भक्तपुरको तेलकोट-नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयमा विवाद हुँदा दुई जना मोटरसाइकल भ्लगरमाथि बीच सडकमै कुटपिट गर्ने कार चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण-६ का ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन्। बागमती प्रदेश ०१–०२५ च ५२८१ नम्बरको कार चलाक तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो।
पीडित युवाहरूले दिएको उजुरीका आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि भक्तपुर प्रहरीको जिम्मा लगाइएको छ।
गत शनिबार दिउँसो करिब १२ बजे नगरकोट जाने सडकमा तामाङले जथाभाबी ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेका मोटरसाइकल भ्लगर विशाल तामाङ र लक्सकुमार राई दुर्घटनाबाट मुस्किलले जोगिएका थिए।
दुर्घटना टरेपछि अगाडि गएर रोकिएको कार र फर्किएर गएका राइडरहरूबीच भनाभन भएको थियो। सोही क्रममा कारबाट ओर्लिएर तामाङले उनीहरूमाथि हातपात गरेका हुन्।
सडकमा भएको उक्त हातपातको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा कार चालक तामाङ निकै आक्रामक देखिएका छन्।
राइडरहरूले आफूहरू घुम्न मात्र आएको बताउँदै बारम्बार माफी माग्दा समेत तामाङ शान्त हुँदैनन्। उल्टै उनले अश्लील गालीगलौज गर्दै भ्लगमा भिडिओ हाले खोजी-खोजी मार्ने धम्की दिन्छन्।
कुटपिट र ज्यान मार्ने धम्कीको भिडिओ बाहिरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कार चालकको हर्कतप्रति आक्रोश व्यक्त गरे। कार चालकलाई कारबाही गर्न सर्वसाधारणले माग गरेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
प्रकाशित: ५ चैत्र २०८२ १४:५५ बिहीबार





