प्रधानमन्त्री हुनुअघि बालेन शाहले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मान्छेले देशलाई स्विट्जरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्याण्डको बाउ बडीमालिका यहीं छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ?’
शाहले स्विजरल्याण्डको बाउ भनेको बडीमालिका मन्दिर पुग्नुअघि त्रिवेणी पाटन आउँछ। त्रिवेणीमा स्नान गरेर मात्रै बडीमालिकाको दर्शन गर्न जाने चलन छ। कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट स्थानीय श्रद्धालु र भक्तजन बडीमालिका दर्शन गर्न पुग्छन्।
भक्तजनहरूको प्रसिद्ध स्नान गर्ने यही त्रिवेणी क्षेत्र अहिले विवादको विषय बनेको छ। यहीं पाटनको नामबाट कर्णालीको कालिकोटमा सान्नीत्रिवेणी गाउँपालिका छ भने सुदूरपश्चिमको बाजुरामा त्रिवेणी नगरपालिका छ। तीन हजार आठ सय मिटरको उचाइमा रहेको यो क्षेत्रलाई दुवै जिल्लाले आफ्नो दाबी गर्दा विवाद बढ्दै गइरहेको छ।
त्रिवेणी पाटन सदियौंदेखि कालिकोट, जुम्ला, मुगु र बाजुराका स्थानीयको मौसमी चरन क्षेत्र हो। वर्षको चार–पाँच महिना बस्तुभाउ चराउन पाटन लगिन्छ। तर पछिल्लो समय संघीयता कार्यान्वयनसँगै त्रिवेणी पाटनको स्वामित्वको विषयलाई लिएर दुई जिल्ला र दुई प्रदेशबिच विवाद बढ्दो छ।
कर्णाली प्रदेश सरकारले त्रिवेणी पाटन क्षेत्रमा ‘त्रिवेणी बडीमालिका पर्यटकीय पूर्वाधार निर्माण आयोजना’ नाम दिएर पाँच करोडको पूर्वाधार निर्माण गरिरहेको छ। कर्णाली सरकारले भौतिक संरचना निर्माण गरिरहेको क्षेत्र आफ्नो भएको दाबी सुदूरपश्चिम सरकारको छ।
कर्णाली प्रदेश सरकारले त्रिवेणी बडीमालिका पर्यटन पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८/८९ देखि काम गरिरहेको छ। कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत त्रिवेणी पाटनमा एउटा धर्मशाला, एक हेलिप्याड, शौचालय, प्रवेशद्वार, पोखरी, स्नान गृह, एक सय आठवटा धारा निर्माण गरिएका छन्।
यी संरचना निर्माणका लागि प्रदेश सरकारले पाँच करोड ५७ लाख ८६ हजार ७३३ रुपैयाँमा मजदुर कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको छ। हालसम्म निर्माण कम्पनीले तीन करोड ६७ लाख ९३ हजार पाँच सय रुपैयाँ भुक्तानी पनि लगिसकेको छ।
डिभिजन वन कार्यालय कालिकोटले सान्नीत्रिवेणी गाउँपालिका–८ मा पर्ने क्षेत्रमा आफूहरूले संरचना निर्माण गरेको दाबी गर्छ। तर सुदूरपश्चिममा पर्ने बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका भने धर्मशाला निर्माण गरिएको क्षेत्र आफूहरूको पाँच नम्बर वडामा पर्ने र हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नं-६ मा पर्ने दाबी गर्छ।
सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी त्रिवेणीका बारेमा बाजुराले अनावश्यक विवाद गरेको बताउँछन्। ‘हाम्रै भूगोल हो, प्रदेश सरकारले कर्णालीकै भूगोलमा संरचना निर्माण गरिरहेको छ,’ अर्को प्रदेशको भूगोल आफ्नो भनेर दाबी गर्न सुदूरपश्चिमलाई सुहाउँदैन,’ उनले भने।
संघीयतापछि सुदूरपश्चिमले त्रिवेणीमा दाबी गर्न थालेको उनले बताए। ‘विवादको निराकरणका लागि हामीले कार्यपालिकाको निर्णय गरेर प्रदेश सरकारलाई पत्र बुझाएका छौं,’ उनले भने, ‘त्रिवेणीको विवाद सरकारले चाँडोभन्दा चाँडो समाधान गरिदिनुपर्छ।’ उनले त्रिवेणी पाटनभन्दा माथिको ढुंगा राख्ने ठाउँसम्म आफ्नो पालिकाको भूगोल पर्ने बताए।
उनले २०४३ सालमा जुम्ला जिल्लाबाट छुट्टिएर कालिकोट जिल्ला कायम हुँदादेखि नक्सांकनमा बडीमालिका र त्रिवेणी पाटन छुट्टाएको बताए। उनले त्यो भाग साबिकको मुम्रा गाविसमा पर्ने भएकाले २०४० सालदेखि मन्दिर बासुधारा, धरमसाला, निर्माण गरी पञ्चायतदेखि लगानी हुँदै आएको उनको भनाइ छ।
उनले पुजारीको हिसाबले पनी कालिकोटको रास्कोट नगरपालिकाका धमलाले सरकारी पुजा गर्ने र बाजुराको पुइमाका पुजारीले पुजाइ गर्ने फैसलासमेत भएको छ।
बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा कर्णाली प्रदेश सरकारले सम्बन्धित पालिका, जिल्ला एवं प्रदेशको स्वीकृति बेगर वडा नम्बर-५ मा धर्मशाला र वडा नम्बर ६ मा हेलिप्याड निर्माण गरेको बताए।
थापाले सीमाका विषयमा सुदूरपश्चिम प्रदेश सरकारलाई पटकपटक परिपत्र गर्दा पनी सामाधान नभएको बताए। उनका अनुसार बाजुरा र कालिकोटको सिमाना धारमा रहेको त्रिवेणी पाटनको विषयमा छानबिन टोली बनाउनुपर्ने बताए। ‘चरिचरन प्रयोजनका लागि यता (बाजुरा) उता (कालिकोट) दुवैतर्फका गोठालाहरूले यो भूमिको निर्बाध प्रयोग गरिरहेका छन्। पहिला पनी हामीले कालिकोटले संरचना निर्माण गरिपछि हामीले प्रश्न गरेका थियौं।’
सीमा विवाद सामाधान गरी साझा भूमिका रूपमा अगाडि सारी समग्र क्षेत्रकै पर्यटन प्रवद्र्धन एवं पूर्वाधार निर्माण सकिने स्थानीयको भनाइ छ।
डिभिजन वन कार्यालय कालिकोटका इन्जिनियर प्रकाश सेजुवालले आर्थिक वर्ष २०७९/८० देखि त्रिवेणी पाटन क्षेत्रमा भौतिक संरचना निर्माण भइरहेको बताए। ‘पाँच करोड ५७ लाख ८६ हजार ७२३ रुपैयाँमा भौतिक संरचनाहरू निर्माण गर्न ठेक्का सम्झौता गरिएको हो,’ उनले भने, ‘जसअनुसार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-८ मा धर्मशाला र हेलिप्याड निर्माण भइरहेको छ।’
सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले त्रिवेणी पाटन एवं समग्र बडीमालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक भोेगचलनको अधिकार र नक्सांकनको आधारलाई र्हेदा कालिकोटको भएको बताइन्।
‘नक्सांकन र विभिन्न डकुमेन्टका हिसाबले त्रिवेणीपाटन र बडीमालिका क्षेत्र कालिीकोटको हो’, उनले भनिन्, ‘दुई जिल्ला र दुई प्रदेशबिचको विवाद तत्काल समाधान गरिनुपर्छ।’
प्रकाशित: ७ असार २०८३ २१:५३ आइतबार



-600x400.jpg)

