बुद्ध एयरले शुक्रबार एटीआर ७२–६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उक्त विमानबाट उडान गरिनेछ।
बुद्ध एयरले कल साइन ‘९एन–एओएस’ भएको विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर ७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यस सिरिजका विमानले कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छन्।
बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ। यो प्रक्रिया लागू भएपछि करिब २,००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुद्ध एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ।
कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्ने बुद्ध एयरको विश्वास छ। यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ।
हाल ‘इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३,१०० मिटर तथा काठमाडौं र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर अर्को एउटा एटीआर–७२–६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ। त्यसैगरी आगामी केही महिनाभित्र यही सिरिजका थप दुई विमान पनि भित्र्याउने योजनाअनुसार काम गरिरहेको छ। बुद्ध एयरसँग हाल एउटा एटीआर ४२–३२०, १५ वटा एटीआर ७२–५०० र एउटा एटीआर ७२–६०० विमान छन्।
प्रकाशित: ९ श्रावण २०८३ १०:२२ शनिबार



-600x400.jpg)

