयसँगै ठूलो भौतिक क्षति गरेको छ । मेची राजमार्गको राजदुवाली, मिलगोलाई, बञ्चरेगोलाईलगायत दर्जनौं ठाउँमा पहिरो झरेका थिए । पहिरो सोरसार गरी ती ठाउँमा एकतर्फी रूपमा सवारी सञ्चालनसम्म गरिएको छ । राजदुवाली खण्डमा चाहिँ मर्मत प्रभावकारी नहुँदा असोज ३१ देखिमात्रै एकतर्फी सवारी चल्ने बनाइएको थियो ।
अहिले पनि यो क्षेत्रमा धाँजा फाटेर सडक भासिँदैछ । सवारीका साधन चलाउन जोखिम भइरहेको छ । डिभिजन सडक कार्यालयले बेला–बेला मर्मत गर्दै भएपनि सवारीका साधन चलिरहेका छन् । तर, पानी पर्नेबित्तिकै पुनः यहाँ थप जोखिम बढ्ने अवस्था रहेको सवारी चालकले बताइरहेका छन् । राजदुवाली खण्ड अवरोध भएपछि मेची राजमार्गकै सिमलगोलाईबाट जोगमाई खोला हुँदै तिल्केनी निस्किने वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको छ । जोगमाईमा भर्खरै जडान गरिएको बेली ब्रिज बाढीले बगाएपछि ह्युम पाइप हालेर अस्थायी डाइभर्सन बनाइएको छ । तर, यो मार्गको १२ किलोमिटर खण्ड कच्ची रहेकाले सहज रूपमा सवारी चलाउन सकिने अवस्था छैन ।
झापा–इलाम फास्ट ट्र्याक (केचना–कञ्चनजंघा मार्ग)को माइखोलास्थित बेलासे पुल बाढीले बीचमै भाँचिएपनि मर्मत भएको छैन । अस्थायी डाइभर्सनसमेत नबनाउँदा सवारी अवरोध छ । यही सडकको पुवाखोलामा रहेको अर्को नयाँ बेली ब्रिजसमेत बाढीले बगाएको थियो । यहाँ काठको साँघु हालेर मोटरसाइकलसम्म वारपार भइरहेका छन् ।
असोज १८ को विपद्पछि संघीय सरकारले इलामलाई ‘विपद् संकटग्रस्त जिल्ला’ समेत घोषणा गरेको छ । तर, समयमै पुनर्निर्माण र पुनस्र्थापनाका काम नभएको पीडित र सरोकारवालाले गुनासो गर्न थालेका छन् । तीन साताअघिको विपद् बिर्सिनसक्दै अर्को विपद् थपिने त्रास स्थानीयलाई छ ।
प्रकाशित: १२ कार्तिक २०८२ १८:१४ बुधबार





-1200x560-600x400.jpg)