११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

सीमामा कडाइले खलबलिँदै रोटी-बेटी सम्बन्ध

सीमा नाकामा बढ्दो तनाव

तस्बिर : धनुषाको जटही सीमा नाका

सिरहा नगरपालिका-१५ बुधौरास्थित दसगजामा दुई देश छुट्याउन गाडिएको पिलरले देशको सीमा छुट्याएको छ।

दुई देशको सीमा छुट्याउन गाडिएको २६६/१ र २६६/२ नम्बरको पिलरले देशको सीमांकन गरिदिए पनि वारिपारिको जनताको मनोविज्ञान भनेर जोडिएकै छ। सिरहा नगरपालिका-२० मा वारि लगडिगदियानी र पारि लगडीबिचको सीमा आरपी २८ नम्बरको स्तम्भले छुट्याएको छ तर दुवैतिरका स्थानीयमा आफूहरू अलगअलग देशका हौं भन्ने महसुसै हुँदैन। टाँसिएकै गाउँ, एउटै परिवेश, एउटै संस्कृतिका कारण परिवार जसरी मिलेर बसेका छन् उनीहरू। लगडिगदियानीमा यादव र मुखिया जातिका परिवारको बसोबास छ। वारि लगडिगदियानीतर्फ यादव समुदायको बाक्लो बसोबास छ। आफूहरूबिच दुई देशका हौं भन्ने हेक्कै नभएको चन्देश्वर यादवले बताए। ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सिन्छौं,’ उनले भने। 

उनीहरू सधैं एकअर्कालाई भरथेग गर्छन्। आँगनमै आरपी २८ नम्बरको स्तम्भ रहेको लगडीका ज्ञानी मुखिया र वारिका देवेन्द्र यादवबिच पनि उस्तै सीमाविहीन सद्भाव छ। देवेन्द्र टेन्ट हाउसको व्यवसाय चलाउँछन् र ज्ञानी मजदुरी गर्छन्। देवेन्द्र विवाहलगायत आयोजनमा टेन्ट र साउन्ड सिस्टम लिएर पारि पुग्छन्। मुखिया पारिको मजदुरी काम भ्याएपछि नेपालतर्फ खट्छन्। ५० वर्षीय ज्ञानीले भने, ‘हामी सुकुम्बासी दुवैतर्फ ज्यालामजदुरीमा खटेर गुजारा चलाउँछौं। नेपाली गाउँसहरमा काम गर्दा फरक देशजस्तै लाग्दैन।’ २५ वर्षीय देवेन्द्रले पनि थपे, ‘जता काम पाइन्छ उतै जान्छौं। देश मात्रै फरक हो, काम र रुपैयाँ बराबर पाइन्छ।’

देश भिन्न भए पनि श्रम, संस्कार, रीतिरिवाज, भाषा केही फरक नभएको लगडीका चन्देश्वर यादवले बताए। ‘श्रम, संस्कारसँगै वैवाहिक सम्बन्धले हामी झन् नजिकिएका छौं,’ उनले भने। लगडीगदियानीका (वारि) मिथिलेश झा वारिपारिका साझा पुरोहित हुन्। उनले भने, ‘सीमावर्ती गाउँसहरको संस्कार र संस्कृतिमा कुनै फरक छैन। पारिको गाउँमा विवाह गराउँदा पनि फरक देशमा आएको हेक्कै हुन्न।’

नेपाल र भारतबिचको सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनिन्छ। त्यस सम्बन्धको एउटा महत्वपूर्ण आधार दुई देशबिचको करिब एक हजार सात सय किलोमिटर लामो खुला सीमा नै हो। राजधानी काठमाडौं र नयाँ दिल्लीबिच सम्बन्ध जस्तो भए पनि सीमाको दुवैतिरका बासिन्दा अनेकौं रूपमा आबद्ध छन्। त्यसैले तिनको सम्बन्ध राजनीतिक परिधिभन्दा धेरै फराकिलो र कसिलो छ। ‘रोटी र बेटी’को सम्बन्धको प्रगाढताजस्तै सीमा क्षेत्रमा दुई छिमेकबिच अनेकौं विवाद र नमिलेका विषय पनि छन्। नेपाल र भारतका सरकारी कर्मचारी तथा राजनीतिक नेतृत्वले छिमेकीबिच रहेका साधारण विवादका विषयदेखि सीमा क्षेत्रको अपराध, तस्करी, सिमाना विवाद, व्यापार आदि विषयमा विद्यमान समस्या छ। काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धको उतारचढावले सीमा क्षेत्रको दुवैतिर बसोबास गर्ने सर्वसाधारण जनताको सौहार्दतामा खासै तलमाथि हुँदैन।

तर सरकारले सीमावर्ती भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा भन्सार बिन्दुमा महसुल चुक्ता गर्नुपर्ने नियमलाई कडाइका साथ लागु गरिरहेको छ। सशस्त्र प्रहरीले नाका क्षेत्रमा माइकिङ गरेर सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार महसुल अनिवार्य गरिएको जानकारी गराइरहेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीले नाकामा सामान जाँचमा कडाइ गरेका छन्। यसले सीमाञ्चलका बासिन्दाको रोटीको सम्बन्ध (व्यपारिक सम्बन्ध) मा खलबलिएको छैन। बेटीको सम्बन्ध पनि खलबलिएको छ।

१० दिनअघि भारत जयनगरका रामकलादेवी महरा आफ्नी छोरीको विवाहका लागि जनकपुरधामस्थित जानकी मन्दिर चयन गरिन्। आर्थिक अवस्था कमजोर उनले छोरीको विवाह गर्न मन्दिर रोजिन्। तर छोरीलाई बिदाइमा दिइने व्यावहारिक सरसामान उनले जयनगरबाट लिएर जाँदै थिइन्। कारण पारि सामान सस्तो हुन्छ। सामानसहित जटही बोर्डर पार गरेपछि नेपाली भन्सारमा उनको गाडी रोकियो। जहाँ उनलाई सामान (कुर्सी, पलङ आदि) को भन्सार राजस्व तिर्न भनियो। उनले निकै बेर त्यहाँ तायनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीसमक्ष हारगुहार गरिन्। तर कसैले पनि उनको भावना बुझिदिएन। समय घर्किंदै गएपछि उनी रन्थनिँदै घरी सुरक्षाकर्मी त घरी भन्सारकर्मचारीलाई बिन्ती बिसाउँथिन्। बेहुला पक्ष मन्दिरमा प्रतीक्षा गरिबसेको छ। विवाहको कार्ड देखाउँदै उनले घण्टौं बिन्ती बिसाइन् तर कसैले उनको बाध्यता सुनिदिएन। उनी भन्छिन्, ‘नेपालमा छोरी विवाह नगर्न कानुन ल्याउनुपर्‍यो। होइन भने छोरीलाई बिदाइमा दिने सरसामान पहिला जस्तै निर्बाध जान दिनुपर्‍यो। अहिलेको यो कडाइले नेपालमा छोरीको विवाह गर्न सोच्नुपर्ने भयो। तस्करी रोक्ने नाममा दुई देशबिचको रोटी-बेटी सम्बन्ध खलबलिनुहुँदैन।’

जनतालाई सास्ती, तस्करको रजाइँ
दुई दिनअघि जयनगर प्रहरीले मदिरासहित धनुषा जिल्लाको इनर्वा निवासी २१ वर्षीय दिपु सहनीलाई पक्राउ गर्‍यो। २८ बोतल मदिरासहित सहनीलाई पक्राउ गरिएको थियो। वारिबाट मदिरा तस्करी गर्नेहरू जयनगर प्रहरीले पक्राउ गरेको यो पहिलो घटना भने होइन। प्रत्येक साता वारिबाट मदिरा पारि तस्करी गर्ने गिरोह र व्यक्तिलाई जयनगर प्रहरीले पक्राउ गर्दै आएको जनाइएको छ। पछिल्लो समय सिरहाको ठाढी नाका क्षेत्रमा पर्ने गमहरिया, झाझपट्टी, बरियारपट्टी नाकाको जानकीनगर, गरगमना, माडर नाकाको बुधौराबाट मदिरा पारि तस्करी हुँदै आएको सीमाक्षेत्रका स्थानीय बताउँछन्। नाकामा सर्वसाधारणलाई कडाइ गरिए पनि तस्करका लागि घुमुवाहरूले नै सुरक्षित बाटो बनाइदिएको स्थानीयहरू बताउँछन्।

तीन महिलाअघि प्रस्तावित सीमा सुरक्षा गुल्म माडरको कामन्ड सम्हाल्न आइपुगेका डिएसपी विजय हमाल आएदेखि नै तस्करसँगको हिमचिमले विवादित बनेका थिए। सर्वसाधारणसँग रुखो र तस्करसँग हँसिलो व्यवहारका कारण उनी यस भेगमा चर्चा कमाएका थिए।

आइतबार माडर भन्सार कर्मचारीको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर डिएसपी हमाल बरियारपट्टी आइपुगेका थिए। यहाँको पेट्रोलपम्प छेवैको चिया पसलअगाडि मोटरसाइकल रोकेर चिया खान बसेका स्थानीयसँग विवाद गरे। उनले स्थानीय युवालाई अश्लील गाली गरेपछि अवस्था तनावग्रस्त बनेको सञ्जय यादवले बताए। सशस्त्र प्रहरीका डिएसपी हमालको व्यवहारप्रति आपत्ति जनाउँदै प्रतिवादमा उत्रिएका स्थानीयले ‘भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने तपाईं तस्कर होइन अनि हामी कसरी तस्कर ?’ भन्दै प्रश्न गरेका थिए। स्थानीय युवाहरूले उनको भिडियो खिचेर समाजिक सञ्जालमा हालेपछि भाइरल बनेको थियो। भिडियो खिच्न थालेपछि डिएसपी हमाल हेलमेट लगाएर बिआर ०६ डिवाई ३०४१ नम्बरको मोटरसाइकल चढी देखाइदिन्छु भन्दै गएको देखिन्छ। सो भिडियोमा डिएसपी हमाल आक्रोशित हुँदै ‘तिमीहरू तस्कर हौ’ भनेको सुनिन्छ।

विवादपछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशंकर यादवलाई घटनास्थलमा बोलाएको थियो। स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुचित भएको बताएका छन्। उनले प्रहरीको पोसाकमा भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गरी नागरिकलाई त्रसित पार्ने काम स्वीकार्य नभएको भन्दै घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए। स्थानीयले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै विवादमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्। यता सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबिचको विवादका कारण डिएसपी हमाललाई सशस्त्र प्रहरी बल मधेस प्रदेश बाहिनी-२ महोत्तरी हेडक्वाटर तानिएको जानकारी दिएका छन्।

प्रकाशित: १५ वैशाख २०८३ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App